arrow

एसपी सरुवामा शक्तिकेन्द्रको भिडन्त, चितवनका एसपी मल्ल किन तानिएनन् ?

logo
प्रकाशित २०७६ मंसिर २२ आइतबार
dan-bahadur-malla-chitwan.gif

काठमाडौं। प्रहरी प्रधान कार्यालयले शुक्रबार शुक्रबार ८ एसपी र २७ डीएसपीको काजसरुवा गरेको छ । ४ जिल्लाका एसपी पनि फेरिएका छन् । तर रवि लामिछानेदेखि ज्ञानेन्द्र शाहीसम्मको घटनामा विवादमा परेका चितवनका एसपी दानबहादुर मल्ललाई तान्ने भने पनि तानिएको छैन। चितवनको एसपीका लागि शक्तिकेन्द्रबाट धेरै दबाब आउन थालेपछि तत्काल मल्लको सरुवा रोकिएको छ ।

एसपी नवराज अधिकारी खानेपानी तथा सरसफाइ मन्त्री विना मगरमार्फत् चितवनमा सरुवा हुन जोडतोडका साथ लागेका छन् । आइजीपी सर्वेन्द्र खनालसमक्ष भर्खरै मिसनबाट फर्किएकी एसपी गंगा पन्तलाई चितवनमा सरुवा गर्न दबाब छ। आइजीपी खनाल स्वयं भने रमेश थापालाई चितवन पठाउन खोजिरहेका छन् । चितवनको एसपीका लागि धेरै जनाको नाम आएका कारण मल्ल तत्काल सरुवा नभएका हुन् । 

एसपी मल्लकै कारण चितवनमा नेकपा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा भरतपुर महानगरकी मेयरलाई समेत अप्ठेरो परेकाले उनको विकल्प खोज्न आइजीपी खनाललाई संकेत आइसकेको थियो। एसपी मल्लले केसमा सोझै घुस नलिई मुद्दा फाँटका इन्स्पेक्टर वीरेन्द्र गुरुङ, लेखापाल नरिभन साउद र हवल्दार बिष्णु मल्लमार्फत्  लिने गरेको आरोप छ।

एसपी मल्लले आर्थिक लेनदेनका आधारमा चितवनका चौकी इन्चार्ज खटाउने गरेको आरोप लाग्दै आएको छ। मकवानपुर मनहरीका सुजन गोलेलाई अभद्र व्यवहारको मुद्दामा चितवन प्रहरीले पक्राउ गरी हिरासतमा राख्यो। कानुनले यस अपराधमा २५ दिनसम्म थुन्न पाउने अधिकार छ । तर, जिप्रकाको मुद्दा फाँटको सेटिङमा गोलेको मुद्दा १२ दिनमा नै जिल्ला प्रशासन कार्यालयमा पेश गरियो । गोले पाँच हजार धरौटीमा छुटे। तर छिटो मुद्दा बुझाइदिएबापत ३० हजार रूपैयाँ घुसको लेनदेन भएको सूचना प्रदेश प्रहरीमा पनि पुग्यो । यो कुरा थुनुवा पक्षबाट नै सार्वजनिक भएपछि ३ नम्बर प्रदेश हेटौँडास्थित डिआइजी कार्यालयदेखि प्रहरी मुख्यालय उजुरी छानविनसम्म पुग्यो । जिप्रकाका एसपी दानबहादुर मल्लले समेत थाहा पाएपछि छानविन गर्नुपर्छ पनि भने । तर, उक्त ३० हजार रूपैयाँ कसले खायो भन्ने कुराका लागि अहिले पनि कुनै एउटा समिति बनेको छैन ।

मुद्दा शाखाका डिएसपी शालिकराम अर्याल चीन तालिममा छन् । मुद्दा शाखाको अनुसन्धान अधिकृतका रूपमा प्रहरी निरीक्षक वीरेन्द्र गुरुङ छन् । उक्त ३० हजार रूपैयाँ मुद्दा शाखाको प्रमुखको सहमति र स्वीकृति बेगर कसैले खान सक्ने आँट पक्कै गर्न सक्दैन । यो घटना चितवन प्रहरीको मुद्दा शाखा कति बदनाम छ भन्ने कुराको एउटा प्रतिनिधिमात्र हो । गोलेसँग घुस खाएर १२ दिनमा मुद्दा बुझाएकोबारेमा ३ नम्बर प्रदेशका डीआइजी शेरबहादुर बस्नेतले एसपी अरुण पौडेलको नेतृत्वमा छानबिन समिति समेत बनाएर छानबिन गरी प्रतिवेदन बुझाइसकेका छन् । 

हेटौँडा घर भएका एक सामान्य व्यक्ति चितवन बसपार्क क्षेत्रमा भाडामा रिक्सा चलाउने गर्दछन् । रक्सी खाएर होहल्ला गरेको भन्दै प्रहरीले निजलाई पक्राउ गर्‍यो । उनीविरुद्ध अहिले म्याद थप भई मुद्दा चलाएको छ। एउटा सामान्य रिक्सा चालक जो आफ्नो पेट पाल्नका लागि पसिना बगाउँछ, त्यो व्यक्तिले रक्सी खाएर होहल्ला गर्‍यो भन्दैमा ल्याएर एकरात थुनी भोलिपल्ट छोडे हुनेमा म्याद थप गरी गरी मुद्दा चलाइयो किनकि त्यो रिक्सा चालकले मुद्दा शाखामा काम गर्नेहरूलाई घुस खुवाउन सक्दैन।

केही दिनअघि चितवनको बुद्धचोकस्थित क्यान्सर अस्पताल अगाडि रहेका होटलमा युवा–युवती गई अनैतिक सम्बन्ध राखेको सूचना जिप्रकाका घुमुवाहरूले थाहा पाएपछि छापा मार्न गए । उनीहरूले युवा–युवतीलाई पक्राउ गरे । पक्राउ गरेसँगै मुद्दा नचलाउने र बाहिर समाचार पनि सार्वजनिक नगर्ने सहमतिमा ३ लाखको बार्गेनिङ भयो । कसैको श्रीमती र कसैको श्रीमान भएकै कारण ती पक्राउ पर्नेहरूले बाध्यतामा पनि इज्जतको डरले ३ लाख रूपैयाँ दिने वचन पनि दिए । तर, त्यति सामान्य केशमा ३ लाख रूपैयाँ मागेपछि उनीहरू पनि शक्तिका देखाए। सत्तारुढ नेकपा एवम् पूर्वमाओवादीसँग नजिक रहेका यो जोडीले सिन्धुपाल्चोकका नेता अग्नि सापकोटालाई मात्र होइन नेकपाका अध्यक्ष एवम् चितवनका जनप्रतिनिधिसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डकहाँ समेत यो कुरा पुर्‍याए । अग्नि सापकोटा र पुष्पकमल दाहालकहाँबाट फोन आएपछि दाहालको कृपाले एसपी भएका मात्र होइनन् अवकाशको मुखमा चितवन जिप्रकाको प्रमुख बन्ने सौभाग्य पाएका दानबहादुर मल्लको केही लागेन । त्यो जोडी एकपैसा घुस नख्वाई र विना कारवाही छुटे । 

यी ३ वटा पछिल्ला समयका प्रतिनिधिमूलक घटनामात्र हुन् चितवनका । यी घटनाले के पुष्टि गर्छ भने चितवन प्रहरीभित्र खुलेआम घुसखोरी छ चाहे त्यो मुद्दामा होस्, चाहे त्यो घुमुवा परिचालन गरेर होस् रकम असुली गर्ने क्रम रोकिएको छैन । हुँदाहुँदा मातहतका थाना चौकीहरूमा हवल्दार, असई, सई खटाएर महिनावारी रकम लिने गरेका घटनाहरू पनि छापाहरूमा आइरहेका छन् । प्रहरीको हिरासतमा कोही पनि बस्न चाहँदैन । हिरासतमा रहँद उसले चाहेको बेला पिसाब गर्न पाउँदैन, दिशा गर्न पाउँदैन, खान पाउँदैन, जाडो हुँदा घाम ताप्न पाउँदैन, गर्मी हुँदा पंखाको हावा पाउँदैन । त्यहाँभित्र प्रहरीले थुनुवाहरूलाई पशुवत् व्यवहार गर्छन् । त्यही भएर पनि हिरासतमा रहेकाहरू कसरी आफु त्यहाँबाट छुट्कारा हुने सोच्नु र उम्कन खोज्नु स्वाभाविकै हो । यसका लागि उनीहरूले या त आफन्तमार्फत् मुद्दा शाखाका प्रहरीहरूसँग समन्वय गरेर घुस ख्वाई छिटो मुद्दा बुझाउन प्रयत्न गर्छन्, या त सोझै मुद्दा शाखाका प्रहरीहरूलाई घुस ख्वाई छुट्कारा पाउन खोज्छन् । राजनीतिकरूपमा शक्तिशाली भएकाहरू त्यसरी प्रहरी हिरासतमा जानुपर्ने अवस्था हामीकहाँ कमै हुन्छ ।

हुँदाहुँदा अहिले क्याप लागु भएपछि त मुद्दाका प्रहरीहरूलाई घुस खान झनै सजिलो भएको छ । क्याप भन्नेबित्तिकै यसमा खटिनेहरू सबै सिभिलमा हुन्छन् । सर्वसाधारणले प्रहरी हो भन्ने कुरा पनि चिन्दैनन् । अदालतमा खटिने, महिला सेलमा बस्नेदेखि मुद्दा र घुमुवाहरू सबै सिभिलमा हुने भएका कारण सर्वसाधारणले चिन्दैनन् । त्यसैले पनि मुद्दाका प्रहरीहरूलाई थुनामा रहेकाहरूसँग घुस खान धेरै सहज हुने गर्दछ । थुनुवाका आफन्तसँग घुस खाँदा वा लिँदा विभिन्न जिल्लामा मुद्दाका प्रहरीहरूदेखि घुमुवाहरू पक्राउ परेका घटना सार्वजनिक भएसँगै चितवन प्रहरीको मुद्दा शाखामा काम गर्ने प्रहरीहरू थुनुवाका आफन्तसँग घुस लिँदैनन् । बरु उनीहरूले थुनुवालाई नै ‘तेरो आउने आफन्तसँग रकम माग, तँसँग राख, म बयान लिने नाममा अथवा सही छाप गर्ने नाममा कुनै निहुँमा बोलाउँछु, त्यतिबेला लिउँला’ भन्दै बार्गेनिङ गरेका कुराहरू जिप्रकाभित्र सुन्न पाइन्छ । तर त्यतिबेला न त अख्तियार त्यहाँ पुग्न सक्छ, न त प्रदेश र मुख्यालयले नै निगरानी गर्न सक्छ ।

त्यसैले पनि अहिले क्याप भन्ने बित्तिकै सबै सिभिलमा भएका कारणले पनि घुस खान सजिलो छ । हुँदाहुँदा मैलेमात्रै खाने होइन, मैले मुद्दा शाखाको हाकिम र अरूलाई पनि मिलाउनुपर्छ मात्रै भन्दैनन् कि सरकारी वकिललाई समेत भाग दिनुपर्छ, मिलाउनुपर्छ भन्दै सरकारी वकिलका नाममा मुद्दा शाखाका प्रहरीहरूले घुस लिने गरेको कुरा चितवन प्रहरी परिसरभित्र अख्तियारले गोप्यरूपमा टोली परिचालन गरेर निगरानी गरेका खण्डमा समेत पत्ता लाग्ने कुरा प्रहरीहरू नै बताउँछन् ।

एकातर्फ चितवन प्रहरीमा दशौं वर्षदेखि अड्डा जमाएर बसेका प्रहरीहरू मुद्दादेखि घुमुवासम्म छन् । दरबन्दी जहाँ भए पनि जानु नपर्ने, सोर्सफोर्स लगाएर बस्ने प्रवृत्ति चितवन प्रहरीमा व्यापक छ भने घुमुवादेखि मुद्दामा काम गर्नेहरू झण्डै १२ वर्षअघिदेखि बस्न सफल भइरहेका छन् । लामो समयदेखि बसेका प्रहरीहरूको पाकेटमारादेखि गुण्डा, चोरदेखि तस्कर, हुण्डीको कारोवारदेखि ढुकुटीको कारोवार गर्नेहरूसँग नजिकको सम्बन्ध हुनु स्वाभाविक नै हो । तिनैबाट रकम असुल्ने काम अहिले चितवन प्रहरीमा व्यापकमात्रामा भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ