arrow

फेरि एसपी सरुवाको तयारी

logo
प्रकाशित २०७६ मंसिर २३ सोमबार
Nepal-police_HQ.jpeg

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ८ एसपीको सरुवा गरेलगत्तै अर्को चरणमा केही जिल्लाका प्रमुखहरु परिवर्तन हुने भएका छन् । झापाका एसपी दिनेश मैनालीको १ बर्ष अवधि पुगिसकेको छ । चितवनका एसपी दानबहादुर मल्ल पनि सरुवाको सूचीमा छन् ।

झापाको एसपीमा सरुवा हुनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रवीण पोखरेल लागिरहेका छन् । उनी अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेमार्फत् भनसुन गरेर भए पनि झापामा सरुवा हुने दाउमा छन् ।

लोकमानसिंह कार्की प्रमुख आयुक्त हुँदा उनले आफ्नो चाकरी चाप्लुसी गर्ने प्रहरी अधिकृतलाई आकर्षक ठाउँमा सरुवा गर्न दबाब दिने गरेका थिए । आकर्षक ठाउँ पाउनका लागि अख्तियारमा सरुवा हुने र कार्कीको चाकरी गर्ने होडबाजी नै चल्ने गरेको थियो । अहिले अख्तियारको हस्तक्षेप प्रहरीमा छैन । तर पनि एसपी पोखरेल अख्तियार देखाएर झापा सरुवा हुन खोजिरहेको चर्चा छ। 

त्यस्तै चितवनका एसपी मल्लका कारण नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनकी छोरी रेनु दाहाल विवादमा परेको पार्टीभित्र पनि चर्चा हुन थालेपछि उनको समेत विकल्प खोजी हुन थालेको छ । चितवनको एसपीका लागि तीन जना भन्दा बढीको नाम विभिन्न ठाउँबाट आएपछि आइजीपी सर्वेन्द्र खनालले तत्काल निर्णय गर्न सकेका छैनन् ।

चितवनको एसपीका लागि खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले नवराज अधिकारीलाई अगाडि सारेकी छन् । अधिकारी कन्चनपुरका भएकाले मन्त्री मगरमार्फत् आइजीपी खनालमाथि दबाब दिइरहेका छन् ।

भर्खरै मिसनबाट फर्किएकी गंगा पन्त पनि चितवनको एसपी हुन लबिङ गरिरहेकी छन् । आइजीपी खनाल भने रमेश थापालाई चितवन पठाउने योजनामा रहेका छन् ।

काभ्रेका एसपी जयराज सापकोटा जुवाखालमा करिब ३४ लाख बरामद गरे पनि ९ लाख मात्र देखाएर अरु गायब बनाएको आरोपमा २ नम्बर प्रदेशमा सरुवा भइसकेका छन् । चितवनका मल्ल र काभ्रेका सापकोटा गएको जेठमा सरुवा भएका हुन् । उनीहरु सरुवा भएको ७ महिना मात्र भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ