arrow

कोहलपुर घटनामा विद्यार्थीमाथि दमन भएको भन्दै नेविसंघद्धारा काठमाडौंमा विरोध

logo
प्रकाशित २०७६ मंसिर २३ सोमबार
nebisangh-birodh2.jpg

काठमाडौं । कोहलपुर घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । आइतबार बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघले काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको हो ।

नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरे । उनीहरुले गृहमन्त्रीको समेत राजीनामा मागेका छन् ।

पशुपति क्याम्पसबाट सुरु भएको विरोध र्याली चाबहिल चोक परिक्रमा गरी पुनः पशुपति क्याम्पसमा आएर समापन भएको थियो । 

नेविसंघका नेता मनोज वैद्यले भने, ‘कोहलपुरमा प्रहरीको दमनबाट घाइते भएकाहरुलाई सरकारले निःशुल्क उपचार गर्नुपर्छ र विद्यालय पोशाकमा भएका विद्यार्थीहरुमाथि गोली चलाउन आदेश दिने गृहमन्त्रीले राजीनामा दिनुपर्छ ।’

आइतबार बिहान एक ट्रकले ठक्कर दिएर कक्षा ७ मा अध्ययनरत कोहलपुर १० की प्रकृति चन्द गम्भीर घाइते भएपछि नेपालगञ्ज कोहलपुर सडकखण्डमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरका गोली, लाठी र अश्रुग्यास प्रहार गर्दा विद्यार्थीहरुसहित दुई दर्जनभन्दा बढी घाइते भएका छन् । प्रदर्शनकारीको आक्रमणबाट इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमराज शाहीसहित ९ प्रहरी पनि घाइते भएका छन् ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी चन्दलाई उपचार गर्न सेनाको हेलिकोप्टरबाट ललितपुरको बीएण्डबी अस्पतालमा ल्याइएको छ ।

कोहलपुरमा अहिले पनि कफ्र्यू जारी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ