'पहुँचको भरमा मात्र जागिर पाईने भ्रमबाट मुक्त हुन आवश्यक'
मुरली गोडिया,
प्रकाशित २०७६ मंसिर २७ शुक्रबार
816
Shares
गुलरिया,बर्दिया । नेपाली समाजमा रहेको केही नकारात्मक धारणका कारण नागरिकले चाहेको पेशामा नभई अन्य पेशमा संलग्न भएका थुप्रै उदाहरण हाम्रा समाजमा विद्यमान छन । विभिन्न सरकारी निकायमा जागरि खान होस या आवद्ध हुन योग्यताका साथै थरिथरिका पहुँच हुनु पर्ने धारण नभएको होइन । समाजमा पहुँच नभएका र रकम खर्च गर्न नसक्ने केही युवाहरुमा यो सोंचले पनि वेरोजगार भई विदेशिएका उदाहरण समेत पाइन्छन् । नेपाली सेनामा भर्ना हुनका लागि योग्य व्यक्ति भन्दा पनि माथिल्लो दर्जाका कर्मचारीको पहुचको भरमा मात्र जागिर खान पाईने भ्रमलाई चिर्दै योग्य नेपाली नागरिकले सहजै भर्ना हुन सक्ने भनि प्रावधान रहेको नेपाली सेनाले प्रष्ट पारेको छ ।
नेपाली सेना प्रति नागरिकहरुको धारण र सेना तथा नागरिक बीचको दुरी कम गर्ने उद्धेश्यले एक कार्यक्रमको आयोजना गरेको हो । नेपाली सेनाले आयोजना गरेको कार्यक्रममा सेनाले गर्ने गरेका गतिविधिका बारेमा नागरिकलाई जानकारी दिने उद्देश्यले नागरिक सँग गरिएको अन्तरक्रिया कार्यक्रम पहुचको भरमा मात्र जागिर खान पाईने भ्रमलाई हटाउन आग्रह गरिएको हो । नेपाली सेनामा भर्नाहुनका लागि योग्य व्यक्ति भन्दा पनि माथिल्लो दर्जाका कर्मचारीको पहुच एवं रकमको भरमा मात्र जागिर खान पाईने भ्रमलाई हटाउनु पर्ने उत्तर पश्चिम पृतनापती सरोज विक्रम राणाले बताए ।
नेपाली सेनामा हरेक समाज, वर्गका योग्य नेपाली नागरिकले सहजै भर्ना हुन सक्ने प्रावधान रहेको राणाले प्रष्ट पारेका छन । जिल्ला प्रशासन कार्यालय बर्दियामा स्थानीय नागरिक, भुपु सैनिक, नागरिक समाज, गैर सरकारी संस्था र संचारकर्मीहरु विच गरिएको कार्यक्रमले नेपाली सेनामा देखिएका कमि कमजोरी, सुधार गर्नुपर्ने पक्ष तथा आलोचनात्मक विचारहरुको समष्टिगत धारण बुझि अगामी दिनमा नेपाली सेनालाई थप नागरिक प्रति जिम्मेवार एवं उत्कृष्ठ बनाउनमा सहयोग पुग्ने विश्वास नेपाली सेनाले गरेको छ ।
नेपाली सेनाले निर्माण गरेको वृतचित्र समेत प्रदर्शन गरिएको थियो । बृत्तचित्रले योग्य व्यक्तिले सेनामा भर्ना हुनका लागि कुनैपनि किसिमको भुटो अफवाहमा नपर्न संदेश प्रवाह गरिरहेको थियो । कार्यक्रममा बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले नेपाली सेनाले बर्दियामा सेनाको गुल्म तथा बटालियन थपका लागि पहल गर्न आग्रह गरेका छन । बर्दिया राष्ट्रिय निकुञ्ज बर्दियाको गहनाको रुपमा रहेको भएता पनि बेला बेलामा हुने वन्यजन्तु र मावन विचको द्धन्दमा कमि ल्याउन पहल गर्नुपर्ने औंल्याउँदै प्रजिअ लामिछानेले निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई वन्य जन्तुबाट बच्नका लागि विशेष तालिमहरु दिनुपर्ने अनुरोध गरेका छन ।
कार्यक्रममा पृतनापती राणाले अन्तरक्रियामा उठेका सहभागीहरुको जिज्ञासा मेटाउदै नागरिकबाट प्राप्त सल्लाह र सुझावलाई मार्ग दर्शनको रुपमा अगाडी बढाई सेनाको काम कारवाही अझ प्रभावकारी ढंगबाट अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाली सेनाको आलोचनात्क समिक्षाले नेपाली सेनामा रहेका कमि कमजोरी सच्याउँदै नागरिक र सेनाहरुको विचमा रहेको दुरी कम गर्न प्रेरणा मिल्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दिया शाखाका अध्यक्ष राजेन्द्र प्रसाद धितालले नेपाली सेनामा हुने गरेका भर्न पक्रियालाई बर्दियाबाटै हुन पाउने गरि व्यवस्था मिलाउन सुझाव दिएका छन । सेनाले गर्दै गरेको हरेक क्रियाकलापलाई यहाँका स्थानिय संचार माध्यमहरुमा समानुपातिक रुपमा वितरण गरि नागरिकहरु माझ पुर्याउनु पर्ने बताए ।
गैरसरकारी संस्था महासंघका अध्यक्ष विष्णु प्रसाद तिमिल्सेनाले पहुचको भरमा मात्र जागिर खान पाईने भ्रमलाई हटाउन नेपाली सेनाले विषेश ख्याल गर्न आग्रह गरेका छन । हरेक नागरिकमा नेपाली सेनामा अपनत्व महसुस भन्दै उनले यस्ता गलत प्रचारलाई चिर्न अवश्यक रहेको बताए । नागरिक समाजकी सहसंयोजक हेमा सुनारले नेपाली सेनाले गरेको कार्यहरुको प्रशंसा गर्दै अन्य नागरिक मैत्री कार्यमा सहकार्य गर्दै जानुपर्ने बताइन् । विपद्का समय या अन्य कार्यहरुमा पनि नेपाली सेना, नगारिक समाज, अन्य संघसंस्थाहरु सामुहिक रुपमा लागी कार्यगर्न सुझाव दिइन् ।