arrow

दुई दिनमा अपराध महाशाखाका दुई प्रहरी अधिकृत घुस लिदालिदै पक्राउ

एसएसपी सहकुल थापाको काम पर्‍यो ओझेलमा, उठ्न थाल्यो प्रश्न

logo
प्रकाशित २०७६ मंसिर २८ शनिबार
crime-aparadh-mahasakha-tek.gif

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार घुस लिँदालिँदै अपराध महाशाखामा कार्यरत इन्स्पेक्टर जयनेपाल थापालाई २०७६ मंसिर २५ मा ललितपुरबाट पक्राउ गरेको २ दिनपछि नै महाशाखाकै असई उमेश केसीलाई ६० लाख रुपैयाँ घुस मागेको आरोपमा पक्राउ गरेको छ । २ दिनको बीचमा एक अधिकृत र अर्का जुनियर अधिकृत घुसकाण्डमा परेपछि अपराध महाशाखाका प्रमुख सहकुलबहादुर थापामाथि प्रश्न उठ्न थालेको छ । अपराध महाशाखाको इतिहासमा यसरी सिलसिलेवार रुपमा घुस लिदालिदै पक्राउ परेको थापाकै कार्यकालमा बढी देखिएपछि स्वाभाविक रुपमा प्रश्न उठ्न थालेको हो । 

एकातिर अरबौं रुपैयाँ ह्याकिङ गरी निकाल्न लागेको गिरोहलाई समातेर चर्चामा आइरहेका बेला एसएसपी थापा मातहतका प्रहरी अधिकृत एकपछि अर्को गरी घुस लेनदेन प्रकरणमा पक्राउ पर्न थालेका छन् । नक्खु कारागारमा बलात्कार सम्बन्धी मुद्दामा सजाय भोगिरहेका एक अभियुक्तकी श्रीमतीसँग मुद्दा मिलाइदिने भन्दै घुस मागेको अडियो वार्तालापका आधारमा महाशाखाका असई केसीलाई अख्तियारले शुक्रबार पक्राउ गरी हिरासतमा राखेको स्रोतले वताएको छ। उनले शुरुमा ती महिलासँग ६० लाख बार्गेनिङ गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो। पछि पटक पटक ९ लाखसम्म बार्गेनिङ गरी ती महिलालाई हैरान पारेपछि अख्तियारले बार्गेनिङको अडियोदेखी मेसेजसम्म अनुसन्धान गरी केसीलाई पक्राउ गरेको अख्तियार स्रोतको भनाइ छ। असई उमेश केसी महाशाखाबाट केन्द्रीय कारागार सुन्धाराको सुरक्षामा खटिएका प्रहरी अधिकारी हुन्। यसरी मातहतका प्रहरी अधिकृतहरु घुसकाण्डमा पक्राउ पर्दा इन्चार्जमाथि नैतिक प्रश्न उठ्ने गर्दछ ।

महाशाखा अन्तर्गतका अधिकृत धमाधम घुसकाण्डमा पक्राउ पर्न थालेपछि एसएसपी थापाले वित्तीय अपराधीलाई पक्राउ गरेका राम्रा काम पनि ओझेलमा परेका छन्। कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरी ७० लाख रुपैयाँ निकालिसकेका र ५ अर्ब निकाल्ने तयारीमा रहेका काले भन्ने पिटरद्वारा परिचालित लवाङ तामाङ सहित १२ जनालाई पक्राउ गरेका थिए एसएसपी थापाले। अन्तर्राष्ट्रिय आपराधिक गिरोहले अनलाइन ठगी र ह्याकिङबाट संकलित रकम नेपालका १७ वटा बैंकमार्फत् विदेश पुर्‍याउने र पार्सल आएको भन्दै प्रलोभन देखाएर ठगेको र वित्तीय संस्थाको सर्भर ह्याक गरेर जम्मा पारेको रकम गिरोहले स्थानीय एजेन्टमार्फत विभिन्न व्यक्तिका नाममा राखी बैंकबाटै उम्काइरहेको भेटिएपछि अपराध महाशाखाले त्यो गिरोहका ३ जनालाई पक्राउ गरी २०७६ मंसिर २५ मै सार्वजनिक गरेको थियो । 

अन्तर्राष्ट्रिय गिरोहमा संलग्न नाइजेरियाली नागरिक पिटर हर्मन र बेलायती नागरिक स्मिथ मोरिसले नेपाली सहयोगीसँग मिलेर १० वर्षदेखि यस्तो ठगी गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले मंगलबार पिटर र स्मिथका सहयोगी तीन नेपालीलाई पक्राउ गरेपछि ठगीको रहस्य बाहिर आएको हो । महानगरीय अपराध महाशाखाको टोलीले ठमेलमा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका दोलखाका ५२ वर्षीय रमेश खड्का, नवलपरासी रामग्रामका ३७ वर्षीय विश्वेश्वरप्रसाद तिवारी र नवलपरासीकै मनी एक्सचेन्ज सञ्चालक १९ वर्षीय सन्दीप कलवारलाई पक्राउ गरेको थियो । प्रहरीले खड्कालाई काठमाडौंबाटै पक्रेको हो भने तिवारी र कलवार नवलपरासीबाट समातिएका हुन् । प्रहरी स्रोतका अनुसार १० सहयोगीसहित भारतमा बसेर अपराध सञ्जाल चलाइरहेका पिटरलाई पनि केही समयअघि भारतीय प्रहरीले पक्राउ गरिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ