arrow

बम विष्फोट गराउनेलाई कानूनी दायरामा ल्याउन कांग्रेसको माग

logo
प्रकाशित २०७६ मंसिर २९ आइतबार
congress-party-office-1.jpg.jpeg

काठमाडौं ।  गत मंसिर २७ गते राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगरमा बम विष्फोटमा परी प्रहरी निरिक्षक अमिर दाहाल र अन्य दुई जना नागरिकको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।

आइतबार बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा घटनाको भत्र्सना गर्दै नेपाली कांग्रेसले बम विष्फोट गराउने दोषी जो भए पनि कानूनी दायरामा ल्याउने कर्तव्य निर्वाह गर्न नसक्नु र शान्ति सुरक्षा कायम गर्न निरन्तर सरकार असफल हुँदै गएको तथ्यप्रति चिन्ता प्रकट गर्दे सरकारलाई यस्ता घटनाप्रति गम्भीर हुन अपिल गरेको छ ।

 घटनाको उच्चस्तरीय छानविनका लागि माग गर्दे नेपाली कांग्रेस बम विष्फोटमा परेर घाइते भएकाहरुको सम्पूर्ण उपचार गर्न तथा मृतकका परिवारलाई राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आइतबार बस्यो । आइतबारको बैठकमा उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार एवं केन्द्रीय सदस्यद्वय बालकृष्ण खाँण र रमेश लेखकले आफ्नो धारणा राख्नु भएको थियो । बैठकको निर्णयहरु देहाय बमोजिम रहेको छ—

धनुषामा भएको बम विष्फोट बारे :
गत मंसिर २७ गते राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगरमा बम विष्फोटमा परी प्रहरी निरिक्षक अमिर दाहाल र अन्य दुई जना नागरिकको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दु:ख व्यक्त गर्दछ । घटनाको भत्र्सना गर्दै नेपाली कांग्रेस बम विष्फोट गराउने दोषी जो भए पनि कानूनी दायरामा ल्याउने कर्तव्य निर्वाह गर्न नसक्नु र शान्ति सुरक्षा कायम गर्न निरन्तर सरकार असफल हुँदै गएको तथ्यप्रति चिन्ता प्रकट गर्दे सरकारलाई यस्ता घटनाप्रति गम्भीर हुन अपिल गर्दछ । घटनाको उच्चस्तरीय छानविनका लागि माग गर्दे नेपाली कांग्रेस बम विष्फोटमा परेर घाइते भएकाहरुको सम्पूर्ण उपचार गर्न तथा मृतकका परिवारलाई राहतको व्यवस्था गर्न सरकारसँग माग गर्दछ ।

सडक दुर्घटना नियन्त्रण गर्न सरकारको असफलता बारे :
दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस आइतबार विहान सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १४ जनाको मृत्यु र १८ जना गम्भीर घाइते भएको घटनाप्रति कार्यसमितिको यो बैठक गहिरो दु:ख व्यक्त गर्दछ । यस घडीमा मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सबै शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस समवेदना प्रकट गर्दछ । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरुको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गर्दछ ।

मंसिर १७ गते बाग्लुङमा भएको सडक दुर्घटनामा १४ जनाको मृत्यु, मंसिर १६ गते सुनसरीमा ६, मंसिर ११ गते अर्घाखाँचीमा १९, कात्र्तिक १७ गते सिन्धुपाल्चोकमा १७ तथा असोज २४ गते सिन्धुपाल्चोकमा ११ जनाको मृत्यु समेत गरेर बितेको दुई महिना यता अन्य कयौं सडक दुर्घटनामा देशव्यापी रुपमा मृत्युको तथ्याङ्क बढ्नु अत्यन्त चिन्ताजनक छ । यो तथ्याङ्कले सडक यात्रामा नागरिक जीवनको रक्षा गर्नु पर्ने सरकार कहाँ छ ? भन्ने प्रश्न गम्भीर रुपमा उब्जिएको छ । बाँकेको कोहलपुरमा विद्यालय प्रवेशद्वार अघिल्तीरै सानी बालिकालाई ट्रकले कुल्चनु र घटनामा प्रहरीले संयमता नराख्दा थप द्वन्द सिर्जना हुनु दु:खद छ । नेपाली कांग्रेस घाइते ती बालिकाको सम्पूर्ण उपचार गर्न सरकार समक्ष माग गर्दछ ।

नेपाली कांग्रेस सडक दुर्घटना नियन्त्रण गर्न सरकार असफल भएको ठहर गर्दै दुर्घटनाको मुकदर्शक नभएर दुर्घटना नियन्त्रणका लागि गम्भीर पहलकदमी गर्न सरकारलाई अपिल गर्दछ ।


हात्ती आक्रमणबाट भएको जनधनको क्षति सम्बन्धमा
कञ्चनपुर जिल्लाको महाकाली नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट सोही स्थान बस्ने वसन्ती भट्ट र भूरी बोहराको मृत्यु भएको छ । आक्रमणमा चार जना महिला घाइते भएका छन् ।

यो बैठक उहाँहरुको आत्माको चीर शान्तिको कामना साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । मृतकका परिवारलाई राहत उपलब्ध गराउन र घाइतेहरुको नि:शुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्दछ ।

आगामी बैठक मंसिर ३० गते
केन्द्रीय कार्यसमितिको अर्को बैठक भोलि २०७६ मंसिर ३० गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुन: बस्नेछ ।

समवेदना
धनुषा उपमहानगरपालिका वडा नं. २५ निवासी शेरे नेपाल नामले सुपरिचित २० भन्दा बढी पुस्तकका लेखक एवं अनुसन्धानकर्ता मौलाना मुफती मोहम्मद जैश साहब सिद्दिकी बरकाती अलैहिर्रहमाको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दु:ख व्यक्त गर्दछ । इस्लाम धर्म, धार्मिक सद्भाव र जम्हुरियतको लागि उहाँको योगदान सदैव स्मरणीय रहनेछ ।

त्यसैगरी, भोजपुर जिल्लाका पूर्व महासमिति सदस्य चित्रबहादुर कार्की, धनुषाधाम नगरपालिका वडा नं. ८ निवासी नेपाली कांग्रेस जिल्ला कार्यसमितिका पूर्व सदस्य लक्ष्मीनारायण मण्डलका जेठा छोरा ४५ वर्षीय रामईश्वर मण्डल, धनुषा लक्ष्मीमियाँ गाउँपालिका वडा नं. ५ का पूर्व क्षेत्रीय सदस्य उपेन्द्र यादव, काठमाडौँ हात्तिगौडाका स्थानीय नेता ७५ वर्षीय चक्रबहादुर के.सी., नेपाल पत्रकार महासंघका पूर्व महासचिव एवं वीरगञ्जबाट प्रकाशित अचेल पत्रिकाका प्रकाशक एवं सम्पादक ८६ वर्षीय श्रीकृष्ण अमात्य, उदयपुर त्रियुगा नगरपालिका वडा नं. ११ का निवर्तमान क्षेत्रीय सभापति वसन्त बस्नेतका पिता एवं क्रियाशील सदस्य ममकर्ण बस्नेत, गोरखा आरुघाट गाउँपालिका आर्खेतका सक्रिय कार्यकर्ता एवं नेपाल दलित संघ गोरखाका जिल्ला सदस्य दोलखबहादुर वि.क., स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नं. ४ निवुवाखर्क निवासी तरुण नेता प्रकाश थापा मगरका छोरा रमेशप्रताप थापा, दाङ जिल्ला— गढवा गाउँपालिका वडा नं. ६ निवासी पूर्व इकाई सचिव टोपेन्द्रराज रजौरे, तत्कालीन गंगापरस्पुर गाविसका पूर्व अध्यक्ष घनश्याम चौधरी, गढवा गाउँपालिकाका पूर्व जिल्ला सदस्य विष्णु पाण्डे, सोनपुर गाउँपालिका वडा नं. ४ का क्रियाशील सदस्य शिवनारायण चौधरीको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दु:ख व्यक्त गर्दछ । उहाँहरुको आत्माको चीर शान्तिको कामना गर्दै नेपाली कांग्रेस सम्पूर्ण शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ