arrow

पौडेलसँग सहमति नजुटेपछि कांग्रेस बैठक स्थगित

logo
रासस,
प्रकाशित २०७६ पुष २ बुधबार
deuba-poudel-sitaula.jpg

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबारको लागि निर्धारित बैठक बस्दै नबसी स्थगित भएको छ । पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय विभाग गठन, भ्रातृ संस्थासम्बन्धी विषयमा आन्तरिक सहमतिको प्रयास जारी रहेकाले आजको बैठक स्थगन गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

उक्त विषयमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमतिका लागि प्रयास जारी छ । पछिल्लो समय पार्टीको १४औँ महाधिवेशनको मिति तोक्ने बहसले केन्द्रीय समिति बैठक प्रभावित हुँदै आएको छ ।

महाधिवेशनको कार्यतालिका केन्द्रीय समिति बैठकमा पेश गर्नुपर्ने आफ्नो माग पूरा नभएको भन्दै वरिष्ठ नेता पौडेल पक्षका नेताहरु गत मङ्सिर २६ र २९ गतेको केन्द्रीय समिति बैठकमा उपस्थित भएनन् ।

 नेता पौडेल पक्ष निर्धारित समयमै पार्टीको १४औँ महाधिवेशन गर्नका लागि दबाब दिन महाधिवेशनको कार्यतालिका तत्काल सार्वजनिक गर्नुपर्ने अडानमा छ ।

सभापति देउवाले सहमतिको खोजीका लागि भन्दै उपसभापति विमलेन्द्र निधिलाई जिम्मा दिएका थिए भने पौडेलले भने पूर्व महामन्त्री प्रकाशमानसिंह सहितका नेताहरुलाई जिम्मा दिएका छन्। जिम्मेवारी पाएका  नेताहरुले यस बीचमा पट पटक वैठक गरि सहमति जुटाउने प्रयास गरेका छन्। 
 
यसअघि मङ्सिर २६ गतेको केन्द्रीय समिति बैठकमा विधानमा उल्लिखित २८ विभागलाई बढाएर ४१ पुर्‍याउने, उपनिर्वाचनको समीक्षा, भ्रातृ एवं शुभेच्छुक संस्थाका विधानको सैद्धान्तिक एकरुपता समितिको प्रतिवेदन, नेपाल तरुण दलद्वारा आफ्नो केन्द्रीय समितिको समयावधि छ महिना थप गरेको निर्णयलाई अनुमोदनलगायत प्रस्ताव प्रस्तुत गरिएको थियो ।

पार्टीको केन्द्रीय समितिको आगामी बैठक यही पुस ४ गते दिउँसो १:०० बजे बस्ने तय भएको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ