काठमाडौं । प्रदेश २ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय जनता पार्टी (राजपा) सँग सहमति गरेको छ । बुधबार नेकपा र राजपा बीच प्रधानमन्त्री निवास बालुवाटारमा २-२ सिटका लागि सहमति भएको हो ।
आगामी माघ ९ गते हुने प्रदेश नं. २ को राष्ट्रियसभा निर्वाचनका लागि रिक्तहुने चार स्थान मध्ये अन्य पुरुष समूह र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको रिक्त दुई स्थानमा राष्ट्रिय जनता पार्टीका उम्मेदवारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सहयोग गर्ने छ भने महिला र दलित पुरुष समूहको दुई स्थानमा राष्ट्रिय जनता पार्टी नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको छ ।
बैठकमा नेकपाका ५ र राष्ट्रिय जनता पार्टी ५ नेता सहभागी थिए । नेकपाबाट अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सचिवालय सदस्य एवं माननीय उपप्रधानमन्त्री ईश्वर पोखेल, महासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ उपस्थित थिए ।
त्यस्तै राष्ट्रिय जनता पार्टी, नेपालबाट अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, संयोजक राजेन्द्र महतो, सदस्य महेन्द्र यादव, सदस्य शरदसिंह भण्डारी र अर्का सदस्य राजकिशोर यादव सहभागी थिए । सहमति पत्रमा केपी शर्मा ओली, पुस्पकमल दाहाल प्रचण्ड र राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।
योसँगै राजपा सरकारसँग अझ निकट देखिएको छ । प्रदेश २ को बिषयमा नेकपाले समाजवादी पार्टीलाई पाखा लगाएको देखिन्छ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सरकारमानै छन् । उपेन्द्र यादव उपप्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री रहेका छन् ।