काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको बैठक बिहीबार दिउँसो बस्दैछ । संसदको हिँउदे अधिवेशन शुरु हुनु एक दिन अगाडि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठक काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १ः३० बजेका लागि डकिएको छ ।
संसदमा के के विषयलाई कसरी उठाउने, उठाउनु पर्ने विषयबस्तुहरु के के छन् भन्ने लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको सांसद डा डिला संग्रौलाले जानकारी दिइन् ।
सरकारले कतिपय विधेयकहरु संविधानको मर्म र भावना तथा लोकतान्त्रीक मान्यता विपरित ल्याएकाले ती विषयमा प्रतिवाद गर्ने बारेमा पनि बैठकमा छलफल हुने संग्रौलाले बताइन् ।
संसदमा काँग्रेसका सांसदहरुको प्रस्तुती प्रभावकारी हुन नसकेको भन्दै आलोचना भइरहेकाले कसरी प्रभावकारी बनाउने भन्ने बारेमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।
कांग्रेसले आफ्ना सांसदहरूलाई संसदमा नियमित उपस्थित भएर आम नागरिकको चासोका विषयलाई सशक्त रुपमा उठाउन, विधेयकहरु र समसामयीक विषयमा पर्याप्त अध्ययन अनुसन्धान र विश्लेषण गर्न निर्देशन दिने तयारी गरेको छ ।
संसद बैठक शुक्रबार बस्दैछ । संसदको पहिलो काम रिक्त रहेको सभामुखको पद पूर्ति गर्ने रहेको छ । संविधान अनुसार सभामुख पद एक पार्टीको भए उपसभामुख अर्को पार्टीको हुनैपर्छ ।
तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयास काण्डमा मुछिएपछि सभामुखको पद खाली छ ।