एमएमसीसँग भएको सम्झौतालाई कार्यान्वयन गर्न कांग्रेस संसदीय दलको माग
प्रकाशित २०७६ पुष ३ बिहिबार
509
Shares
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेशन ( एमएमसी) सँग भएको अनुदान सहायता सम्झौता लाई यथाशीघ्र सदनबाट पारित गर्दै कार्यान्वयनमा लैजान ध्यानाकर्षण गराएको छ ।
विहिबारका नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा नेपाली कांग्रेस संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
अमेरिकी सरकारअन्तर्गतको उक्त एमएमसीमार्फत् ५ सय मिलियन (५० करोड) अमेरिकी डलर बराबरका विभिन्न आयोजना कार्यान्वयन गर्ने सम्झौता भएको थियो । नेपालको तर्फबाट अर्थमन्त्री युवराज खतिवडा र अमेरिकाको तर्फबाट एमएमसीका उपाध्यक्ष एन्थोनी वेलसरले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
बैठकका निर्णयहरु-
-कालापानी लिपुलेक र लिम्पीयाधुरा नेपालको अविभाज्य भूमी हो । भारतले केही समय अगाडि उक्त सम्पूर्ण भूभागलाई आफ्नो भूमिमा गाभेर प्रकाशित गरेको नक्सा प्रति आफ्नो आपत्ति जनाउँदै यसबारे नेपाली कांग्रेसले पटक–पटक आफ्नो धारणा स्पष्ट गरिसकेको छ । यस सन्दर्भमा प्रधानमन्त्री श्री के.पी. ओलीले २०७६ कार्तिक २३ गते बालुवाटरमा बोलाउनु भएको बैठकमा हाम्रो पार्टी सभापति श्री शेरबहादुर देउवाज्यूबाट राष्ट्रियता र राष्ट्रिय अखण्डता जस्तो संवेदनशील विषयमा प्रतिपक्ष नभई राष्ट्र एक साथ उभिनु पर्ने भन्नु हुँदै यस सन्दर्भमा प्रधानमन्त्री श्री के.पी. ओलीले लिने कुटनैतिक पहल र अग्रसरतामा नेपाली कांग्रेसको पूर्ण सहयोग र समर्थन रहने भनि आफ्नो पार्टीको स्पष्ट दृष्टिकोण राखी सक्नु भएकोमा प्रधानमन्त्रीबाट हालसम्म यस सन्दर्भमा कुनै पहल नभएको देखिएकोले यसबारे संसदमा प्रधानमन्त्रीबाट स्पष्ट जवाफको लागि संसदीय दलको यो बैठक माग गर्दछ ।
-संविधानको भावना र मर्म विपरित सरकारद्वारा सदनमा प्रस्तुत गरिएका विधेयकहरु प्रति नेपाली कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दछ । ‘‘नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’’ लगायतका विधेयकहरुलाई फिर्ता लिई संविधान अनुकूल विधेयकहरु प्रस्तुत गर्न नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ । साथै संवैधानिक परिषदको कार्यसञ्चालन गर्ने ऐनलाई संशोधन गर्न अध्यादेश मार्फत प्रयास भएको र यस सन्दर्भमा संविधान विपरित संसदीय पद्धतिको विरुद्ध हुने गरी ल्याइने कुनै पनि विधेयकको नेपाली कांग्रेस संसदीय दल घोर आपत्ति गर्दछ ।
-नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमएमसी) बिच भएको अनुदान सहायता सम्झौता (ःऋऋ) लाई यथाशीघ्र सदनबाट पारित गर्दै कार्यान्वयनमा लैजान यो बैठक सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।
-विश्वविद्यालयमा गरिएका कतिपय नियुक्तिहरुले विद्यालयको प्राज्ञीक स्वतन्त्रता माथि हस्तक्षेप गर्दै विश्वविद्यालयलाई पार्टीकरण गरेको क्रियाकलाप प्रति घोर आपत्ति गर्दछ । विश्वविद्यालयको प्राज्ञीक स्वायत्तता माथि हस्तक्षेप नगर्न सरकारसँग जोडदार माग गर्दछ ।
-राजनैतिक पूर्वाग्रह राखी राजनैतिक दलका नेता, कार्यकर्ता, व्यापारी एवं सर्वसाधरण माथि झुठ्ठा मुद्दा लगाउने कार्य तत्काल बन्द गरियोस् । रौतहट जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद मोहमद अफ्ताब आलम माथि राजनैतिक पूर्वाग्रह राखी झुठ्ठा प्रमाणहरु संकलन गर्दै षड्यन्त्रपूर्वक फसाउँने कार्यको नेपाली कांग्रेस संसदीय दल घोर आपत्ति व्यक्त गर्दछ । स्वतन्त्र र निष्पक्ष छानविन माथि सरकारले पूर्वाग्रही ढंगबाट हस्तक्षेप नगर्न समेत सचेत गर्दछ ।