arrow

दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७६ पुष ३ बिहिबार
darchula-karagar.jpg

दार्चुला ।  हिमाली जिल्ला दार्चुलाको कारागारमा क्षमताभन्दा बढी कैदी–बन्दी हुदाँ कारागारको व्यवस्थापनमा समस्या आएको छ । जिल्ला कारागार दार्चुलाको क्षमता ४० जनाको भएपनि हाल उक्त कारागारमा ६५ जना कैदीबन्दी रहेका छन् । कारागारमा क्षमता भन्दा बढी कैदीवन्दी हुदा समस्या आएको कारागारका जेलर मान बहादुर खडायतले बताए ।

भवन अभाव हुदा क्षमता भन्दा लगभग दोब्बर कैदी बस्नु पर्ने बाध्यता रहेको छ । कारागारमा ४० जना क्षमताको भवन भएकोमा अहिले ६५ जना कैदीहरु बस्दै आएका छन् ।

भवन नहुदा कैदीबन्दीहरुले एकै कोठामा क्षमता भन्दा धेरै बस्नु पर्ने बाध्यता रहेको खडायतले बताए । अहिले दार्चुलामा चिसो अत्याधिक बढेको छ, चिसो बढेसंगै बसोवास तथा उपचारमा समस्या भएको उहाले बताए ।

सबैभन्दा ठूलो समस्या शौचालयको रहेको कैदीहरुले बताएका छन् । विहान शौचालय जादा पालो कुर्नुपर्ने उनी बताउँदछन् । यस्तै खाना खादापनि लाइनमा बस्नुपर्ने र सुत्नलाई समेत पालो गर्नुपर्ने अवस्था रहेको कैदीहरुले गुनासो गरे ।

जिल्ला कारागार दार्चुलामा मानव बेचविखन, कर्तब्यज्यान मुद्धा, जबरजस्ती करणी, बन्यजन्तु ओसारपसार चोरी ,लुटपाट, बहुविवाह, लागुऔषध ओसारपसारलगायतमा संलग्न कैदीवन्दीहरु रहेका छन् । अहिले कारागारमा २१ जना थुनुवा र ४४ जना कैदि रहेका छन् भने १ जना बालक आश्रित रहेको जेलर खडायतले जनाए । जसमध्ये पूरुष ४१ जना र ३ जना महिला कैदी रहेका छन् ।

कैदीबन्दीहरुलाई खाने बस्ने, लत्ता कपडा तथा खेलकुद सामग्रीको अभाव रहेको उहाले बताए । कैदीको संख्या क्षमता भन्दा बढी हुदा कोचिएर बस्नुपर्ने बाध्यताका कारण कैदीबन्दीमा विभिन्न किसिमका सरुवा रोगहरुको संक्रमण निम्तन सक्ने देखिन्छ । तर स्वास्थ्य चेकजाँच गर्न समेत स्वास्थ्यकर्मीको अभाव छ ।

'जिल्ला कारागारमा अहेवको दरवन्दी भएपनि विगत दुइ-तीन वर्षदेखी रिक्त छ, विरामीको स्वास्थ्य चेकजाँच गर्न समेत मान्छे नै छैन्।' खडायतले भने,'   
वि.सं. २०४२ सालमा स्थापना गरिएको जिल्ला कारागार दार्चुला अहिले जीर्ण बन्दै गइरहेको छ । जीर्ण भवनमा अटाई नअटाई कैदीबन्दी बसिरहेका छन् ।' कारागारमा निर्मित २ घर रहेका छन् २०४२ सालदेखि कुनै पनि नयाँ भौतिक संरचना नबनेको जेलर खडायतले बताए ।

उनका अनुसार २५—१५ जना क्षमता रहेको उक्त कारागारमा धेरै अटाउनुपर्ने बाध्यता छ । उनले भने, ‘ चिसो अत्याधिक छ, कैदीका लागि ओढ्ने बिछ्याउने कपडाको अभाव छ, संख्या बढ्दै जादा त्रिपालको पनि माग गर्नुपर्ने अवस्था सृजना हुदैछ्,।

पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न कारागारलाई भ्याइनभ्याइ छ । कारागार प्रशासनले जिल्ला प्रशासन कार्यालय दार्चुला तथा कारागार विभागलाई समस्याबारे जानकारी गराउँदै आए पनि सुनवाइ नभएको खडायतले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ