arrow

७३ सालमा काटिएको क्रिसमस विदालाई पुनः कायम गर्न माग

logo
प्रकाशित २०७६ पुष ४ शुक्रबार
christmas-celebration.jpg

काठमाडौं । राष्ट्रिय क्रिश्चियन महासंघ, नेपालले यही पौष ९ गते (डिसेम्बर २५) का दिन क्रिसमसको सार्वजनिक विदा दिन माग गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर महासंघले यस्तो माग गरेको हो ।

महासंघले अघि सारेका मागहरुमा क्रिश्चियन समूदायको महान पर्व क्रिसमसका दिन अर्थात् पुष ९ गते (डिसेम्बर २५) का दिनलाई तत्काल सार्वजनिक विदा कायम गर्नुपर्ने, नेपाल सरकारसँग भएका ६ बुँदे सहमतिहरुलाई तत्काल कार्यान्वयन गरी राष्ट्रिय क्रिश्चियन आयोग गठन तथा नेपाली क्रिश्चियन चर्चहरुको सम्पत्ति तथा दायित्वहरु व्यवस्थित् गर्नका लागि नीतिगत व्यवस्था गर्नुपर्ने, नेपाल सरकारसँग भएको ३ बुँदे सहमति अनुसार नेपाली क्रिश्चियन समूदायको लागि तत्काल समाधिस्थलको व्यवस्था गर्नुपर्ने र गत भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याएको मुलुकी ऐन–२०७४, मुलुकी अपराध (संहिता) ऐनका परिच्छेद ९ को १५७ र १५८ मर्मविपरित भएका प्रावधानहरुलाई तत्काल संशोधन गर्नुपर्ने रहेका छन् ।

महासंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘स्वाभिमान र अधिकारसम्पन्न नेपाली क्रिश्चियन समूदायको सुनिश्चितताको लागि धार्मिक, सामाजिक, आर्थिक, समावेशी र समृद्ध नेपालको परिकल्पना गर्दै विश्वभरि रहेका नेपाली भाषी मण्डलीहरुसँग सहकार्य गर्दै परमेश्वरको महिमाको निम्ती राष्ट्रिय क्रिश्चियन महासंघ, नेपाल निरन्तर रुपमा क्रियाशिल रहेको अवगत गर्दै प्रतिबद्ध रहेको कुरा जानकारी गराउँदछौं ।’

महासंघकाअनुसार नेपालमा करिब १२,५०० भन्दा बढि चर्च (मण्डली) हरु रहेका छन् । महासंघले भनेको छ,‘३० लाखको संख्यामा नेपाली क्रिश्चियनहरु रहेको हाम्रो देश नेपालमा वि.सं. २०६४ देखि २०७२ सालसम्म निरन्तर रुपमा क्रिश्चियनहरु महान पर्व क्रिसमसको अवसरमा नेपाल सरकारले सार्वजनिक विदा दिँदै आएको र वि.सं. २०७३ सालमा काटिएको विदालाई पूनः सार्वजनिक विदा कायम गरेको थियो ।’

कार्यक्रममा महासंघका अध्यक्ष सि.बी. गहतराजले सर्वोच्च अदालतले पनि क्रिसमसको दिन दिईँदै आएको सार्वजनिक विदालाई कटौती नगर्न आदेश दिएको सुनाउँदै भने,‘सरकारले पनि हामीसँग यो अवसरमा विदा दिने भनेर सार्वजनिक रुपमै सहमति गरिसकेको अवस्था छ । तर, अहिलेसम्म उक्त सहमति कार्यान्वयन भएको छैन् ।’ उनले सार्वजनिक विदासम्बन्धी बनेको पूनरावलोकन समितिले पनि १३ वटा सार्वजनिक विदाभित्र क्रिसमसलाई पनि समावेश गरिएको उनले सुनाए ।

उनले क्रिसमस संसारमै सबैभन्दा बढि मनाईने उत्सव भएको हुनाले नेपालमा पनि यो पर्व मनाउनेको संख्या लाखौंमा रहेको स्पष्ट पारे । उनले नेपाल सरकार, मानवअधिकारकर्मी, राजनीतिक दल, कुटनीतिक नियोग, पत्रकार र आम नागरिकलाई आफूहरुको माग सम्बोधन गराउनको लागि आ–आफ्नो ठाउँबाट सहयोग गरिदिन पनि आग्रह गरेका छन् ।

कार्यक्रममा महासंघका प्रवक्ता उद्धवप्रसाद चिमोरियाले विज्ञप्ती वाचन गरेका थिए । कार्यक्रममा महासंघका बरिष्ठ सह–अध्यक्ष डा. फिलेमन क्षेत्री, उपाध्यक्ष बाबुराम हिङमाङ, सचिव प्रेम बहादुर कार्की, विभागीय प्रमुखहरु करण सिलवाल र मुकेश मोक्तानको पनि सहभागिता रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ