ओली सरकारले राज्यकोषको चरम दोहन गर्यो – प्रदीप पौडेल
प्रकाशित २०७६ पुष ६ आइतबार
1k
Shares
बनेपा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपा नेतृत्वको वर्तमान सरकारले राज्यकोषको चरम दोहन गरिरहेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस काभ्रेले बनेपामा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले सरकारी सम्पत्ति आफ्ना कार्यकर्ताहरुबीच बाँडेकोमा सरकारको कडा आलोचना गरेका हुन् ।
बालुवाटर तथा गोकर्ण जग्गा प्रकरणबाट वर्तमान सरकारले राज्यकोषमा लुटतन्त्र मच्चाएको पुष्टि भइसकेको पौडेलले बताए । “कम्युनिष्टहरुको बाहुल्यता रहेको सरकार कम्युनिष्ट सिद्धान्तको ठीप विपरित हिड्ँदा विश्व मानचित्रमा नै नेपालको इज्जतमा धब्बा लागेको छ” पौडेलले भने ।
देश र जनताको पक्षमा अहिलेको सरकारले धेरै काम गर्न सक्ने अवस्था रहेपनि केही गर्न नसकेको पौडेलको भनाइ थियो । पौडेलले पछिल्लो समय मुलुकमा भष्ट्राचार, कुशासन, अनियमितता, असुरक्षा, महंगी सबै बढ्दा पनि सरकार केवल मूकदर्शक प्रमाणित भएको धारणा राखे ।
नेपाली कांग्रेसले अब सदनमा भ्रष्टाचारको मुद्दा शशक्त ढंगले उठाउनुपर्ने भन्दै पौडेलले निष्पक्ष छानबिन गरी दोषीलाई दण्डित गर्ने प्रत्याभूति नभए सम्म सदन सुचारु गर्न दिन नहुने तर्क गरे ।
सोही अवसरमा नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका १ सय ५० जनालाई पौडेलले स्वागत गरेका थिए । सभालाई सम्बोधन गर्दै कांग्रेस नेताहरु शिव हुमाँगाइ, मधु आचार्य लगायतले नेपाली कांग्रेस बाहेक अरु कसैले लोकतन्त्रको रक्षा गर्न नसक्ने बताए ।