४५ दिनको बिदा लिएर दुबईबाट फस्सो जगेर्नामा

शेरबहादुर सिंह, रासस प्रकाशित मिति : २०७६ पौष ६ आइतबार

भीमदत्तनगर । मुलुकभित्र रोजगारी नपाउँदा विदेशिनु परेका युवा कडा परिश्रमपछिको आम्दानीले घरपरिवारको खर्च चलाउने मुख्य योजना प्रायः सबैको हुन्छ । विदेशमा राम्रो कमाइ हुनेले समाजका लागि पनि केही लगानी गर्छन् ।

दश वर्षअघि आफूसँग प्रतिभा हँुदाहँुदै पनि मजदूरीका लागि दुबई हान्निएका कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका लक्ष्मण अधिकारीको समाज, संस्कृति संरक्षणका लागि दिएको योगदान सम्झना लायक छ । दश वर्षदेखि दुबईमा सुरक्षा गार्डमा कार्यरत ४८ वर्षीया अधिकारी डेढ वर्षपछि घर फर्किदा पारिवारिक भेटघाटसँगै लोप हुन लागेको सुदूरपश्चिमको मौलिक भुवा नाँच (फस्सो)को जगेर्नाका लागि भन्दै ४५ दिन बिदा लिएर यहाँ आउनुभएको छ ।

विदेशिएका प्रायः नेपाली दशैँ, तिहारजस्ता चाडपर्वमा घर बिदामा आउँछन् । भीमदत्त नगरमा परम्परागत भुवा नाच प्रदर्शनको तयारीमा जुटेका अधिकारीले रासससित भन्नुभयो, “मैले कामको चाप हुने दुबईमा पनि सुदूरपश्चिमेलीलाई भेला गरेर बाजागाजासहित भुवा नाच देखाएको छुँ ।” देउडीयाका रुपले परिचित अधिकारी सुदूरपश्चिमको देउडा र संस्कृतिप्रति मात्रै झुकाव राख्नुहुन्न । उहाँको विगत नियाल्दा खेलकूद क्षेत्रमा पनि मुलुकमै परिचित खेलाडीका रुपमा पनि कहलिनु भएको छ । स्कूले जीवन फुटबलबाट खेल जीवनमा उदाउनु भएका अधिकारीले कबड्डी खेलमा झण्डै दुई दशक खर्चिएका यहाँका पुराना खेलाडीसमेत हुनुहुन्छ ।

“कबड्डीबाट दशौँ दक्षिण एशियाली खेलकूद प्रतियोगितासम्म मैले मुलुकका लागि खेलेँ”, उहाँले भन्नुभयो, “दश वर्षजति राष्ट्रिय टिममा रहँदा तीन वटा साग निरन्तर खेल्ने अवसर पनि पाए ।” कबड्डीका अब्बल खेलाडी अधिकारी अवसर नपाएपछि बाध्य भएर २०६६ सालमा मजदुरीका लागि दुबई पलायन भएको बताउनुहुन्छ ।

मङ्सिरको दोस्रो साता घर बिदामा यहाँ आउनुभएका अधिकारीले गत मङ्सिरको अन्तिम साता काठमाडौँको राष्ट्रिय नाचघरमा भुवा नाच प्रदर्शन गरेर गृहनगर भीमदत्त नगर आइपुगेको बताउनुभयो । “नेपाल आउनासाथ काठमाडौँमा भएका बझाङ, बाजुरा, अछाम र डोटीलगायत भुवा खेल्ने पहाडी जिल्लाका युवा साथीलाई भेला पारेर भुवा देखाएर आएँ”, उहाँले भन्नुभयो, “भीमदत्त नगरमा यही पुस १२ गतेदेखि भुवा प्रदर्शनको तयारीमा जुटेको छु ।” उहाँले खप्पड समाज कञ्चनपुरको अगुवाइमा भुवा प्रदर्शन हुने बताउनुभयो ।

बझाङ र बाजुरामा बढी खेलिने भुवा तराई कैलाली र कञ्चनपुरमा भने लामो समयदेखि मनाउन छाडेको अधिकारीको भनाइ छ । “पहाडबाट बसाइँ सरेसँगै यहाँका केही गाउँबस्तीमा फाट्टफुट्टरुपमा भुवा खेल्ने गरे पनि लोप हुने अवस्थामै पुगिसकेको छ”, उहाँले भन्नुभयो, “युवा पुस्तालाई हाम्रो संस्कृति हस्तान्तरण गर्न पनि भुवा जगेर्ना गर्न आवश्यक छ ।”

सामाजिक सद्भाव, एकता र भेटघाटको माध्यमसमेत भुवा रहेको भन्दै अधिकारीले समूहमा खेलिने भुवाको सामाजिक, सांस्कृतिक एवं धार्मिक मान्यता रहेको बताउनुभयो । त्रेता युगमा पाण्डव र कौरवबीचको लडार्इं सकिएपछि पाण्डव पक्षले खुशियाली मनाएको दिनमा यो पर्व मनाउने गरिन्छ । भुवामा पाँच पाण्डपको गाथासमेत गाइने गरिन्छ । यो पर्व सुदूर तथा कर्णाली प्रदेशका केही जिल्लामो मनाइने गरिन्छ ।

यस पर्वमा गाउँमा छैट खेल्ने चलन पनि छ । घरको जेठो छोरा जन्मेको एक वर्ष पूरा गरेपछि उसको घरमा गएर छैट माग्ने चलन छ । छैटमा घरको आँगनमा भगवान् श्रीकृष्णको गाथा गाउने, बच्चालाई गाउँका ठूलाबडा मान्यजनले आर्शीवाद दिने र घरको मान्छेले सबै गाउँले बोलाएर भोज गर्ने चलन यस पर्वको अर्को विशेषता हो । भुवामा ढाल, तरबार र बाजाका साथै नाचमा सहभागी दौरा सुरुवालमा सजिने गर्छन् । “बुबा÷आमाकै प्रेरणाबाट सात÷आठ वर्षकै उमेरमा देउडाप्रति मोह बढेर गयो”, उहाँले भन्नुभयो, “देउडालाई विदेशमा पनि प्रचारप्रसार गराउने काम गरेका छौँँ ।”

चार वर्षअघि दुबई सेवा समाजसमेत गठन गरेर सुदूरपश्चिमको रीति, संस्कृतिलाई संरक्षणमा जोड दिँदै आएका अधिकारीले दुबईमा गौरा पर्व, होली, विशुलगायतका सुदूरपश्चिमका पर्व निरन्तर मनाउँदै आउनु भएको छ । “काठमाडौँबाट ढाल, तरबार मगाएर पनि दुबईमा भुवा नाच सफल बनायौँ”, उहाँले भन्नुभयो, “प्रदेशमा गाउँ भाका र कला, संस्कृतिको मायाको बखान शब्दले व्यक्त गर्न सकिँदैन ।”

लाहुर्‍यादेखि पीडितको उद्धारसम्म

सुदूरपश्चिमको देउडालाई लामो समयदेखि साथ दिइरहेका अधिकारीले कलाकारिताका माध्यमबाट पनि देउडा जगेर्नामा सघाउ पुर्‍याउनु भएको छ । ‘दुबईको लाहुर्‍या’ नामक देउडा एल्वमसमेत निर्माण गरेका उहाँले दुबई सेवा समाजमार्फत त्यहाँ समस्या पर्दा सुदूरपश्चिमेलीलाई निकै सहयोग पुर्‍याउनु भएको छ ।

“समाजले दुःख पर्दा, घाइते हुँदा, उद्धार गर्नुपर्ने अवस्था आए सहयोग पुर्‍याउँछ”, उहाँले भन्नुभयो, “देशमा भूकम्प आउँदा पनि समाजले प्रधानमन्त्री राहत कोषमा पनि रु साढे छ लाख प्रदान गरेको थियो ।” घर बिदा आउँदा देउडा गीतसमेत बजारमा ल्याउने गरेका अधिकारीले तीन वटा एल्बम निकाल्नुका साथै पाँच वटा देउडा गीतमा शब्द सिर्जना गरेको बताउनुभयो ।

“डेढ वर्षअघि पहिलोपटक हामीले दुबईमा सुदूरपश्चिमको देउडा गीत ‘कम्मर लड्काई–लड्काई’ छायाङ्कन गरेका थियौँ”, उहाँले भन्नुभयो, “त्यो बेला रु दुई लाख खर्च भएको थियो ।”
देउडा गायन र मोडलिङसमेत गर्न सिपालु अधिकारी देउडा र सांस्कृति क्षेत्रमा लाग्दा परिवारबाट पनि समर्थन रहेको बताउनुहुन्छ । “सुदूरपश्चिमको कला, संस्कृतिमा स्थानीय तहदेखि सरकारसम्म गम्भीर हुनुपर्छ”, उहाँले भन्नुभयो, “यहाँको कला, संस्कृति पनि पर्यटकीय आर्कषण हुन् ।”

नयाँ