नेकपा नेता खतिवडाले गरेनन् बुबाको काजकिरिया , मन्त्रीले भने- क्रान्तिको शुरुआत
राहत शिक्षकको लागि छुट्टै नीति
प्रकाशित २०७६ पुष ७ सोमबार
1k
Shares
ओखलढुङ्गा । नेकपा स्थायी कमिटी आमन्त्रित सदस्य पेशल खतिवडाले बुबाको काजकिरिया गरेनन् । हिन्दू संस्कार नमान्ने भन्दै नेता पेशल खतिवडाले बुबाको काजकिरिया नगरेका हुन् ।
नेकपा स्थायी कमिटी आमन्त्रित सदस्य खतिवडाका पिता मनोरथ खतिवडाको श्रद्धाञ्जलिसभामा सोमबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल ओखलढुङ्गा पुगेका छन् । हिन्दू संस्कारको विरुद्धमा विद्रोह गरेर स्व खतिवडाका छोरा पेशल खतिवडाले सांस्कृतिक क्रान्तिको शुरुआत गरेको भन्दै मन्त्री पोख्रेलले हौसाए ।
स्व मनोरथ २०१८ देखि २०२६ सालसम्म प्रधानपञ्च बनेका थिए। उनी जीवन प्रदीप मावि हर्कपुरमा संस्थापक अध्यक्ष, बरुणेश्वर माविका संस्थापक एवम् चन्दादातासमेत थिए । खतिवडाको ९५ वर्षको उमेरमा गत मंसिर २७ गते निधन भएको हो।
स्व खतिवडाका चार छोरामध्ये जेठो दीपप्रसादको मृत्यु भइसकेको छ भने साइला नरेन्द्र र कान्छा सुरेन्द्र क्रियाकर्ममा बसेका छन् । माइला ६५ वर्षीय खतिवडाले भने बसेनन् । परम्परागत किरिया कर्म प्रति विश्वास नभएको खतिवडाले आफन्तलाई बताउदै आएका छन् ।
त्यस्तै श्रद्धाञ्जलि कार्यक्रममा सङ्घीय प्रतिनिधिसभाका सांसद एवम् नेकपाका केन्द्रीय सदस्य यज्ञराज सुनुवार, संविधानसभा सदस्य एवम् नेकपाका केन्द्रीय सदस्य दुर्गाजयन्ती राई, नेकपाका केन्द्रीय सदस्य एवम् धनगढीमाई नगरपालिका महोत्तरीका प्रमुख एवम् आधारशिला परिवारका सदस्य हरिनारायण चौधरी, नेकपाका केन्द्रीय सदस्य निर्मल बराल, नेकपाका केन्द्रीय सदस्य प्रकाश पोख्रेलले स्व खतिवडाका बारेमा चर्चा गरेका थिए ।
श्रद्धाञ्जलिसभामा मन्त्री पोखरेलले सरकारले आउँदो हिउँदे अधिवेशनबाट शिक्षासँग सम्बन्धित तीनवटा महत्वपूर्ण विधेयक पास गर्न लागेको पनि जानकारी दिए । त्यसलगत्तै राहत शिक्षकको व्यवस्थापनका लागिसमेत सरकारले छिट्टै नयाँ प्रक्रिया थालनी गर्ने भन्दै उनले लामो समय राहत शिक्षकको भूमिकामा रहेकालाई केही अवसरको सृजना गरेर व्यवस्थापन गरिने बताए । उनले भने, “सामुदायिक विद्यालयमा धेरै प्रकारका शिक्षक हुनु नै अहिलेको शैक्षिक विकासको अर्को चुनौती देखियो । यसलाई हामी सुधार्न लागिरहेका छौँ ।”
मन्त्री पोखरेलले देशैभरका विद्यालयमा शिक्षकको समायोजन गरेको बताउँदै अझै पनि देशभर ३९ हजार शिक्षक आवश्यकता रहेको बताए । मन्त्री पोखेलले नेपाली समाजमा सांस्कृतिक क्रान्ति गर्नु जटिल विषय भएको बताएका छन्। मोलुङ गाउँपालिका–४ हर्कपुरमा आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले संस्कारलाई समय अनुकूल परिवर्तन गरी अगाडि बढ्नुपर्नेमा समेत जोड दिए ।