काठमाडौं । नेपाली खेलकूद इतिहासमा गएको मंसिर महिना सबै भन्दा सुखद् रहयो । दक्षिण एसियाली खेलकूद (साग)मा हाल सम्मकै सबैभन्दा ठूलो सफलता मिल्यो नेपालाई । स्वर्ण पदक मात्रै ५१ पर्याे नेपालको पोल्टामा ।
त्यति मात्रै होइन, सँगै पूर्वाधार निर्माण र सँगै १३औँ सागको तयारी गरेको आयोजक नेपालले हतारमा पनि भव्य कार्यक्रम आयोजना सकिने उदाहरण पेश गर्याे ।
तर, व्यवस्थापनमा गरेका स–साना कमजोरीले आयोजक आलोचनाको भने नराम्ररी सिकार भयो । दौरा सुरुवाल काण्ड, अर्कै मुलुकका सहभागिसँग पेस्तोल मागेर सुटिङमा सहभागि हुनुपरेको परिस्थिति, जर्सी समेत अर्कैलाई माग्नु परेको अवस्था, रंगशालामा पत्रकार कुटिएको घटना र खेलाडीलाई पुरस्कार घोषणामा गरिएको विभेद–आलोचनाका कारण थिए ।
तर, यहाँनेर उठाउन खोजिएको विषय भने अर्कै हो । १३औँ साग तयारी तथा व्यवस्थापन समितिको सचिवालयका अनुसार प्रचार–प्रसारका लागि मात्रै झण्डै ८ करोड बजेट थियो । त्यो मध्ये आधावुधी फ्लेक्स प्रिन्ट एवं पोष्टरमै खर्च भएको अनुमान गरिएको छ । यद्यपि, फ्लेक्स प्रिन्ट एवं पोष्टरमा खर्च भएको यकिन विवरण आएको छैन । साग सम्पन्न गर्न विभिन्न १६ वटा समिति बनेका थिए । प्रचार–प्रसारमा राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव रमेश सिलवालले आफ्नै नजिकका मान्छे राखेका थिए । यतिसम्म कि उनको गोल्डेनगेट कलजेमा सँगै सहकार्य गरेका मान्छेहरु त्यो समितिमा थिए । उनीहरु कसैले पनि फ्लेक्स प्रिन्ट बनाउन र टाँग्न कति खर्च लाग्यो भन्ने जानकारी दिएनन् ।
तर, साग सचिवालयका एक अधिकारीले अहिले बिल आउने क्रम जारी छ, सबै ठाउँबाट बिल नआएका कारण कति खर्च भयो ? भन्ने यकिन भएको छैन, भन्दिए । उनका अनुसार प्रचार–प्रसारको ८ करोड बजेट पनि पहिल्यै पास भएको होइन, सबै बिल भर्पाई बुझाएपछि बजेट पास हुने हो ।
फ्लेक्स प्रिन्ट छपाई हुने एउटा ठाउँमा बुझ्दा स्क्वायर फिटका आधारमा रुपिँया पर्ने जवाफ आयो । स्क्वायर फिटको ३५ देखि ४० रुपियाँ पर्छ । त्यसरी हिसाब गर्दा सोलार राखिएको पोलमा झुण्ड्याइएको एउटा फ्लेक्स प्रिन्टको झण्डै पाँच हजार पर्ने देखियो ।
त्यस्ता फ्लेक्स पोलपोलमा राखिएका थिए । काठमाडौंमा मात्र होइन १३औँ साग तीन शहरमा आयोजना भएको थियो–‘काठमाडौं, पोखरा र जनकपुर ।’ तीनै शहरमा यसरी फ्लेक्स टाँगिएको थियो । फ्लेक्स मात्रै होइन, ठाउँ–ठाउँमा स्वागतद्वार र प्रधानमन्त्री केपी ओलीको फोटोसहितको ठूला फ्लेक्स पनि राखिएका थिए ।
त्यत्रो खर्च गरेर पारिएको झकिझकाउ साग सकिएको भोलिपल्टै तहसनहस भयो । फ्लेक्स बाटोमा जहाँतही लत्रिएका देखिए ।
अहिले ती फ्लेक्स नगर प्रहरीले काठमाडौं महानगरको फोहर थुपार्ने टेकुमा थुप्रो लगाएको छ । फ्लेक्स उठाउने मध्येकै एक नगर प्रहरीले भने, ‘ मेरो नाम नलेख्नु, कुरा म सबै भन्छु । साग चल्दा सडकभरी राखिएका फ्लेक्स हामीले नै उठाएका हौँ । अहिले टेकुमा थुपारेका छौँ । फलामको फ्रेम लिलाम विक्रि हुन्छ । बाँकी बोक्रो चाँहि त्यहीँ रहन्छ ।’
अनि के फोहोरसँगै फाल्ने हो त्यसलाई ? जवाफमा उनले भने, ‘होइन, जहाँ थुपारिएको छ, त्यहीँ रहन्छ । पछि त्यो झुत्रा–झुत्रा हुन्छ । तर, सड्दैन । जलाएर पनि साध्य लाग्दैन त्यो त्यसै रहन्छ ।’ उनका अनुसार त्यसमा फाइबर, माड लगायत प्लाष्टिकजन्य चिजहरु हुन्छन् ।
साग मात्रै होइन, अहिले नेपालमा फ्लेक्स प्रिन्ट गाउँ–गाउँसम्म फैलिईसकेको छ । यो पूर्णरुपमा नसड्ने भएकाले वातावरण विगार्न असाध्यै भूमिका खेल्छ । फ्लेक्स उठाउने ती नगर प्रहरीले पहिले कपडाको व्यानर बनाईन्थ्यो, त्यो पुनः प्रयोग पनि हुन्थ्यो भने । अहिले हाम्रा प्रधानमन्त्री र मन्त्रीहरु नै आफ्ना फोटोहरु फ्लेक्समा टाँसेको देखेर दंग पर्छन्, उनले भने, ‘नेताहरुले त्यसो गरेको देख्दा हामीलाई भने उदेक लाग्छ ।’ वातावरणको मुद्दामा उनी कतिधेरै अपडेट ? छिमेकी भारतमा यसको विरोध भएपछि अहिले कपडाकै प्रयोग गर्न थालिएको सुनेको छुँ मैले, उनले भने,‘भारतमा अबको केही वर्षमा डिजेल गाडीहरु विस्थापित गरेर ईलेक्ट्रोनिक्स गाडीहरुको उत्पादन बढाउने कुरा छ । हामीकहाँ सस्तो लोकप्रियताका लागि जे पनि गर्छन्, मान्छेहरु ।’
उदेक लाग्दो अवस्था त के भने आठौँ राष्ट्रिय खेलकूदमा गरेको प्रचार–प्रसारको भुक्तानी सबै सञ्चारमाध्यमलाई दिन नसकेको राष्ट्रिय खेलकूद परिषद राखेपले यस्ता तामझामका काम गर्न कसरी सकेको होला ?
सस्तो लोकप्रियताका लागि वातावरण चौपट पारिँदै
लोकप्रियताकै लागि नेपालमा प्लाष्टिक प्रतिबन्ध गर्ने निर्णय हुन्छन् । अभियान चल्छन् । त्यो अभियानको उद्घाटन सरकारमै हुनेहरुले गर्छन् । तर, २० माईक्रोन भन्दा कम मापदण्डका प्लाष्टिक झोलाले अहिले पनि बजार ढाकेकै छ । ठीक त्यसैगरी अहिले फ्लेक्स प्रिन्टवालाहरुको रोटी राम्रैसँग सेकिएको छ । तर, वातावरण चौपट पारेको कुरा उनीहरु स्वीकार्न तयार छैनन् । किन भने मुलुकको प्रधानमन्त्री नै उनीहरुको खरिदकर्ता हुन् ? अझै भन्ने हो भने प्रधानमन्त्रीको ‘नयाँ युग’ आएकै यस्तै फ्लेक्समा हो ।
सामाजिक सुरक्षा कार्यक्रमको सुभारम्भ गर्दा पोलपोलमा झुण्ड्याइएको थियो, प्रधानमन्त्रीको फोटो । कुरा त्यतिमात्रै होइन, विम्स्टेक सम्मेलन हुँदा अस्तव्यस्त काठमाडौंको तीनकुने फ्लेक्स ले नै लुकाईयो । चिनियाँ राष्ट्रपतिको भ्रमणमा पनि यही फ्लेक्स काम आयो । बंगलादेशका राष्ट्रपतिको भ्रमण लगाय कयौँ पल्ट इज्जत धानेको छ, यो फ्लेक्सले सरकारको । असाध्यै सजिलो भएको छ यो मान्छेहरुलाई । काम र नाम देखाउन । तर, यसको नोक्सानीबारे भने कसैले होस् गरेका छैनन् । प्रधानमन्त्री नै सस्तोमा, मस्त रमाउँछन् भने अरुलाई के को मतलव ? के को वातावरण प्रदूषण ? के को मानव स्वास्थ्यको चिन्ता ?
फ्लेक्स प्लाष्टिक भन्दा घातक
प्लाष्टिक मुक्त वातावरणका अभियन्ता भरत बस्नेतले फ्लेक्स प्लाष्टिक भन्दा घातक भएको बताए । उनले भने, ‘४० माईक्रोनदेखि माथिका प्लाष्टिक झोला रिसाईकल गरेर अर्को वस्तु निर्माण गर्न सकिन्छ । तर, फ्लेक्स मक्किदै गएर टुक्रा–टुक्रा हुन्छ र वातावरणमा मिसिन्छ ।’ वातावरणमा मिसिन्छ भन्नाले ? जवाफमा उनले भने, ‘माटोमा, पानीमा र वायुमा यसका टुक्राहरु मिसिन्छन् ।’ प्लाष्टिकजन्य वस्तु व्यवस्थापनलाई लिएर बस्नेतले सर्वोच्चमा रिट समेत हालेका छन् । उनको रिटमा पेशी तोकिएपनि अहिलेसम्म सुनुवाई हुन सकेको छैन ।
सरकारले यो पल्ट देशभर वृक्षरोपणको अभियान नै चलाएको छ । काठमाडौं महानगरले पनि सडक किनारामा विरुवा रोप्ने कार्य गरेकै छ । तर, फ्लेक्स व्यवस्थापनको मामिलामा काठमाडौं महानगरको वातावरण विभाग आफैँ अनविज्ञ ।
महानगरको वातावरण विभागलाई साग चल्दा काठमाडौंका सडकमा टाँगिएका फ्लेक्स कसले उठायो भन्ने पनि थाहा रहेनछ । त्यो नगर प्रहरीले ती फ्लेक्स उठाएको बताइरहँदा वातावरण विभाग प्रमुख हरि कुमार श्रेष्ठ भने अझै पनि ‘त्यो फ्लेक्स जसले टाँग्यो, उसैले उठाउने हो’ भन्छन् । यसले के भन्छ ?–‘जुन जोगी आए पनि कानै चिरिएका’ अर्थात् जति सरकार बने पनि जनतालाई ‘सम्मै’ ।