भारतले सीमा समस्या समाधान गर्न तयार रहेको पत्र पठायो
प्रकाशित २०७६ पुष ८ मंगलबार
871
Shares
काठमाडौँ । नेपाल र भारतबीचको पछिल्लो समय सीमा विवादमा देखिएको असमझदारी समाधान हुने बाटोमा अगाडि बढेको छ । भारतले कालापानी क्षेत्रको सीमामा समस्या रहेको स्वीकार्दै त्यसलाई समाधान गर्न तयार रहेको पत्र नेपाललाई पठाएसंगै समाधानको बाटो एक कदम अगाडि बढेको हो ।
भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा कालापानीलाई पनि समेटेपछि सम्बन्ध चिसिन थालेको थियो । नेपाल सरकारले स्पष्ट रुपमा कुटनीतिक पहल नगरेको आरोप लागे पनि भारतले नक्सा जारी गरेपछि कालापानी आफूहरुको भएको कूटनीतिक नोट पठाएको थियो ।
त्यसमा वार्ताको प्रस्तावसमेत गरिएको थियो । भारतले नेपालको पत्र पाएको एक महिनापछि वार्ताका लागि तयार भएको पत्र पठाएको हो । मिति ठ्याक्कै नलेखिएको भए पनि नेपालस्थित भारतीय दूतावासमार्फत सरकारलाई सम्बोधन गर्दै पठाइएको पत्रमा कालापानी–सुस्ता क्षेत्रको समस्या समाधान गर्न भारत तयार रहेको उल्लेख छ।
पत्रमा आपसी समझदारीमा उपयुक्त तिथिमा वार्ता गर्ने व्यहोरा उल्लेख छ। यसअघि दुवै पक्षले तय गरेको परराष्ट्र सचिवस्तरीय संयन्त्रबाटै यो विषय हल गर्ने भनिएको छ । नेपालकै चाहना अनुसार भारतले पनि परराष्ट्र सचिवस्तरीय वार्तामा जोड दिएको हो ।
भारतको यो जवाफलाई सकारात्मक रुपमा लिइएको छ । अहिलेलाई भारतले सीमा मिचिएको स्वीकार गर्नुलाई नै एक जितको रुपमा लिइएको छ ।
गत कात्तिक १६ गते भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर आफ्नो नयाँ नक्सा जारी गरेको थियो ।
त्यसको सर्वत्र विरोध भएपछि नेपालको परराष्ट्र मन्त्रालयले कात्तिक २० गते एकतर्फी ढंगले गरिएको अन्तर्राष्ट्रिय सीमा हेरफेरको निर्णय नेपाललाई मान्य नहुने भन्दै वक्तव्य निकालेको थियो ।
त्यसपछि कात्तिक २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक डाकेर भारतले अतिक्रमण गरेको नेपाली भूमिका विषयमा छलफल गरेका थिए। त्यसपछि भने ओली सरकारले दलहरुलाई कुनै पनि जानकारी गराएको थिएन ।