arrow

सीमा विवाद समाधान हुनेमा नेपाल–भारत सम्बन्धका वरिष्ठ विज्ञहरु विश्वस्त 

logo
प्रकाशित २०७६ पुष ८ मंगलबार
nepal-india-expert.jpg

नयाँ दिल्ली । नेपाल र भारतबीच देखिएको सीमा विवाद छिट्टै समाधान हुनेमा आशावादी भएको नेपाल–भारत सम्बन्धका वरिष्ठ विज्ञहरुले बताएका छन् । 

भारतको राजधानी नयाँ दिल्लीको आइटिओमा स्थित एन डि तिवारी भवनमा आयोजित ‘बदलिदो परिप्रेक्षमा नेपाल–भारत सम्बन्धका आयामहरू’ बिषयक अन्तरक्रियात्मक सत्रमा विज्ञहरुले उक्त भनाइ राखेका हुन् । 

नेपाल–भारत सम्बन्ध जनस्तरमा चिसिएको बेला सत्य तथ्य उजागर गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रमको संयोजकत्व कार्यक्रमको आयोजक ‘फरुम फर इन्नोभेटिभ रिसर्च एण्ड कन्स्ट्रकटिभ डायलग’ का कन्भेनर अम्बिका प्रसाद जोशीले गरेका थिए भने प्राध्यापक संगीता थापलियालले डायलग मोडेरेटरको भूमिका निभाएकी थिइन् । 
 
करिब साढे तीन घण्टा चलेको सो अन्तरक्रियात्मक सत्रमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, प्राध्यापक एसडी मुनी, नेपाल–भारत प्रबुद्ध समूहका सदस्य एवं नेपालका लागि भारतीय पूर्व राजदूत जयन्त प्रसाद, नेपालका लागि भारतीय पूर्व राजदूत रंजित रे, गान्धीयन समाजवादी नेता विजय प्रताप, भारतीय राष्ट्रिय कांग्रेसका विदेश विभाग सचिब वीरेन्द्र बशिस्ट, प्रधानमन्त्रीका पूर्व परराष्ट्र सल्लाहकार डा  दिनेश भट्टराई, पूर्व संसद मंचका सभापति तथा पूर्व मन्त्री ओमकार श्रेष्ठ, पूर्व मन्त्रीहरु  गोबिन्दबहादुर शाह र शिवराज जोशी, मंचका उपाध्यक्ष बिष्णुबहादुर रावत, महासचिब शंकरनाथ शर्मा, संस्थापक महासचिब होमराज दाहाल, झलकनाथ वाग्ले, शिला यादव, शुशिला शर्मा, सुरेशकुमार कार्की, संयोजक डा रमेशबहादुर थापा, नेपाली राजनीतिक दलहरुका भारतस्थित सम्पर्क समिति र मंचप्रमुखहरु बालकृष्ण पाण्डे, सीता अधिकारी, आरबी खड्का र ठाकुर खनालले आफ्नो विचार राखेका थिए ।

नेपाल मामिलाका अथोरिटी नै मानिने प्राध्यापक मुनीले प्रधानमन्त्री स्तरमै सिधा सम्बाद हुने आजको कुटनीतिक अभ्यासमा कुनै बिषय विज्ञ या अवकाशप्राप्त अधिकारीले के बोल्दछ भन्ने कुरालाई सम्बन्धको आधार बनाउन नहुने बताए ।   

उनले नेपाली पक्ष जस्तै भारतीय पक्षसंग पनि कागजपत्र हुनसक्ने सम्भावनाप्रति इंगित गर्दै सीमा विवादलाई उग्र राष्ट्रियताको बिषय बनाउन नहुने र संकुचित राष्ट्रवादले कुनै देशको भलो नगरेको इतिहास कोट्याउदै यसमा दुवै देश सचेत हुनु पर्ने र छलफलबाटै समस्याको समाधान निक्लिने धारणा राखेका थिए । कालापानीलाई उत्तेजना र मनोरन्जनको बिषय बनाउने काम राम्रो नभएको उनको धारणा छ।

कार्यक्रममा बोल्दै पूर्व राजदूत एवम् प्रबुद्द समूहका सदस्य जयन्त प्रसादले नेपाल भारतको सम्बन्ध सिंहदरबार र रय्सिना पहाडको सम्बन्ध मात्रै नभएर जनता–जनताबीचको सम्बन्ध रहेको बताउँदै बीपी र जयप्रकाश नारायणले जनताको संघर्षको नेतृत्व गर्दा एकअर्को देशमा शरण लिएको इतिहास सम्झाए ।

कार्यक्रममा बोल्दै पूर्व संसद मंचका सभापति ओमकार श्रेष्ठले भारतले ठूलो मन गरेर नेपालसितको सम्बन्ध सुधार गरी छिमेकीसित पनि भारतको सम्बन्ध सौहार्दपूर्ण छ भनेर प्रमाणित गर्नुपर्ने बेला आएको तर्क गरे । 

त्यसैगरी मंचका उपसभापति गोबिन्दबहादुर शाहले नेपाल–भारत जस्तो सम्बन्ध कुनै पनि देशहरुको बीचमा नरहेकोले वार्ताबाट नै समस्याको समाधान निकाल्नु पर्ने बताए । 

सीमा विवाद नरहेका छिमेकी देश बिरलै रहेको तथ्य राख्दै पूरै दक्षिण एसिया अब आर्थिक विकासमा केन्द्रित हुनुपर्ने र गरिब भएर बस्नुको कुनै कारण नभएको हुँदा आर्थिक कुटनीतिमा नै ध्यान दिनुपर्ने पूर्व राजदूत रंजित रेको धारणा छ । 

आफ्नो कुटनीतिक जीवनभरी नेपाल–भारत सम्बन्धको प्रकृति उस्तै देख्दै आएको बताउँदै अब समस्या समाधान गर्न ढिलाई गर्न नहुने विचार पूर्व प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले राखे । 

आफ्नो राजनीतिक जीवनमा भारतलाई जत्तिकै समय नेपाललाई पनि दिएको बताउँदै समाजवादी नेता विजय प्रतापले राजनीतिक र सांस्कृतिक बहुलवाद नमान्ने राष्ट्रवाद वशुदैव कुटुम्बकममा आधारित रहेको भनेर भन्न नसकिने बताउँदै साउथ ब्लक र नेपाली प्रशासनको सम्बन्धलाई मात्रै नेपाल–भारतको सम्बन्ध भन्न नसकिने बताए ।

कांग्रेस नेता बशिष्ठले भारतीय राष्ट्रिय कांग्रेसले सधै नेपाल– भारत सम्बन्ध सुमधुर बनाउन आफ्नो भूमिका खेल्ने बताए भने बक्ताका रुपमा बोलाइएका बिजेपी नेता स्वाथ्य समस्याले उपस्थित हुन नसकेको आयोजकले बताए ।

डाइलोग सेसनको निचोड निकाल्दै प्राध्यापक थापलियालले नेपाल भारत सम्बन्ध जति प्रगाढ छ त्यति नै भावनात्मक रहेको हुँदा विवाद आउदैमा आत्तिनुपर्ने अवस्था नरहेको बताइन् । प्राध्यापक थापलियाल अन्तरराष्ट्रिय अध्ययन सस्थान, जे एन यु कि प्राध्यापक तथा नेपाल विज्ञ हुन् भने आयोजक फरमका संयोजक अम्बिका प्रसाद जोशी सोही विश्वविद्यालयको ‘सेन्टर फर द स्टडी अफ ल एण्ड गभर्नेन्स’ का पी एच डी स्कलर हुन् । 

नेपालमाथि विद्यावारिधि गर्दै गरेका पी एच डि स्कलर ऋषि गुप्ता,  आइ टि प्रोफेसनल नागेन्द्र प्रसाद जोशी, पी एच डि स्कलर ललित पाण्डे , जे एन यु का सोधार्थी तथा पी यु का प्राध्यापक राम ढकाल, सी ए सुभास भट्ट र सुधन महत तथा पी जी आई चण्डीगढका रेसिडेन्ट डाक्टर बिपिन यादवले कार्यक्रम आयोजक टिमभित्र बिशेष भूमिका खेलेका थिए ।

डाइलग सेसन निकै फलदायी रहेको र यस्ता कार्यक्रमहरु समय समयमा भई नै रहनु पर्ने सहभागीहरुको प्रतिक्रिया छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ