arrow

कुलमान र डा सन्दुकलाई ‘हेमबहादुर मल्ल सम्मान’

logo
रासस,
प्रकाशित २०७६ पुष ८ मंगलबार
kulman-sanduk.jpg

काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आँखा चिकित्सक डा सन्दुक रुइतलाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने भएको छ ।

नेपाल जन–प्रशासन सङ्घ र साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा स्थापित उक्त पुरस्कार तथा सम्मानको राशि जनही रु दुई लाख रहेको छ । यसपटक दुई वर्षको सम्मान एकैपटक प्रदान गर्न लागिएको हो ।

ऊर्जाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै घिसिङलाई विसं २०७३ को र आँखा उपचारमा योगदान पुर्‍याएको भन्दै डा रुइतलाई २०७४ सालको हेमबहादुर मल्ल सम्मान प्रदान गर्न लागिएको मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

डा रुइत मेगासेसे पुरस्कारबाट समेत सम्मानित भइसकेका छन्। उक्त सम्मान छनोट समितिका संयोजक कृष्णहरि बाँस्कोटाले यही पुस ११ गते उपराष्ट्रपति नन्दबहादुर पुनबाट उनीहरुलाई सम्मान प्रदान गरिने जानकारी दिए ।

विगत २५ वर्ष साल्टट्रेडिङमा महाप्रबन्धक भएर काम गरेका हेमबहादुर मल्लले संस्थालाई पहिचानयोग्य बनाएका थिए । उनको योगदानको कदरस्वरुप विसं २०५९ देखि उक्त सम्मान कार्यक्रम थालिएको थियो । मल्लको २०५७ कात्तिक १२ गते निधन भएको थियो । उनलाई प्रशासक-व्यवस्थापकको ‘रोलमोडल’ का रूपमा लिने गरिन्छ । बागलुङमा जन्मिएका मल्ल विसं २०२० मा साल्ट ट्रेडिङमा व्यवस्थापकका रूपमा प्रवेश गरेका थिए।

यसअघि उक्त सम्मान राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पूर्व सभामुख दमननाथ ढुङ्गाना, पूर्व प्रधानन्यायाधीश तथा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, नागरिक अगुवा देवेन्द्रराज पाण्डे, चाँदनी जोशी, केदारभक्त माथेमा, डा विमल कोइराला, डा भगवान कोइरालालगायतलाई प्रदान गरिसकिएको छ ।
 
छनोट समितिका संयोजक बाँस्कोटाले २०७५ सालको सम्मान आगामी तीन महिनाभित्रमा वितरण गर्ने तयारी गरिएको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ