भारतीय राजदूत पुरी कार्यकाल सकी फर्किदै, राष्ट्रपति र प्रधानमन्त्रीसंग बिदाइ भेट
प्रकाशित २०७६ पुष ९ बुधबार
475
Shares
काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी आफ्नो कार्यकाल पूरा गरी आगामी साता स्वदेश फर्कदै छन् । सन् २०१७ को २६ मार्चदेखि भारतीय राजदूतको रुपमा सेवा गरेका उनी १ जनवरी २०२० मा स्वदेश फर्कदै छन् ।
पुरीले आफ्नो कार्यकाल निकै सफल भएको दावीसमेत गरेका छन् । उनले आफूलाई नेपालमा बस्न पाउँदा र नेपालीहरुसंग मिलेर काम गर्न पाउँदा आनन्द लागेको समेत बताएका छन् ।
नेपाल र भारतबीचको सम्बन्ध उनको कार्यकालमा निकै सौहार्दपूर्ण भएको उनले दावीसमेत गरेका छन् ।
पुरीको कार्यकालमा थुप्रै कामहरु भएका छन् । रक्सौल अमलेखगञ्ज पाइपलाइन, ढल्केवर प्रसारण लाइन सञ्चालनमा आएका छन् भने हुलाकी राजमार्गले गति लिएको छ । पुरीको कार्यकालको अन्त्यतिर नक्साको विषयमा विवाद भए पनि उनले यसलाई वार्ता र संवादबाटै सहमतिमा पुग्न सक्ने बताएका छन् ।
सोमबार मात्रै भारतीय दूतावासले वार्ताबाटै कालापानी, लिम्पियाधुरा र लिपुलेकको समस्या समाधानका लागि भारत तयार रहेको पत्र नेपाल सरकारलाई बुझाएको थियो।
जाँदै गर्दा औपचारिक बिदाइ भेट
पुरीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालमा आफ्नो कार्यकाल पूरा गरी कूटनीतिक सेवाबाट निवृत्त हुनुअघि बिदाइ भेट गरेका छन् । पुरीले मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गरेका हुन् ।
त्यस अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्ध, आपसी हित र चासोका विषयमा विचारविमर्श भएको थियो ।
मंगलबारै प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनले बिदाइ भेट गरे। भेटका बेला दुई देशबीचको शताब्दीऔँ पुरानो सम्बन्ध, पारस्परिकि साझेदारी र सहकार्यलगायत समसामयिक विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री ओलीले राजदूत पुरीलाई स्नेहोपहार पनि प्रदान गरेका थिए । दुवै भेटमा राजदूत पुरीका साथ उनकी श्रीमती पनि थिइन् ।
सोमबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै निवास वुढानिलकण्ठमा राजदूत पुरीले बिदाइ भेट गरेका थिए ।