वैदिक सनातन हिन्दू धर्मावलम्बीले पौष कृष्ण अमावास्याका अवसरमा तीर्थ श्राद्ध गर्दै
तीर्थस्थलमा विधिपूर्वक तर्पण, सिधादान र पिण्डदान गरी दिवङ्गत पितृप्रति सम्मानभाव प्रकट
प्रकाशित २०७६ पुष ९ बुधबार
516
Shares
काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीले पौष कृष्ण अमावास्याका अवसरमा बुधबार विभिन्न तीर्थस्थलमा विधिपूर्वक तर्पण, सिधादान र पिण्डदान गरी दिवङ्गत पितृप्रति सम्मानभाव प्रकट गर्दैछन् । पौषकृष्ण अमावास्याका दिन तीर्थमा श्राद्ध गर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । तीर्थ श्राद्ध पनि सोह्रश्राद्धमा गरेजस्तै पार्वण विधिले गर्नुपर्ने धार्मिक विधान छ ।
यसवर्ष बुधबार र बिहीबार दुई दिन अमावास्या अर्थात् औँसी तिथि परेको छ । बिहीबार बिहान खण्डग्रास सूर्यग्रहणसमेत लाग्ने भएकाले बुधबार नै पौषकृष्ण अमावास्याका दिनमा तीर्थ श्राद्ध गनुपर्ने निर्णय गरिएको उनले जानकारी दिए । ग्रहणमा गरिने श्राद्ध भने बिहीबार नै गर्नुपर्ने जनाइएको छ ।
“यसपटक प्रत्येक वर्ष नियमित पौषकृष्ण अमावास्याका दिन तीर्थमा गई श्राद्ध गर्नेले मात्र गर्नुपर्छ, गत मङ्सिर २८ गते शनिबार पश्चिमबाट वृहस्पति (गुरु) अस्ताएकाले यसअघि तीर्थ श्राद्ध नगरेका नयाँले तीर्थमा गई श्राद्ध गर्नुहुँदैन, पुस २४ गते पूर्वबाट वृहस्पति उदय हुनेछ”, अध्यक्ष गौतमले भने ।
वृहस्पति र शुक्र अस्त भएका बेला नगएको तीर्थमा जानु नहुने, दर्शन नगरेको देवताको दर्शन गर्न नहुने शास्त्रीय मान्यता छ । यसैगरी साइत जुराएर गर्नुपर्ने कतिपय धार्मिक कर्म पनि गुरु एवं शुक्र अस्त भएको समयमा गरिँदैन ।
यस अवसरमा राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीको उत्तरगया, चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थित कालीगण्डकीतिरको देवघाटधाम, गुल्मी र पाल्पाको सङ्गम रिडी, मुस्ताङको कागबेनीलगायत तीर्थस्थलमा पनि तीर्थ श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ ।