नेकपाका भक्तपुर अध्यक्ष देउजाद्धारा सहकारीमार्फत स्थानीयको लगाए उठीवास
प्रकाशित २०७६ पुष १० बिहिबार
648
Shares
भक्तपुर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष बचन देउजाले सहकारीमार्फत स्थानीयको उठीवास लगाएको खुलेको छ ।
उज्यालो वचत तथा ऋण सहकारीका अध्यक्षसमेत रहेका देउजाले सो सहकारीमा कारोबार गरिरहेका पुराना सदस्य र सञ्चालक समितिका पूर्वपदाधिकारीहरुलाई सुनियोजित तबरले हटाएर अध्यक्ष पड्काएका थिए ।
सहकारीका अध्यक्ष भएपछि नेकपाका अध्यक्ष समेत रहेका देउजाले त्यसबाट कारोबार गर्नेहरुलाई सडकमा पुुर्याएर केही बर्षमै आफू भने करोडौंको सम्पत्तिको मालिक बनेका हुन् ।
सहकारीका सदस्यहरुले दिएको जानकारी अनुसार उनले गैर कम्युनिष्ट सदस्यहरुलाई पाखा लगाएर सो सहकारी कब्जा गरेका थिए ।
सहकारीका तत्कालीन अध्यक्ष शंकरनाथ उप्रेतीलाई सहकारी बैंकबाट लिएको कर्जा भुक्तानी गर्न नसकेको भन्दै बाहिरिन बाध्य पारेपछि नागरिक उड्डयन प्राधिकरणका कर्मचारी हेमप्रसाद दाहाललाई सचिवबाट कार्यबाहक अध्यक्षमा ल्याइएको थियो ।
जबकी विधान अनुरुप उपाध्यक्ष उमेश बजगाईले संस्था सञ्चालनको जिम्मेवारी पाउनु पर्दथ्यो । त्यसपछि साधारण सभा गराएर बचन देउजालाई संस्थाको अध्यक्ष बनाइएको थियो ।
सहकारीबाट प्राप्त विवरण अनुसार शंकरनाथ उप्रेतीले आफू अध्यक्ष भएको समयमा झण्डै १ करोड २९ लाख ५१ हजार ६ सय १८ रुपैयाँ लगानी गरेका थिए ।
नयाँ नेतृत्व आएपछि बुझबुझारथ गरी संस्थाले गरेको संस्थागत लगानी संस्थागत रुपमा उठाउने काम गर्नुपर्नेमा शंकरसंग लगानीको रकम सबै बुझाउने र बुझाउन नसके आफ्नो घरघरानाबाट असुल उपर गर्न मञ्जुर छ भन्ने कागज गर्न लगाइएको थियो।
सहकारीको विभिन्न मितिका निर्णयमा शंकरले आफ्नो नेतृत्वमा भएको लगानीको साँवा र ब्याज भुक्तानीका लागि सहकारीको जमानीमा राष्ट्रिय सहकारी विकास बैंकबाट ६० लाख कर्जा लिएर उज्यालोलाई एकमुष्ट ४० लाख, एकता वचत तथा ऋण सहकारीको ९ लाख १० हजार सापट र गोमा न्यौपानेको साढे ७ लाख रुपैया कर्जाको भुक्तानी गर्ने र भक्तपुरका दुई कित्ता जग्गा धितो राखी पञ्चश्री सहकारीबाट लिएको १६ लाख ७९ हजारको कर्जा सहकारी विकास बैंकले स्वाप गर्ने गरी निर्णय भएको देखिन्छ ।
जग्गाको भाउ आकाशपाताल पुगेको अवस्थामा देउजाले भने गठ्ठाघरको जग्गाको प्रचलित मूल्य ३५ लाख आना पुगेकामा साढे ९ लाखमा गुपचुप लिएका थिए । उनले गठ्ठाघर, ताथली, चित्तपोल र टिकाथली (ललितपुर) का जग्गाहरु कौडीको भाउमा गुपचुप आफैले लिएर सहकारीका सदस्यहरुलाई सडकमा पुर्याएका थिए I सहकारीका सदस्यहरुले बताए अनुसार अहिले बाँकी कर्जाको साँवा र ब्याज १ करोड ७ लाख तिर्न भन्दै ताकेता गरिएको छ ।
पीडितहरुले अध्यक्ष देउजाका भाइ विजय देउजा घरजग्गाको कारोबारी भएको र दाजुभाइको मिलेमतोमा सहकारीबाट कर्जा लिएका ऋणीहरुको जग्गा हडपिँदै आएको बताएका छन् । उनीहरुका अनुसार अध्यक्ष बचन देउजाले पेप्सीकोलामा करोडौंको घर किनेका छन्। नागरिक उड्डयन प्राधिकरणका सामान्य कर्मचारी हेम दाहालको पनि करोडौं मूल्यको सम्पत्ति देखिएको छ ।
कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुको करोडपतिमा स्तरोन्नति हुँदा गैर बामपन्थी सहकारीका सदस्यहरु शंकरनाथ उप्रेती, इन्द्रबहादुर थापा, तारा शिवाकोटी, माधवप्रसाद घिमिरे, शोभा न्यौपाने, शुभराज पोखरेल, गोपाल जिरेल, दीपकराज चौलागाई, केशव सापकोटा, रामप्रसाद खतिवडा लगायतको भने बिल्लीबाठ भएको छ।
सविना केसीको गठ्ठाघरको चार आनाको घर पनि सहकारीले आफ्नो नाममा पास गरी बेचेर खान खोजेको सहकारी सदस्यहरुले बताएका छन् ।