पूर्वसचिव श्रेष्ठको निधनले कालीगण्डकीवेशी शोकमा, शुक्रबार बजार बन्द
प्रकाशित २०७६ पुष ११ शुक्रबार
395
Shares
पाल्पा । नेपाल सरकारका पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधनले कालीगण्डकीवेशी शोकमा डुबेको छ । कालीगण्डकीवेशीका विकासप्रेमी तथा कालीगण्डकी विकास अभियानका अभियान्ता ५६ वर्षीय श्रेष्ठको बिहीबार बिहान निधन भएपछि त्यहाँका नागरिक शोकमा छन् ।
निमोनिया रोगको उपचारका क्रममा बिहान ५ वजे त्रिबि शिक्षण अस्पताल महाराजगञ्जमा श्रेष्ठको निधन भएको थियो । श्रेष्ठलाई एक्कासी स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।
निमोनिया भएपछि श्रेष्ठलाई मंगलवार त्रिवि शिक्षण अस्पतालमा भेण्टिलेटरमा राखेर उपचार गरिएको पारिवारले जनाएको छ । पूर्वसचिव श्रेष्ठको निधनले कालीगण्डकीवेशीकै विकासप्रेमी जुझारु व्यक्ति गुमाउन पुगेको छ।
पूर्वसचिव श्रेष्ठको निधनको खबरले विकासको एउटा मेरुदण्ड नै भाँचिएको अनुभुति यहाँका जनतालाई भएको छ । पूर्वी पाल्पाको शिक्षा, स्वास्थ्य, विकास निर्माण, खानेपानी लगायतका विभिन्न क्षेत्रमा उनको योगदान रहेको छ ।
स्थानिय, शहरी बिकास, शिक्षा र स्वाथ्य मन्त्रालयमा सचिव रहँदा रामपुर, चापाकोटलाई नगरपालिका घोषणा गराउन, मुख्य बजार पिच गराउन, रामपुरमा ५० शैयाको बेड बनाउनदेखि रामपुर, चापाकोट, घिरिङ्ग क्षेत्रमा प्राविधिक शिक्षा ल्याउनमा श्रेष्ठले मुख्य भुमिका खेलेको स्थानीय सम्झन्छन् ।
जागिरबाट अवकाश लिएपछि पाल्पा रामपुर नगरपालिकामा रहेर श्रेष्ठले कालीगण्डकी विकास अभियानमा लागेका थिए ।
आमा बच्ची श्रेष्ठ र बुबा खिमबहादुर श्रेष्ठका जेठो सन्तानका रुपमा विसं २०२० साल जेठ ६ गते तनहुँको घिरिङ्ग गजरकोटमा जन्मिएका श्रेष्ठ विसं २०७४ मा नेपाल सरकारको सचिव पदबाट अवकाश लिएपछि पाल्पाको रामपुरलाई कर्मथलो बनाएर विभिन्न क्षेत्रमा काम गरेका थिए ।
श्रेष्ठका श्रीमती, तीन छोरी र एक छोरा छन् । श्रेष्ठको पशुपति आर्यघाटमा बिहीबार नै दाह संस्कार गरिएको छ ।
विसं २०३७ सालमा खरिदारबाट निजामती सेवामा प्रवेश गरेका श्रेष्ठले स्वास्थ्य सचिव, स्थानीय विकास सचिव र शिक्षा सचिवको रुपमा काम गरेका थिए । यसअघि मुख्य सचिवको दाबेदार समेत रहेका श्रेष्ठ उमेर हदका कारण मुख्य सचिवमा प्रतिष्पर्धा गर्न पाएका थिएनन् ।
कालीगण्डकीवेशीका पाल्पाको रामपुर, स्याङ्जाको चापाकोट, तनहुँको घिरिङ, नवलपुर लगायतका क्षेत्रमा विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता क्षेत्रमा उनकै पहलमा धेरै संरचना निर्माण भएका छन् ।
उनको निधनप्रति शुभेच्छुकहरुले सामाजिक संजालमार्फत दुख व्यक्त गर्दै समवेदना दिइरहेका छन् । रामपुर नगरपालिकाका सल्लाहकार समेत रहेका श्रेष्ठको निधनमा नगरपालिकाले शोक विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेको छ ।
रामपुर उद्योग वाणिज्य संघका सल्लाहकार उनको निधनको शोकमा शुक्रवार बजार बन्द गरिने निर्णय भएको छ ।