काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई एकपछि अर्को हैसियतविहीन पार्ने काम सत्तारुढ दल नेकपाबाट भइरहेको छ ।
कतिपय द्विपक्षीय भेट र महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलनमा प्रहरी प्रमुखको हैसियतमा जान रोकिएका प्रहरी महानिरीक्षक (आइजीपी) ले गरेका निर्णयसमेत उल्टयाउँदै खनाललाई सत्तारुढ दलबाटै निरीह बनाउने काम भएको हो। हालै खनालले गरेको सरुवा नेकपाका अध्यक्ष पुष्पमकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा बदर गरिएको छ ।
प्रहरी प्रधान कार्यालयबाट पुस ४ मा २४ एसपीको सरुवा गरिएकोमा चितवनमा गंगा पन्तलाई पठाइएको थियो । तर पन्तको सरुवा रद्द भएको छ । र, चितवनमा प्रचण्डका पूर्वबडीगार्ड दानबहादुर मल्लकै थमौती भएको छ ।
आइजीपीले अवकाश हुने बेलामा आफ्ना निकट एसपीलाई एकाध जिल्लामा सरुवा गर्नु सामान्य हो । त्यही अनुसार पन्तको सरुवा भएको थियो । तर पन्तको सरुवा नै कार्यान्वयन नहुने भएको छ ।
एसपी मल्ल चितवनमा अवैध असुलीको आरोपका कारण बदनाम छन् । उनले असुलीका लागि बिचौलिया विजय विकलाई नै परिचालन गरेको आरोप लाग्दै आएको छ ।
उनले चितवनका प्रहरी चौकीमा दररेट अनुसार रकम तोकेर जुनियर अधिकृत खटाउने गरेको आरोप छ ।
दररेट अनुसार रकम नदिने चौकी इन्चार्जलाई उनले एक महिनामै फेरबदल गर्दैआएका छन् । अवकाश अवधि चाँडै भएकाले उनी जतिसक्दो कमाउने धुनमा लागेको जुनियर प्रहरी अधिकारीहरु बताउँछन् ।
मल्लले प्रचण्डलाई नै हारगुहार गरी सरुवा थमौती गराएका छन् । प्रहरी प्रधान कार्यालयदेखि विभिन्न गृहमन्त्रालयमा पनि उनका असुलीका बिरुद्ध उजुरी र गुनासा पुगेपछि उनको सरुवा भएको थियो ।
तर प्रचण्डकी छोरी भरतपुरकी मेयर रेनु दाहालमार्फत् सात महिनामै सरुवा गरेर आइजीपी खनालले अपमान गरेको भनेपछि उनको सरुवा रोकिएको छ ।
यता प्रहरीभित्र भने एसपीको सरुवासमेत कार्यान्वयन गर्न नसक्ने गरी आइजीपीलाई निरीह बनाएको टिप्पणी हुन थालेको छ।
प्रचण्डलाई भेटिसकेपछि चितवनका एसपी मल्ल अब दुई महिना आफूलाई कसैले केही गर्न नसक्ने भन्न थालिसकेका छन् ।
चितवन सरुवा भएकी पन्तले कुनैबेला प्रचण्डका बारेमा लेखेको एक कमेन्टलाई लिएर पनि उनलाई विवादमा ल्याउन खोजिएको छ ।