arrow

'प्रधानमन्त्रीको नीति प्रति गम्भीर आशंका पैदा'

नेपाल ट्रष्टको जग्गा भाडा प्रकरणमा विवेकशील दलको धारणा

logo
प्रकाशित २०७६ पुष ११ शुक्रबार
kp-oli5.jpg

काठमाडौं ।  नेपाल ट्रष्टको जग्गा भाडामा दिने क्रममा अनियमितता तथा भ्रष्टाचार भएको समाचारहरू प्रति विवेकशील नेपाली दलले ध्यानाकर्षण जनाएको छ ।

दलले शुक्रबार विज्ञप्ति जारी गर्दै  पूर्व राजा वीरेन्द्र तथा उनको परिवारको सम्पति राष्ट्रियकरण गरी बनेको नेपाल ट्रष्टको जग्गा भाडामा दिने क्रममा अनियमितता तथा भ्रष्टाचार भएको भन्ने विषयमा आम सञ्चार माध्यममा आएका समाचारहरू प्रति ध्यानाकर्षण जनाएको हो।

'ट्रष्टको स्वामित्वमा रहेको गोकर्ण रिसोर्टको करिब २,९०० रोपनी जग्गा अघिल्लो लिज अवधि सकिन ५ वर्ष ८ महिना बाँकी हुँदै विना प्रतिस्पर्धा पुन: यति होल्डिङ्स प्रालिलाई २५ वर्षको लागि मासिक प्रति रोपनी रू. ५६४ मा भाडामा दिनुले गम्भीर भ्रष्टाचारतर्फ नै संकेत गर्दछ। सुरूको लिजको अवधि सकिएपछि त्यहाँ निर्माण गरिएका सम्पूर्ण सम्पति जग्गाधनीकै हुने कानूनी व्यवस्था हुँदा हुँदै त्यसलाई वेवास्ता गरी जग्गामा निर्माण गरिएका संरचनाहरूलाई सामान्य जग्गा लिजमा दिएको जस्तो गर्नुले नियमानुसार निर्णय गरेको तर्फ संकेत गर्दैन, ' विज्ञप्तिमा उल्लेख छ ।

यसका साथै काठमाडौँको दरबारमार्ग स्थित ट्रष्टको जग्गामा भवन बनाई लिजमा उपयोग गर्न थामसेर्कु डेभलपर्सलाई जम्मा १ अर्ब ४० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको भेटिएको छ जसबाट ट्रष्टलाई ५ अर्ब ५७ करोड रुपैयाँ नोक्सानी हुने देखिन्छ भनी महालेखा परीक्षकको प्रतिवेदन, २०७४ मा उल्लेख गरिएको छ ।

हालै नेपाल ट्रष्ट ऐन, २०६४ मा आफू अनुकूलका संशोधन गरी यस किसिमका निर्णयहरु गरिएको समेत देखिन्छ जसले नीतिगत भ्रष्टाचारतर्फ स्पष्ट संकेत गर्दछ।

विवेकशील नेपाली दलकी उपाध्यक्ष अजीता राईले विज्ञप्तिमा भनेकी छन्,' एउटै समूहका व्यक्तिहरू संलग्न कम्पनीहरूलाई नेपाल ट्रष्टको जग्गा विना प्रतिस्पर्धा निक्कै कम भाडा दरमा लिजमा दिने निर्णयले प्रधानमन्त्रीको भ्रष्टाचार प्रति शून्य सहनशीलताको नीति प्रति गम्भीर आशंका पैदा गरेको छ। यसर्थ, यी विषयमा यथाशीघ्र स्पष्टीकरण दिन तथा हालसम्म भएका सम्झौताहरू नियम तथा महालेखा परीक्षकको प्रतिबेदनमा उल्लेख भए बमोजिम हुने गरी व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग विवेकशील नेपाली दल जोडदार माग गर्दछ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ