प्रचण्डको अघि सबै चुप, प्रदेश ३ को राजधानी हेटौँडामा बनाउन दिए निर्देशन
नेकपाकै बहुसंख्यक सांसद रुष्ट, निर्देशन टार्न सक्ने हैसियत भने कमै
प्रकाशित २०७६ पुष १३ आइतबार
543
Shares
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश ३ को नाम ‘वाग्मती’ राख्न र राजधानी ‘हेटौंडा’ बनाउन निर्णय गरेको छ। नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दवावमा सचिवालयको बैठकले सो निर्णय गरेको एक सचिवालय सदस्यले बताए ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम ‘वाग्मती’ राख्न र राजधानी ‘हेटौंडा’ बनाउन प्रस्ताव अध्यक्ष प्रचण्डले विना योजना नै निर्णय गराएको सचिवालय सदस्यले हाम्रा कुरालाई जानकारी दिए ।
नेकपा अध्यक्ष प्रचण्डको प्रस्ताव अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मौन समर्थन गरेका थिए। अर्का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठसँग प्रचण्डले यस बिषयमा पहिला नै छलफल गरिसकेका थिए। आफू विवादमा आउन सक्ने भन्दै श्रेष्ठ शनिवार गोरखाको स्थानिय कार्यक्रममा सहभागी गएका थिए ।
बैठककमा अध्यक्ष प्रचण्डले पटक पटक राजधानी नसर्ने भनेर हेटौंडाका जनतालाई भनेको र अन्त सार्दा आफू अफ्ठयारो पर्ने भएकोले यसलाई जसरी पनि पास गर्न आग्रह गरेका थिए । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई समेत प्रचण्डले हेटौंडाबाट अन्त कतै राजधानी नहुने भन्दै ढुक्कु हुन भनेका थिए । सचिवालयको वैठकबाट राजधानी र नामको बारेमा निर्देशन दिइएपछि नेकपा नेताहरुवाटै यसको विरोध भएको छ।
के छ कानुनी ब्यवस्था ?
उता विजनेश नपाएर अहिलेसम्म प्रदेश संसद सुरु भएको छैन । प्रदेशको नाम र राजधानी संविधानको धारा २८८ को २ अनुसार ‘यस संविधान बमोजिमका प्रदेशको राजधानी सम्बन्धित प्रदेश सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट निर्णय भए बमोजिम हुनेछ ।’
प्रष्ट व्यबस्था हुँदाहुँदै नेकपा कम्युनिस्ट पार्टी नेकपाको सचिवालय हस्तक्षेप गरेकोमा प्रदेश नं ३ को बहुसंख्यक जनता यसको विरोधमा छन्। यस बिषयमा जनप्रतिनिधीहरुको औपचारिक रायसमेत नलिइएको नेकपाकै सांसदहरू बताउँछन् ।
प्रदेशका बहुसंख्यक जनताहरुलाई पायक पर्ने ठाउंहरु छाडेर अमूक व्यक्तिको चाहना पुरा गर्न प्रदेश राजधानीको घोषणा गर्नु अव्यबहारिक र असंगत निर्णय भएको उनीहरुको आरोप छ। नेकपाकै बहुसंख्यक सांसद रुष्ट भएपनि सचिवालयको निर्देशन टार्न सक्ने हैसियत भने कमै सांसदसँग रहेकोले प्रदेश नामावली र राजधानी सर्ने सम्भावना कम छ । प्रदेशमा नेकपाको प्रष्ट बहुमत छ।
जुटेन सभामुखमा सहमति
मुख्य मुद्वामा छलफल गरेर निर्णय गर्ने भनेर बोलाएपनि समय अभावका कारण एक घण्टा मात्रै बसेर सकिएको बैठकमा सभामुख चयन तथा राष्ट्रियसभा निर्वाचनबारे भने सामान्य छलफल मात्रै भएको हो। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ र अर्का अध्यक्ष प्रचण्डले अग्नी सापकोटालाई सभामुख बनाउने आफ्ना आफ्नै दाउमा छन् ।
अन्य सचिवालय सदस्यले यस विषयलाई हल गर्न उपसभामुखलाई सभामुख बनाउँदा विवाद नहुने भनेर छलफल गरेपनि वैठक विना निष्कर्ष स्थगित भएको हो । यस विषयमा संसदको वैठक बस्नु अघिको सचिवालय बैठकले निर्णय गर्ने बताइएको छ।