एकपछि अर्को कम्पनी कालोसूचीमा पर्दा पनि सुरक्षा निकायलाई मिश्र नै प्यारो
प्रकाशित २०७६ पुष १५ मंगलबार
739
Shares
काठमाडौं । नेपाल प्रहरीमा सामान आपूर्ति गर्ने ठेकेदार राजमान मिश्रको जेएमबीडी इन्टरनेशनललाई नेपाल प्रहरीले कालोसूचीमा राख्न सिफारिस गरेको छ ।
प्रहरी प्रधान कार्यालयको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले मिश्रको कम्पनीलाई सोमबारबाट लागू हुनेगरी एक बर्षका लागि कालोसूचीमा राखेको छ ।
नेपाल प्रहरीको ऊलन पाइन्ट गुणस्तरहीन आपूर्ति गरेपछि अस्वीकृत भयो । गुणस्तरअनुसारको आपूर्ति समयमा गर्न नसकेपछि उनको कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको थियो ।
जेएमबीडी कालोसूचीमा परेपछि यो कम्पनीलेट सशस्त्र प्रहरी बलमा ठेक्का पाएको ५ हजार पीस म्याट्रेसको ठेक्का पनि गुमेको छ ।
सम्झौताका लागि सशस्त्रले बोलाइसकेको अवस्थामा मिश्रको कम्पनी कालोसूचीमा परेको छ । कालोसूचीमा परेपछि अब सशस्त्रले सम्झौता गर्न मिल्दैन ।
सेनाको चुस्ता र म्याट्रेसको ठेक्का उनकै कम्पनीले पाएको थियो । कालोसूचीमा परेपछि यी ठेक्का पनि अब जेएमबीडीले गुमाउन पुगेको छ ।
यसैगरी सशस्त्र प्रहरी बलको लागि एपीसीको ठेक्का लिएर बुझाउन नसकेपछि ३ बर्षअघि मिश्रको जय हनुमान इन्टरप्राइजेज कालोसूचीमा परेको थियो ।
त्यसपछि अर्काे कम्पनी जेएमबी इन्टरनेशनलले सेनाको गोर्खा ह्याट बुझाउन नसकेपछि कालोसूचीमा परिसकेको छ ।
सेनाले जेएमबी इन्टरनेशनललाई कालोसूचीमा राखेपछि जेएमबीडी खोली सुरक्षा निकायमा सामान आपूर्ति गर्दै आएका थिए । उनका लगातार तीन वटा कम्पनी कालोसूचीमा परेका छन् । अब उनले नयाँ कम्पनी खोले पनि ठेक्का दिने बेलामा सुरक्षा निकायले सोच्नुपर्ने बेला भएको छ ।
सुरक्षा निकायको लागि समान आपूर्ती गर्ने जिम्मेवारी लिएर पनि पुरा गर्न नसके पनि उनको अलग अलग कम्पनीलाई सुरक्षा निकायको ठेक्का परेको विषय भने अनौठो नै मानिएको छ।
मिश्रको कम्पनीहरुप्रति सुरक्षा निकायले देखाउने गरेको उदारता बुझ्न नसकेपनि प्रतिबद्धता अनुसारको कामै दिन नसकेपछि मात्रै कालोसूचीमा राखेको घटनाक्रमले देखाउने गरेको छ।
यसैगरी सशस्त्र प्रहरी बलको सिफारिसमा मीननाथ न्यौपानेको हुल ट्रेडर्स कालिकास्थानलाई कालोसूचीमा परेको छ ।
नागरिक उड्डयन प्राधिकरणको सिफारिसमा प्रेमकुमार भट्टराईको डमरु कन्ष्ट्रक्सन प्रालिलाई कालोसूचीमा राखेको छ ।