arrow

उखु कृषकको आन्दोलनमा विवेकशील नेपालीको ऐक्यवद्धता

logo
प्रकाशित २०७६ पुष १५ मंगलबार
bibekshil4.jpg

काठमाडौं । चिनी मिलबाट ६ वर्षदेखिको उखुको पैसा नपाएर अर्को बाली लगाउन समेत चरम आर्थिक सङ्कट भोगिरहेका श्रमजीवी उखु कृषकहरूको आन्दोलन प्रति विवेकशील नेपाली दलले ध्यानाकर्षण जनाएको छ। मंगलबार विवेकशील नेपाली दलकी उपाध्यक्ष अजीता राईले विज्ञप्ति जारी गर्दै कृषि विकासलाई आत्मनिर्भर नेपालको आधार मानेको  श्रमजीवी उखु कृषकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएकी छन् ।

'आधुनिक व्यावसायिक कृषिको मिठा नारा दशकौँदेखि सुनिए पनि तराई-मधेसका उखु कृषकहरूको पीडाको अन्त्य आजसम्म भएको छैन। हरेक वर्ष उखु किसानहरूले उखुको मूल्यको विषयमा सङ्घर्ष गरिरहेको कुरा सर्वविदितै  छ। उत्पादन लागतको तुलनामा निक्कै सस्तो दरमा चिनी मिलहरूलाई उखु बेच्नु पर्दाको पीडा त छँदै छ, वर्षौँसम्म चिनी मिलले उखुको बक्यौता मूल्य नदिए पछि कृषकहरू निक्कै मर्कामा परेका छन्। सरकारले नेपाली चिनी मिलहरूको हितलाई ध्यानमा राखेर भारतीय चिनीको आयातमा कडाइ गरे पनि नेपाली चिनी मिलहरूले एकातिर श्रमजीवी कृषकहरूको शोषण गरी नै रहेका छन् भने अर्कोतिर चाडबाडको बेलामा चिनीको मूल्य बढाएर आम-उपभोक्ताहरूलाई सास्ती दिएकै हुन्' विज्ञप्तिमा उल्लेख छ ।

'चिनी मिलहरूको यस किसिमको लुटतन्त्रको अन्त्य गर्न नेपाल सरकार किन असक्षम भइरहेको छ? दशकौँदेखि नगदे बालीको रूपमा उखु खेती गरिरहेका कृषकहरूको पीडामा मलहम लगाउन नसकेसम्म नयाँ पुस्तालाई कसरी व्यावसायिक कृषितर्फ आकर्षित गर्न सकिएला? कृषिप्रधान देश भन्ने अनि कृषकका यस्ता पिडा सम्बोधन नगर्ने हो भने कसरी कस्तो संवृद्धि आउला ?'

उखु कृषकहरूको सम्पूर्ण बक्यौता रकम तत्काल चुक्ता गरी उखु किसानहरूलाई राहत दिने वातावरण बनाउन तथा उखु कृषक र चिनी मिलको वर्षौँदेखिको द्वन्द्वको स्थायी निवारण गर्न यथोचित कदम चाल्न नेपाल सरकारका सम्बद्ध निकाय, निजी क्षेत्रका छाता सङ्गठनहरू तथा चिनी उद्योगीहरूसँग विवेकशील नेपाली जोडदार माग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ