अधिकतम तापक्रममा गिरावट, वर्षा र हिमपातलाई स्वागत, बचौं चिसोबाट
प्रकाशित २०७६ पुष १६ बुधबार
634
Shares
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मौसम बदलीसंगै वर्षा र हिमपातको संभावना रहेकाले चिसो बढेको बताएको छ ।
वर्षा र हिमपातले चिसो रही रहने हुनाले चिसोको असरका साथै अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।
हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव देखिएको छ। वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार बुधबार बिहानको मौसम बदलीको अवस्थामा रहेको छ ।
पूर्वमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । काठमाडौंदेखि पश्चिममा न्यून बदलीको अवस्था रहेको छ ।
पश्चिमी न्यून चापिय प्रणाली सक्रिय रहेको छ । केही समयमात्र घाम लागे पनि अधिकांश समय बादल नै लाग्नेछ ।
बुधबार तराई क्षेत्र सहित केही भेगमा बर्षा हुनेछ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुनेछ ।
अधिकतम तापक्रम बुधबार घट्ने छ । न्यूनतम तापक्रममा भने असर पर्ने छैन ।
तराईका भेगमा बदलीका कारण हुस्सु कुहिरो हटेको छ । छोटो समयका लागि लाग्न सक्छ ।
मौसममा बदली आउने हुनाले बादलको असर भने फ्लाइटहरुमा पार्न सक्ने देखिन्छ । यात्रा गर्नेहरुले पनि हिमपात र वर्षाको असर खेप्न सक्छन् । अधिकतम तापक्रम घट्ने हुनाले समस्या हुन्छ ।
केही दिन चिसो झनै बढेर जानेछ । काठमाडौंमा बिहान ३ डिग्री सेल्सियस तापक्रम रहेको थियो । मंगलबार भने १.५ डिग्री सेल्सियस रहेको थियो । अधिकतम तापक्रम १७.४ डिग्री भए पनि बुधबार घट्ने छ ।