गुटको राजनीति त्यागेर सिंगो पार्टीको सभापति बन्न देउवालाई कोइरालाको आग्रह
राष्ट्रियता र प्रजातन्त्रको अवस्था वीपी कोइराला मेलमिलापको नीति लिएर नेपाल फर्कदा जस्तो
प्रकाशित २०७६ पुष १६ बुधबार
533
Shares
मोरंग । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई सहमतीबाट महाधिवेशनको कार्यतालिका बनाउन र गुटको राजनीति त्यागेर सिंगो पार्टीको सभापति बन्न आग्रह गरेका छन।
कोइरालाले बहुमतको आधारमा महाधिवेशनको मिती तोकिनु दुर्भाग्य भएको भन्दै कांग्रेस पार्टीको ईतिहासमा यस्तो कहिल्यै नभएको बताए। कोइरालाले शेरबहादुर देउवा सिंगो पार्टीको नभई गुटको सभापति बनेकाले समस्या आएको बताए । उनले सभापतिकै कारण भातृ एवं शुभेच्छुक संगठनहरु लथालिंग भएको बताए।
उनले सभापति देउवाले नैतिक बल गुमाईसकेकाले वाईडबडी र यति होल्डिङ्स जस्ता जघन्य भ्रष्ट्राचारका मुद्दामा प्रतिपक्षको हैसियतले आवाज उठाउॅन नसकेको बताए। कोइरालाले आफु पार्टी मजबुत बनाउॅने अभियानमा लागेकाले कसैसॅग आग्रह र पुर्वाग्रह नराखेको स्पष्ट पारे।
४४औं राष्ट्रिय मेलमिलापको अवसरमा नेपाली कांग्रेस मोरंगले बयरबनमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै कोइरालाले कम्युनिष्टहरुको उग्रराष्ट्रवादले मुलूकको राष्ट्रियता कमजोर बनेको बताए।उनले कांग्रेसलाई अती राष्ट्रबाद र उग्रराष्ट्रबाद स्विकार्य नहुने प्रष्ट पारे।
"२०३३ सालमा वीपी कोइराला मेलमिलापको नीति लिएर नेपाल फर्कदा जस्तो अवस्था थियो अहिले पनि राष्ट्रियता र प्रजातन्त्रको अवस्था उस्तै छ।" कोइरालाले भने-"त्यतिवेला राजा राष्ट्रियताका प्रतिक थिए त्यसैले वीपीले राष्ट्रियताको सवालमा मेरो र राजाको घाटी जोडिएको छ भन्नुएको थियो। र प्रजातन्त्रको सवालमा जनतासॅग छु भन्नुभयो। प्रजातन्त्रको सवालमा जिवन भर राजासँग लडिरहनुभयो तर सम्झौता गर्नुभएन।"
बर्तमान सरकारले "नियन्त्रित प्रजातन्त्र" मार्फत मुलुकलाई एकदलिय ब्यवस्थामा लैजान लागी परेको उनको आरोप थियो।यो सरकारले प्रतिपक्षलाई दबाउॅने, कर्मचारीलाई समायोजनका नाममा तर्साउॅने,अध्यादेश मार्फत नागरिक र प्रेसका संबैधानिक हक-अधिकार खोस्ने, न्यायलय कब्जा गर्ने,सुरक्षा अंगमाथी नियन्त्रण राख्ने जस्ता सर्बसत्तावादी चरित्र देखाएकाले प्रजातन्त्रमाथी खत्तरा बढेको बताए।आफुले सरकार खोजिरहेको र कतै सरकार नभेटेको बताउॅदै डा कोइरालाले अराजकता,भ्रष्टाचार र दण्डहिनतामा मात्रै सरकार भेटिएको बताए।
पछिल्ला दिनमा बढेको राष्ट्रपतिको सक्रियताप्रती आलोचना गर्दै कोइरालाले भने-"संबैधानिक राष्ट्रपतिले पदिय मर्यादा र गरिमा भुलेर दलिय कार्यकर्ताले जस्तो सक्रिय भुमिका देखाउन थालेकाले बिभिन्न शंका उपशंका सिर्जना गरेको छ।"
सरकारले यति होल्डिङ्स लगायत केही सिमित ब्यावसायीहरुलाई पक्षपोषण गरेर राष्ट्रिय सम्पतीमाथी अतिक्रमण गरिरहेको आरोप कोइरालाले लगाए।
कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले बिधान मिचेर जथाभावी गर्न सभापतिलाई छुट नभएको बताए।