मोदीले घोषणा गरेको एक अर्बका लागि प्रस्ताव पठाउन आग्रह
पटेलको जनकपुरधाम आगमनले प्रदेश नम्बर दुईको पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास
निरंजन कुमार साह,
प्रकाशित २०७६ पुष १७ बिहिबार
249
Shares
जनकपुरधाम। छिमेकी मुलुक भारतका केन्द्रीय संस्क़ृति तथा पर्यटनमन्त्री प्रह्लादसिंह पटेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाममा घोषणा गरेको एक अर्ब रुपैयाँ सहयोगको लागि नेपाल सरकारलाई लिखित प्रस्ताव पठाउन आग्रह गरेका छन् ।
जानकी मन्दिर दर्शन पश्चात मन्त्री पटेलले नेपाल र भारतको रामायणकालीन धार्मिक र साँस्कृतिक सम्बन्ध रहेको जिकिर गरे । भारतीय मन्त्री पटेलले काठमाण्डौमा एक अर्ब सहयोग रकमबारे आफुले पर्यटनमन्त्री योगेश भट्टराईसँग समेत कुरा गरेको भन्दै नेपाल सरकारले जति छिटो प्रोपोजल पठाउन सक्छ त्यतीनै छिटो काम अघि बढ्ने आश्वासन दिए ।
जानकी मन्दिर दर्शनपछि स्थानीय पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै पटेलले भने-‘म मेरो परिवारका साथ जनकपुरको पावन भूमिमा आएर माता जानकीको दर्शन गरे मलाई धेरै खुशी लागेको छ ।'
प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले नेपाल र भारतको सम्बन्ध बिशिष्ट रहेको बताए। छिमेकी मुलुक भारतका पर्यटन राज्यमन्त्री प्रह्लाद सिंह पटेललाई स्वागत गर्दै मुख्यमन्त्री राउतले विश्वमा कुनै दुई देशबीच नरहेको सम्बन्ध नेपाल र भारतबीच रहेका बताए। नेपालका अभिभावकले छोराछोरीको विहे गर्न भारतमा केटाकेटी खोज्न जाने गरेको र भारतका अभिभावकले नेपालमा खोज्न आउने गरेकोले दुवै देशबीचको सम्बन्ध बिशिष्ट रहेको मुख्यमन्त्री राउतले बताए । यस्तो सम्बन्धले दुई देशको आत्मियतालाई उजागर गरेको मुख्यमन्त्री राउतको तर्क थियो ।
मुख्यमन्त्री राउतले पर्यटन राज्यमन्त्री पटेलको जनकपुरधाम आगमनले प्रदेश नम्बर दुईको पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास व्यक्त गरे। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम आगमनले पर्यटकको संख्यामा वृद्धी भएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले पर्यटन राज्यमन्त्रीको आगमनले थप पर्यटक आउने बताए ।
भारतीय पर्यटन राज्यमन्त्री पटेलले भारतले नेपालको विकास हेर्न चाहेको भन्दै पर्यटन क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रदेश सरकारले गरेको स्वागत, सत्कारको प्रशंसा गर्दै भारतीय पर्यटन राज्यमन्त्री पटेलले जनकपुरधाममा जानकी मन्दिरको दर्शन गर्नको लागि परिवारलाई बोलाएको बताए।पोखरा, लुम्बिनी जाने विकल्प रहेपनि आफुले भगवान रामको ससुराली जनकपुरधाम जाने इच्छा जाहेर गरेका थिए।
सो अवसरमा मुख्यमन्त्री राउतले भारतीय पर्यटन राज्यमन्त्री पटेललाई जानकी मन्दिरको तस्वीर र दोसल्ला ओढाएर स्वागत गरे। प्रदेश नम्बर दुईका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय, राज्यमन्त्री सुरेश मण्डल, प्रदेश २ का प्रमुख सचिव रामकृष्ण सुवेदीले समेत भारतीय राज्यमन्त्री पटेललाई स्वागत गरे।
यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले पटेललाई जनकपुर विमानस्थलमा स्वागत गरेका थिए। जनकपुर विमानस्थलबाट पटेल सिधै राम मन्दिर पुगेर दर्शन पुजा गरेपछि जानकी मन्दिर पैदल हिडेर गएका थिए। परिवारसहित जनकपुर आएका भारतीय राज्यमन्त्री पटेल जानकी मन्दिरमा दर्शन पुजा गरेर होटल पुगेका छन्।