सभापतिज्यू कांग्रेस केन्द्रमा देखिएको विवादले झनै कार्यकर्ताको मनोबल गिरायो
भ्रष्टाचारी र अधिनायकवादी सरकारविरुद्ध सशक्त रुपमा उभिनु पर्ने कांग्रेस विवाद र खिचलोमा रहनु दुर्भाग्यपूर्ण
प्रकाशित २०७६ पुष १८ शुक्रबार
1k
Shares
काठमाडौं । नेपाल महिला संघको केन्द्रीय महासचिव धना खतिवडाले मुलुक संवेदनशील अवस्थामा रहेको बेलामा कांग्रेस भने आन्तरिक विवाद र खिचलोमा रहनु दुर्भाग्यपूर्ण भएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र लेखेकी छन् । आज कांग्रेस केन्द्रमा देखिएको विवादले त झनै तमाम कार्यकर्ता बीचमा मनोबल गिराएको उनले ध्यानाकर्षण पत्रमा लेखेकी छन् ।
उनले सदन र सडकमा कांग्रेस कमजोर हुँदा यसको फाइदा नेकपा सरकारले लिइरहेको बताउदै स्थानीय तहदेखि संघीय सरकारसम्म नेकपा सरकारले लोकतन्त्र माथि टेकेर आम नागरिकलाई आक्रमण गरिरहेको बेला उनीहरुसँग लड्नुपर्ने बेलामा कांग्रेस आफै भित्रको लडाईंले झनै कमजोर भइरहेको अवस्थाको उल्लेख गरेकी छन् ।
महासचिव धना खतिवडाले जारी गरेको ध्यानाकर्षण पत्र
आदरणीय सभापतिज्यू, नेपाली कांग्रेस स्थापनाकालदेखि नै जनताको सर्वोच्चता र नागरिक अधिकारको पक्षमा जहिले पनि लड्दै आएको छ । कांग्रेसले नै देश र जनताको आवश्यकतालाई बुझेको छ र पुरा गर्दै आएको छ । तर मुलुक संवेदनशील अवस्थामा रहेको बेलामा कांग्रेस भने आन्तरिक विवाद र खिचलोमा रहनु दुर्भाग्यपूर्ण छ । सदन र सडक मार्फत भ्रष्टाचारी र अधिनायकवादी सरकार विरुद्ध सशक्त रुपमा उभिनु पर्ने आज नेपाली कांग्रेसको अपरिहार्य आवश्यकता छ ।
सदन र सडकमा कांग्रेस कमजोर हुँदा यसको फाइदा नेकपा सरकारले लिइरहेको छ । स्थानीय तहदेखि संघीय सरकारसम्म नेकपा सरकारले लोकतन्त्र माथि टेकेर आम नागरिकलाई आक्रमण गरिरहेको बेला उनीहरुसँग लड्नुपर्ने बेलामा कांग्रेस आफै भित्रको लडाईंले झनै कमजोर भइरहेको अवस्था छ । आज कांग्रेस केन्द्रमा देखिएको विवादले त झनै तमाम कार्यकर्ता बीचमा मनोबल गिराएको छ ।
पार्टीभित्र बृहत् एकता र सक्रियताले मात्र नेपाली कांग्रेसले बलियो प्रतिस्पर्धाको भूमिका निर्वाह गर्न सक्दछ । त्यसैले पार्टीको १४औं महाधिवेशनका लागि कार्यविधि र कार्यतालिका निर्माण गर्दा पार्टी केन्द्रमा सबैको सहमतिबाट बनाउन आग्रह गर्दछौं ।
पार्टी एवं भातृ तथा शुभेच्छुक संगठनको परिचालन विधान र आम सहमतिका आधारमा गरिनुपर्छ भन्ने हाम्रो सुझाव छ । पार्टीको विधानमै व्यवस्था भएको महिला प्रतिनिधित्व कार्यान्वयन गर्दै महिला संघ लगायत सम्पूर्ण भातृ एवं शुभेच्छुक संस्थाको अधिवेशन तत्कालै गराउन माग गर्दछौं । पार्टीको केन्द्रमा हाल उत्पन्न विवाद बढ्दै गएमा पार्टी संकटग्रस्त भै धरासायी हुने सम्भावना देखिएको छ । त्यसैले अहिले देखिएको सबै समस्या तत्काल समाधान गरी पार्टीलाई एक ढिक्का गराएर महाधिवेशनमा केन्द्रित हुने माहोल सृजना गर्न आग्रह गर्दछौं । सबै निर्णय सहमतिमै गरी अहिले प्रस्तावित भन्दा अगाडि नै महाधिवेशन गर्न अनुरोध छ ।
आदरणीय सभापतिज्यू, हामी सबैका अविभावक तपाइ नै हो । त्यो अविभावकीय जिम्मेवारी पुरा गरी पार्टीलाई नयाँ उर्जाका साथ अगाडि बढाउनु हुने भन्ने विश्वास व्यक्त गर्दछौं।