arrow

मुस्ताङमा हिमपातसँगै सञ्चार तथा यातयात अवरुद्ध

logo
प्रकाशित २०७६ पुष १८ शुक्रबार
manang-snow-fall.jpeg

मुस्ताङ । मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवा प्रभावित भएको हो । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेते, मार्फा, ठिनीलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडकमा हिउँ जमेपछि जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ । जोमसोममा आधा फिटसम्म बाक्लो हिउँ र जोमसोम माथिको गाउँहरुमा एक फिटसम्म बाक्लो हिउँ जमेको छ । मुस्ताङ जिल्लामा सञ्चारसमेत अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए।

चिसो बढेकाले सर्वसाधारण घर बाहिर निस्कन नसकेको मुस्ताङका बासिन्दा सुवास थकालीले बताए । घरभित्रै आगो तापेर बसेका छन् । गाई, भेडा, चौरी, च्याङ्ग्रालगायत घरपालुवा जनावरलाई सुख्खा घाँसपात खुवाएर राखिएको छ । चरनका लागि छाडिएको छैन । पर्यटकीय स्थलहरु पनि सुनसान छन् । भारी हिमपातका कारण हवाई उडान आज नभएको जोमसोम नागरिक उड्डयनका कार्यालय प्रमुख दीपक विकले बताए । पोखरा–जोमसोम हवाई रुटमा दैनिक दुई वटा तारा एयरले उडान भर्ने गरेको थियो ।

सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति न्यून छ । सडक, पुल, भवन, सिँचाइलगायत विकास निर्माणका काम चिसोका कारण प्रभावित बनेको छ । उपल्लो मुस्ताङका बासिन्दाहरु कुरुवालाई घर जिम्मा लगाएर जाडो छल्न कात्तिकमै बेँसीका न्यानो स्थानमा झरेका थिए । वर्षा र हिमपातले कृषकहरुमा भने खुशीयाली छाएको छ । यो वर्ष मुस्ताङमा दोस्रो पटक हिउँ परेको हो । वर्षा भएपछि सिँचाइ हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने थासाङ गाउँपालिका–३ लेतेका कृषक नरसिङ शेरचनले बताए ।

हिउँ पग्लिएर खेतबारीमा हालेको मल भिज्ने र बोट बिरुवा फस्टाउने, उत्पादन बढ्ने कृषकहरु बताउँछन् । स्याउको परागसेचनका लागि माइनस तापक्रमको आवश्यकता पने स्याउ जोनका कार्यालय प्रमुख माधव लम्सालले बताए । स्याउ, जौ, गहुँ, उवा, फापर बाली सप्रने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ