arrow

सरकारबाट बाहिरिए पछि कांग्रेससँग मोर्चावन्दी गर्न खोज्दै समाजवादी

logo
राजु रिमाल,
प्रकाशित २०७६ पुष २० आइतबार
deuba-yadhav.png

काठमाडौं। सरकारबाट बाहिरिए पछि समाजवादी पार्टी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग नजिकिदै गएको छ।सरकार छाडे यता समाजावदी पार्टीका शिर्ष नेताहरुले कांग्रेसका  नेताहरुसँग दुई पटक भेटीसकेका छन्।

एक हप्ताको विचमा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न समाजवादी पार्टीका अध्यक्षद्धय बाबुराम भट्टराई र उपेन्द्र यादव देउवा निवास बुढानिलकण्ठ पुगेका छन्। शुक्रबार साँझ उनीहरु दोश्रो पटक पुगे। शुक्रबारको भेटमा प्रदेश २को हकमा राष्ट्रिय सभाको निर्वाचनमा दुई पार्टीले सहकार्य गर्ने सहमति भएको थियो।  

सरकारको छाडेको एक हप्ता नबित्दै भट्टराई र यादव देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए। पहिलो भेटमा सरकारको निरकुंश कार्यशैलीविरद्ध सशक्त रुपमा प्रतिबाद गर्नकोलागि सहकार्य गर्न कांग्रेसँग प्रस्ताव गरेका थिए। दुवै भेट सकारात्मक भएको समाजवादी पार्टीका नेताहरु बताउछन्।

सरकार छाडेको भोलीपल्टै समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। समाजवादी पार्टीले सरकारको कार्यशैलीको विरुद्ध र पार्टीको संगठन सुदृढिकरण गर्न जनजागरण अभियान सुरु गर्ने घोषणा गरेको छ।

समाजवादी पार्टीका नेताका अनुसार समाजवादी पार्टी सरकारविरुद्ध सशक्त आन्दोलनमा जाने तयारीमा जुटेको छ। यसकोलागि आन्तरिक तयारी र छलफल सुरु भएको पार्टीका नेताहरु बताउछन्। पार्टी स्रोतका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसँग सहकार्य गरेर आन्दोलन गर्न पार्टीका नेताहरुको सोच छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी पार्टीलाई सरकार छाड्न बाध्य बनाए पछि समाजवादी पार्टीका नेताहरु प्रधानमन्त्रीसँग चिढिएका छन्। त्यसैले अब सरकारविरुद्ध आन्दोलन गरी सरकारलाई असफल बनाउने समाजवादी पार्टीको तयारी छ,–स्रोतले भन्यो। समाजवादी सरकारबाट बाहिरिए पछि समाजवादी र नेकपावीच मात्र दुरी बढेको छैन, प्रदेश २ सरकारमा सहकार्य गर्दै आएको राजपासँग पनि समाजवादी पार्टीको दुरी बढ्दै गएको छ।

राजपाका नेताहरुले पनि अहिले समाजवादीसँग छलफल गर्न चाहेका छैनन्। स्रोत भन्छ, समाजवादी पार्टी सरकारबाट बाहिरिए पछि एक पटक पनि समाजवादी पार्टी र राजपावीच वार्ता र छलफल भएको छैन। यहाँसम्म कि दुई पार्टीका नेताहरुबीच टेलीफोनमा समेत कुराकानी भएको छैन।

दुई पार्टीवीच सुरु भएको पार्टी एकीकरण प्रक्रिया पनि अहिले ठप्प भएको छ। राजपाले सरकारमा जाने सहमति जनाए पछि प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी पार्टीलाई सरकारबाट बाहिरिन बाध्य बनाएको समाजवादी पार्टीका नेताहरुको बुझाइ छ। राष्ट्रिय सभाको निर्वाचन पछि  प्रदेश २ सरकार फेरबदल हुने र नेकपा र राजपा मिलेर सरकार बनाउने आसंका समाजवादी पार्टीका नेताहरुले गरेका छन्।

अहिले दुवै पार्टीका नेताहरुले अहिले एक अर्कोलाई आरोप प्रत्यारोप गर्न सुरु गरेका छन्। अब समाजवादी पार्टीले गर्ने आन्दोलनमा राजपाको साथ र सहयोग नहुने समाजवादी पार्टीका नेताहरुको बुझाई छ।‘अब राजपा सरकारमा जाने निश्चित छ। त्यसैले समाजवादी र राजपावीच सहकार्य हुने सम्भावना छैन, समाजवादी पार्टीका केन्द्रीय सदस्य रामप्रसाद रिजाल भन्छन,‘अब समाजवादी पार्टी र राजपावीच पार्टी एकीकरण प्रक्रिया पनि बन्द भएको छ।’

यता, राजपाका नेताहरुले राष्ट्रिय सभाको निर्वाचनमा समाजवादी पार्टीले राजपासँग सहकार्य गर्न नमाने पछि आफूहरुले नेकपासँग सहकार्य गर्न गएको बताएका छन्। राजपाको यस भनाइमा समाजवादी पार्टीका नेताहरुले खण्डन गर्दै आएका छन्। नेकपा र राजपावीच भएको सहकार्यले राष्ट्रिय सभाका समाजवादी पार्टी र नेपाली कांग्रेसको एक-एक सिट गुम्ने भएको छ।

त्यसको फाइदा नेकपाले लिने भएको छ। राजपाको भने सिट यथावथ हुने छ। समाजवादी पार्टीको एक सिट पनि गुमाउने गरी राजपाका नेताहरुले नेकपासँग सहकार्य गर्ने निर्णय गरे पछि समाजवादी पार्टी र राजपावीच झन दुरी बढेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ