arrow

अख्तियारका २१ अधिकारी गुजरातमा भ्रष्टाचार विरुद्ध विशेष कोर्षको प्रशिक्षण लिदै

logo
हाम्रा कुरा
प्रकाशित २०७६ पुष २१ सोमबार
akhtiyar-training-gujrat.gif

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २१ जना अधिकारीको दोस्रो ब्याचले भारतको गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभर्सिटीमा ‘ठगी, घूसखोरी र भ्रष्टाचार निवारण’ विषयमा २०७६ पौष २१ गतेबाट ६ दिने प्रशिक्षण सुरु गरेका छन् ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै २१ जना अधिकारीको पहिलो ब्याचले गुजरात फरेन्सिक साइन्सेस युनिभर्सिटीमा २०७६ मंसीर ३० गतेदेखि पौष ५ गतेसम्म सोही विषयमा प्रशिक्षण लिएका थिए।

प्रशिक्षणमा सहभागि भएका अख्तियारका कर्मचारीहरुले प्रशिक्षण अत्यन्तै राम्रो र फलदायी रहेको बताएका छन्। नयाँ तथा उपयोगी विचारसहित अनुसन्धान कार्यलाई अघि बढाउन सो प्रशिक्षणले आफूहरुलाई सक्षम बनाएको पहिलो ब्याचका अधिकारीहरुले जनाएका छन्। 

नेपाल सरकारको आग्रहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ४२ अधिकारीका लागि विशेष कोर्ष तयार पारिएको भारतीय दुतावासले जनाएको छ।  

नेपालमा भ्रष्टाचारका गतिविधिहरुमा अंकुश लगाउन एवम् सुशासन कायम राख्न यो कोर्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संस्थागत क्षमतालाई सुदृढ पार्ने विश्वास दुतावासका प्रथम सचिव अभिषेक दुवेले जनाएका छन्। 

अख्तियारका अधिकारीहरुको लागि तयार गरेको बिशेष कोर्ष भ्रष्टाचारका कारकहरुको पहिचान, अर्थतन्त्रमा यसको प्रभाव तथा यसको पहिचान र रोकथामका लागि प्रयोग हुने विधिहरुमा केन्द्रीत रहेको बताइएको छ ।

सूचना प्रविधिमा आधारित अनुसन्धानका लागि यो कोर्षले अधिकारीको सीप अभिवृद्धि गर्नुका साथै उनीहरुको विश्लेषणात्मक क्षमतालाई तिखारी नयाँ विधिहरु सिक्नलाई मद्दत गर्ने विश्वास गरिएको छ। यो कोर्षले भ्रष्ट तथा ठगी गर्ने व्यक्तिहरुको पहिचान, निवारण एवम् कानूनी कारवाही गर्न यी अधिकारीलाई सक्षम बनाउने विश्वास अख्तियारका अधिकारीहरुले पनि गरेका छन्।

फरेन्सिक विज्ञान, अपराध अनुसन्धान, सुरक्षा तथा व्यवहार विज्ञान र अपराध विज्ञान क्षेत्रमा फरेन्सिक विज्ञलाई प्रशिक्षण दिनका लागि प्रख्यात गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभर्सिटीमा अधिकारीलाई प्रशिक्षण दिइएको छ । भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग आइटीइसी कार्यक्रम अन्तर्गत रहेको भारतीय दुतावासले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ