arrow

ओलीसंग गले प्रचण्ड

logo
प्रकाशित २०७६ पुष २२ मंगलबार
oli-prachanda-ncp.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीसंग गलेका छन् । 

सभामुख पद जसरी पनि पूर्व माओवादी केन्द्रले पाउनु पर्छ भन्दै पूर्व माओवालीका नेता तथा कार्यकर्ताबाट दवाव आइरहेका बेलामा प्रचण्डले अडानलाई कसिलो पार्न नसकेर उक्त पद ओलीलाई बुझाउने भएका हुन् । 

नेकपा उच्च स्रोतका अनुसार सभामुखमा पूर्व सभामुख एवं नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ आउने लगभग पक्का भएको छ । 

टेन्सन धान्न नसकेर प्रचण्ड कदमवासतिर
प्रचण्डले सोमबार ओलीसंग भेट गरे । त्यो भेटबाट पनि केही पार लागेन । उनले सत्यनिरुपण तथा मेलमिलाप मार्फत आफ्ना मुद्दामा सघाउन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासंग भेटसमेत गरेका थिए । 

त्यो भेटपछि देउवाको सन्देश बोकेर ओली भेट्न प्रधानमन्त्री निवास बालुवाटार छिरेका थिए । देउवाले मिडिया काउन्सिल विधेयक लगायतका कानुन फिर्ता लिनसमेत माग गरिरहँदा त्यही सन्देश लगेका ओलीले सम्भवतः प्रचण्डलाई राम्रो जवाफ दिएनन् भन्ने अनुमान छ।

साथै उनलाई सभामुखमा उत्तम व्यक्ति नै नेम्वाङ भएको भनिदिएपछि उनी आफ्नो तनाव र थकानलाई विश्राम दिन सिन्धुपाल्चोकको कदमवासस्थित रिसोर्ट गएर बसेका छन् । 

उनीसंगै उनकी पत्नी सीता, परिवारका अन्य सदस्य र सबैभन्दा विश्वासी पात्र अग्नि सापकोटा रहेका छन् । 

अग्निलाई नै प्रचण्डले सभामुख बनाउन खोजिरहेका छन् । तर ओली पक्षका नेकपाका नेताहरु भने सापकोटालाई सशस्त्र द्धन्द्धकै मुद्दालाई बल्झाएर नेम्वाङको बाटो सहज बनाउन खोजिरहेका छन् । 

जताबाट पनि अग्निलाई रोक्न खोजिएपछि तनाव मत्थर गर्न प्रचण्ड अग्निसहित कदमवास पुगेका हुन् । 
                
सभामुख चयनमा सकस
सभामुख चयनमा सकस देखिएपछि झण्डै दुई तिहाइको केपी शर्मा ओली नेतृत्वको सरकार अहिलेसम्मकै कमजोर सरकार बन्दै गएको छ ।

स्पष्ट बहुमतसहित सत्ता संचालन गरे पनि आन्तरिक विवादका कारण नेकपाले संघीय संसदलाई अनिर्णयको बन्दी बनाएको आरोपसमेत लाग्दै आएको छ । 

प्रतिनिधिसभामा रिक्त सभामुखमा आफ्नो उम्मेदवार चयन गर्न नसकेपछि नेकपाले संसदलाई बन्दी बनाएको हो ।

असोज १४ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएपछि उक्त पद रिक्त छ । 

नेकपाभित्र एकसे एक सभामुख बन्न लायक सांसदहरु छन् भनी गर्व गर्छ नेकपा । तर गुटबन्दीका कारण उम्मेदवारसमेत चयन गर्न भने सकेको छैन । 

दुई तिहाईको सरकार हुँदासमेत कुनै पनि राम्रा काम गर्न नसकेको ओली सरकारको यही गुटबन्दी र धोकाकै कारण समाजवादी पार्टी सरकारबाट बाहिरियो । 

के भइरहेछ संसदमा ? 
गत पुस ४ गतेदेखि अर्ली हिउँदे अधिवेशन बसेर सभामुख चयन गर्ने बताइयो । 

४ गते राष्ट्रपतिको पत्र पढियो । दिवंगत पूर्व सांसदहरुको सम्झनामा शोक पारित गरियो । अनि एकैपटक ११ गतेका लागि संसद डाकियो । 

त्यो बैठक बस्दै नबसी १६ गतेसम्मका लागि स्थगित गरियो। 

फेरि पनि संसद बसेन । सूचना टाँसेरै पुस २७ गतेसम्मका लागि स्थगित गरियो । प्रतिनिधिसभाको बैठक दुईपटक सूचना टाँस गरेर स्थगित भइसकेको छ ।

२७ गते पनि यसै हुन्छ भन्ने छैन । तर अब भने समय नसार्ने भन्दै आन्तरिक समझदारीलाई तीव्र पारिएको छ । 

त्यो समयभित्रै समस्या समाधान नगर्ने हो भने आलोचित भइन्छ भन्ने पनि नेकपालाई परेको छ ।             

विवाद के हो ?
विवाद अरु कसैले गरेको हैन । विवाद नेकपाभित्रको हो । स्पष्ट बहुमत भएपछि जो उम्मेदवार बन्छ ऊ भावी सभामुख हो । 

तर सभामुख कसलाई बनाउने भन्नेमा नेकपाभित्र तीव्र विवाद छ । सभामुखको उम्मेदवार चयनका लागि पार्टीका दुई अध्यक्षहरुबीच खिचातानी छ । ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पटक–पटक छलफल भएको छ । तर सहमतिमा पुग्न सकेका छैनन् । 

ओलीको इच्छा पूर्वसभामुख एवं नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउने भन्नेमा छ। 

तर प्रचण्डलाई भने अग्नि सापकोटालाई नै सभामुख बनाउने भन्ने नै छ । 

दुई जनाको बीचमा छिरेकी छिन् राष्ट्रपति विद्यादेवी भण्डारी पनि। भण्डारी वर्तमान उपसभामुख शिवमाया तुम्बाहाङफेलाई नै सभामुख बनाउनुपर्ने पक्षमा छिन् ।

तुम्बाहाङ्फेले सभामुख बन्नका लागि उपसभामुखबाट राजीनामा दिनुपर्छ । उनले अहिलेसम्म राजीनामा दिएकी छैनन् । राजीनामा पनि दिने तर सभामुख बन्न नपाइने भयो भने वर्वाद हुन्छु कि भन्ने पनि उनलाई छ । 

उनलाई ओलीले उपसभामुखबाट राजीनामा दिएर मन्त्री खान आउन भने पनि उनले मानेकी थिइनन् । 

अहिले उनी दोधारमा छिन् । संविधानमा एउटै पार्टीको सभामुख र उपसभामुख बन्न नपाउने भन्ने नियम छ । यसअघि सभामुख र उपसभामुख चयन गरेर मात्र एमाले र माओवादीबीच पार्टी एकता भएर नेकपा बनेको थियो । अब त्यो अवसर छैन । 

 ‘इगो’ भागबण्डाको

सभामुख पद ‘इगो’ को विषय बन्न पुगेको छ । दुई अध्यक्षबीच पटक पटक छलफल भएको छ तर सहमति हुन सकेको छैन । 

प्रचण्ड नेम्वाङप्रति नकारात्मक नभए पनि उनलाई पूर्व माओवादीबाटै माओवादी भित्रको मान्छेलाई उम्मेदवार बनाउनु पर्ने दवाव छ । 

किनकि महरा माओवादीको भागबण्डामा परेको सभामुख पद पाएका थिए । भागबण्डामा प्रधानमन्त्री एमालेलाई, उपसभामुख एमालेलाई, राष्ट्रिय सभाको अध्यक्ष एमालेकै भएपछि सभामुख माओवादीकै भागमा रहेको हो।

त्यो भागबण्डा नछाड्न प्रचण्डलाई माओवादीबाटै दवाव छ। त्यो दवावले अग्नि सापकोटालाई सभामुख बनाउन सक्छ । 

पूर्व माओवादी निकट स्रोतका अनुसार सभामुख पद कुनै पनि हालतमा प्रचण्डले छाड्ने छैनन् । बाहिर जस्तासुकै हल्ला आए पनि सापकोटासमेत ढुक्क छन् । 

तुम्बाहाङफे कुनै पनि बेला फालिन सक्छिन् । नेम्वाङलाई सभामुख बनाउन नसके सापकोटालाई पनि नदिने तर राष्ट्रपतिको मान राख्ने मनस्थितिमा ओली जान पनि सक्छन् । 

पल्ला कता भारी हुन्छ भन्ने हो । नेकपा सचिवालयमा पूर्व एमालेकै पकड भएकाले सचिवालयले छान्नुपर्दा सापकोटा फालिन्छन् । 

माओवादी स्रोतका अनुसार नेम्वाङलाई सभामुख बनाउनका लागि सापकोटाको मुद्दाका विषय उठान गरिएको आरोप पनि छ । 

प्रचण्डलाई घनचक्कर 
प्रचण्डले पार्टीमा कार्यकारी अध्यक्षको भूमिका पाएका छन् । पहिले ओलीले अध्यक्षता गर्दै आएकामा पछिल्लो बैठकमा ओलीको कुर्सी संगसंगै प्रचण्ड पनि पुगेका छन् । उनी दंग छन् । 

त्यो दंग मनले कतै सभामुख जान्छ कि भन्ने पनि छ । त्यसैले पूर्व माओवादीहरु दवाव दिइरहेका छन् प्रचण्डलाई ।

यदि प्रचण्डले सभामुख छाडे भने पार्टीमा पूर्वमाओवादी खेमाबाटै प्रचण्डलाई भविष्यमा घात हुन सक्छ । किनकि उनले अडानलाई छाड्दै आएका छन् । 

यसरी विवाद चर्किदै जाँदा संसदलाई बन्धक बनाउने नेकपाले अरु के एकता गरेर अगाडि बढ्ला खै भन्ने प्रश्न पनि उब्जिएको छ । 

पुस २७ गते एकता दिवसलाई काटेको सरकारले कतै पृथ्वीनारायण शाहको सम्झना गर्दै आपसमा एकता गरी मुलुकलाई सभामुख पो दिने हो कि !    

महिला खोइ त ? 
प्रदेश १ र प्रदेश ३ महिला मन्त्री छँदै छैनन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै गलाएर सुवास नेम्वाङको विकल्प बिमला तुम्बाहाङ्फे हुन नसक्ने सहमति गरिसकिएको छ । 

महिलाको सहभागीता नेकपाभित्र नै नरहेको भन्दै आलोचना भइरहेको छ । पोलिटब्यूरो सदस्य अष्टलक्ष्मी शाक्यले महिला सहभागीतामा जोड दिँदै आए पनि उनी आफै समेत पनि प्रदेश ३ को मुख्य मन्त्री बन्न पाइनन् । 

राष्ट्रपति भण्डारी नै शाक्यलाई मुख्यमन्त्री दिन नहुने लबिङमा थिइन् । एक महिलाले अर्को महिलालाई रोक्यो भन्ने आरोप यद्यपि छ । 

तुम्बाहाङ्फेलाई जसरी पनि सभामुख बनाउनु पर्छ भन्नेमा युरोपियन युनियनको खेमा पनि लागेको बताइन्छ । 

तुम्बाहाङ्फेले धर्म परिवर्तन गरी क्रिष्टियन धर्म अपनाइसकेको बताइन्छ । यसैले पनि युरोपियन युनियन उनैलाई सभामुख भएको हेर्न चाहन्छ । 

नारायणकाजी अर्थमन्त्री ? 
नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभाको सांसद बनाउने भएपछि उनलई अर्थमन्त्रीकै रुपमा हेरिएको छ । उनी गोर्खाबाट बाबुराम भट्टराईसंग प्रतिनिधिसभा चुनाव हारेका थिए । 

एक पटकको हरुवा पुनः चुनावमा उठ्नुको मतलब उनलाई मन्त्री बनाउन नै खोजिएको बुझिन्छ । 

वर्तमान अर्थमन्त्री डा युवराज खतिवडाको कार्यकाल फागुनमा सकिँदै गर्दा उनको ठाउँमा नारायणकाजीलाई ल्याउन लागिएको बुझिन्छ । 

तर खतिवडा दोहिरिने भए भने नारायणकाजी हिस्स हुन बेर छैन । किनकि ओलीले खतिवडालाई पुनः राष्ट्रपतिबाट मनोनित बनाउन पनि सक्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ