arrow

पर्यटन मन्त्री भट्टराई अष्ट्रेलियामा एक पछि अर्को विवादमा, विरूद्धमा हस्ताक्षर अभियान

logo
प्रकाशित २०७६ पुष २३ बुधबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई अष्ट्रेलियामा एक पछि अर्को विवादमा फसेका छ्न्। भट्टराई नेतृत्वको र्‍यालीलाई ओपेरा हाउस जान सुरक्षाकर्मीले रोके लगत्तै उनका बिरुद्ध अष्ट्रेलियाली नागरिकले हस्ताक्षर अभियान चलाएका छ्न्। 

अष्ट्रेलियाका नागरिकलाई निम्ता गर्न गएपनि त्यहाँका नागरिकले उनलाई तत्काल स्वदेश फर्कन हस्ताक्षर अभियान नै चलाएपछि भट्टराईको यो भ्रमण विवादमा परेको हो। अष्ट्रेलियामा तीन महिनादेखि डढेलो चलिरहेको यो संवेदनशील समयमा नेपाल भ्रमणको अभियान चलाउन मन्त्री भट्टराई अष्ट्रेलियामा रहेका छन् । 

मंगलबार अभियान चलाएका मन्त्री भट्टराईको अभियानप्रति अष्ट्रेलियन नागरिक जोन स्मिथले चेन्ज ओआरजीमार्फत असन्तुष्टि जनाउँदै अष्ट्रेलिया छाड्न भनेका हुन् । 

उनले अष्ट्रेलियालीहरुलाई सहयोग र प्रार्थना जरुरी रहेको छ नकि छुट्टी मनाउने प्याकेज भनेका छन् । 

उनले मंगलबार अभियान शुरु गरेका थिए । स्मिथको उक्त भनाइप्रति समर्थकहरु बढ्दै गएका छन् । 

नागरिकस्तरमा विरोध भए पनि अष्ट्रेलिया सरकारले मन्त्री भट्टराईलाई देश छाड्न भन्ने छैन । तर गलत समयमा भ्रमण वर्षको अभियान चलाइएको भन्ने सन्देश भने गएको छ । 

कसले दियो भन्त्री भट्टराईलाई निम्तो ? 
मन्त्री भट्टराईमाथि विदेशी नागरिकलाई नेपाल भित्र्याउने धेरै दवाव रहेको छ । २० लाख विदेशीलाई सन् २०२० भित्र नेपाल भ्रमण गराउन उनी लागिपरेका छन् । 

यो ठूलो चुनौती पनि हो । उनी जनवरी १ तारिखमा दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेपछि पहिलो विदेश भ्रमणका क्रममा अष्ट्रेलिया गएका हुन् । 

भ्रमण वर्ष सुरु हुनुअघि नै आधा दर्जन भन्दा बढी देशमा गएर भट्टराईले भ्रमण वर्षको क्याम्पेनिङ गरेका छन् । 

तर अष्ट्रेलिया पीडामा रहेका बेलामा गरिएको उनको क्याम्पेनिङ गलत भएको भनी विरोध भएको हो। 

कुनै एक जनामात्र पनि अष्ट्रेलियाली नागरिकले असन्तुष्टि जनाउनु पक्कै राम्रो हैन । किनकि नेपाल भ्रमणमा खुशीखुशी उनीहरु आउन् भन्ने हो । 

तर गलत समयमा मन्त्री भट्टराईलाई अष्ट्रेलिया बोलाउने काम कसले गर्यो ? स्थानीय आयोजकले समयको ख्यालमात्र गरिदिएको भए पनि यसरी अपमान सहनु पर्ने आउने थिएन । सामान्य विवेक नपुर्याउदा मन्त्रीले मात्र हैन आम नेपालीले लज्जित हुनुपरेको छ।

यस्तो भएको थियो मंगलबार 
भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्न अष्ट्रेलिया पुगेका पर्यटन मन्त्री योगेश भट्टराईले नेतृत्व गरेको र्‍यालीलाई सिड्नीस्थित ओपेरा हाउसको सुरक्षाकर्मीले रोकेको थियो ।

अष्ट्रेलियामा डढेलो लागेर कम्तीमा २४ जनाको ज्यान गएको, ५० करोड भन्दा बढी जनावर मरेको, सयौं घर जलेर ऐतिहासिक संकटमा रहेको अवस्थामा भ्रमण वर्ष २०२० को नाममा असंवेदनशील भई प्रचारप्रसार गर्न पुगेका मन्त्री भट्टराईले नेतृत्व गरेको उक्त र्‍यालीलाई मंगलबार ओपेरा हाउसको सुरक्षाकर्मीले रोकेका थिए।

केहि अष्ट्रेलियाका राजनीतिकर्मी समेत सहभागी भ्रम्रण बर्ष कार्यक्रमको रिवन काटेर उदघाटन भएपछिको र्यालीमा भट्टराईसंगै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, कन्सुलरहरु दीपक खड्का र चन्द्र योन्जनसहितको टोली रहेको थियो । 

उक्त कार्यक्रम प्रचारप्रसार र व्यवसायिक लाभका लागि भएको लगायतका कारण देखाउँदै सुरक्षाकर्मीले ओपेरा हाउससम्म जान रोकेको थियो। र्‍यालीलाई अधिकार सम्बन्धी कानुन भन्दा बाहिर रहेकाले रोक लगाइएको सिड्नी काउन्सिलले जनाएको थियो । र्‍यालीमा सहभागीको संख्यासमेत धेरै हुँदा यसले पैदल यात्रुलाई असर पर्ने कारणसमेत जनाइएको थियो । 

एनआरएनएका पूर्व कोषाध्यक्ष डिला खरेलले सिड्नी काउन्सिलले दिएको जानकारी मन्त्री भट्टराईको टिमलाई गराएको समेत बताएका थिए ।

आयोजकको अव्यवस्थापनका कारण र्याली रोकिएको भन्दै र्‍यालीका सहभागीहरुले आयोजकप्रति आक्रोश पोखेको फ्रिलान्स पत्रकार प्रकाश हुमागाईले बताएका थिए ।

ओपेरा हाउससम्म जाने पूर्व निर्धारित कार्यक्रम भए पनि त्यहाँको सिड्नी काउन्सिलले स्वीकृति दिएको थिएन । अनि जवरजस्ती जान खोजिएपछि प्रहरीले रोकेको थियो ।

प्रहरीसंग अनुरोध गरेपछि प्रहरीले काउन्सिलसंग स्वीकृति लिन खोज्दा काउन्सिलले ब्यानर बिना थोरै समूहमा जाने भएमात्र जान सक्ने बताएपछि मन्त्री भट्टराईलाई लिएर केही मानिसहरु गएको पत्रकार हुमागाईले अष्ट्रेलियाबाट हाम्राकुरालाई बताए।

यस्तो छ मन्त्री भट्टराईको स्पष्टिकरण
मन्त्री भट्टराईले भने फरक तरीकाले स्पष्टिकरण दिएका छन् । उनले मंगलबार सामजिक सञ्जाल फेसबुक मार्फत मौन जुलुस मार्फत पर्यटन बर्षको प्रबर्द्धन गरिएको बताएका छन् ।  

मन्त्री भट्टराईले अस्ट्रेलियाको सिड्नीमा नेपाली दूतावासको आयोजना तथा एनआरएनए लगायतका संघ संथाको सहयोगमा नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको लेखेका छन् ।

 एनएसडब्लु स्टेटका सभामुख सहित अस्ट्रेलियाका पक्ष र प्रतिपक्षी दल तथा नगरपालिकाका प्रतिनिधि सहितको उपस्थितिमा भएको कार्यक्रममा उनीहरुका तर्फबाट शुभकामना मन्तब्य पनि ब्यक्त भएको उनले उल्लेख गरेका छन् ।

साथै  उनले काल्पनिक र गलत समाचार सम्प्रेसण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ ! भनी प्रश्न समेत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ