arrow

नेपाली नोटमा पृथ्वीनारायण शाहलाई राख्न माग

logo
प्रकाशित २०७६ पुष २३ बुधबार
madhesi-media.jpg

काठमाडौं ।  संयुक्त राष्ट्रिय शान्तिपूर्ण नागरिक आन्दोलनले विशाल नेपाल निर्माण गर्ने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गतेलाई भव्यरुपमा राष्ट्रिय एकता दिवस मनाउन आग्रह गरेको छ ।

सो राष्ट्रिय एकता दिवसको अवसरमा सगौरव सार्वजनिक विदा हुनुपर्ने मागसमेत गरिएको छ । बाइसे चौबिसे राज्यमा बाँडिएको नेपालीलाई एकीकरण गरी विशाल नेपाल निर्माण गरेको भन्दै योगदान बिर्सिननहुने बताएको छ ।

संयुक्त राष्ट्रिय शान्तिपूर्ण नागरिक आन्दोलन केन्द्रीय संयोजन समितिले बुधबार मधेश मिडिया हाउसमा आयोजना गरेको पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको योगदानको सम्झना एवं सम्मानमा अब छापिने नेपालका नोटहरुमा उनको चित्र अंकित हुनुपर्ने माग गरिएको छ ।

पत्रकार सम्मेलनमा रामराज्य परिषद्का अध्यक्ष जगत बहादुर थापाले राष्ट्र, राष्ट्रियता र धर्मसंस्कृति संरक्षण जस्तो ज्वलन्त विषयलाई अहिले एकदमै उपेक्षा गरिएको आरोप लगाएका छन् । राष्ट्र, राष्ट्रियता र धर्मसंस्कृतिको यथोचित संरक्षण गर्दै मुलुकलाई बलियो बनाउन संयुक्त राष्ट्रिय शान्तिपूर्ण नागरिक आन्दोलनको विकल्प नरहेको बताए ।

थापाले नेपालको मूल समस्या धर्म परिवर्तन रहेको बताउँदै नेपालका कम्युनिष्टहरु त्रिश्चियन रहेको आरोप समेत लगाए ।

यसैगरी, वरिष्ठ अधिवक्ता तथा नेपालका लागि नेपाली अभियानका प्रमुख अभियन्ता बालकृष्ण न्यौपानेले नेपालको पहिचान रक्षाका लागि राजसंस्था अपरिहार्य रहेको बताए । उनले अहिलेको शासन व्यवस्था र नवराजाहरुले देशलाई बर्बाद गर्न लागेको भन्दै राजसंस्था आवश्यक रहेको बताए ।

नेपाललाई पुनः हिन्दूराष्ट बनाउनुपर्ने धारणा राख्दै उनले भने, ‘संघीयताको नाममा अहिले टोलटोलमा भ्रष्टाचार बढेको छ । यिनीहरुका विरुद्ध अब सबै आआफ्नो ठाउँबाट लाग्नैपर्छ ।’ यस्तै, कार्यक्रममा पुनरुत्थानवादी शक्ति नेपालका प्रमुख नेता शेखरजंग रायमाझीले नागरिक आन्दोलनमा लाग्न आग्रह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ