arrow

१२२ चिनियाँलाई हतार–हतार ‘डिपोर्ट’ गर्नु शंकास्पद

logo
यमुना भण्डारी,
प्रकाशित २०७६ पुष २३ बुधबार
chiness-plane.jpg

काठमाडौं। राजधानीका विभिन्न भागबाट पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई चीन फर्काइएको छ। चीनबाट आएका चार्टर्ड विमानमा राखेर उनीहरुलाई चीन फर्काइएको काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले हाम्राकुरालाई जानकारी दिए। उनीहरुलाई लिन पूर्वी चाइना ‘चाइना इस्टर्न’ र पश्चिम चाइना ‘चाइना वेस्टर्न’गरी दुई जहाज नेपाल आएका थिए।

काठमाडौं प्रहरी परिसर, टेकु मातहतका विभिन्न प्रहरी युनिटमा राखिएका ती चिनियाँलाई विमानस्थलसम्म बसमा राखेर लगिएको एसपी सिंहले विमानस्थलबाट जानकारी दिए।

काठमाडौंको मनमैजु, बुढानीलकण्ठ, महाराजगञ्ज लगायतका क्षेत्रमा बस्दै आएका उनीहरुलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारको मुद्दा चलायो। उनीहरुलाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले एक हजार नेरु जरिवाना तिराउन भनेका थिए। जरिवानाको पैँसा नेपालस्थित चिनियाँ दूतावासले तिरेको छ।

उनीहरु एक हजार जरिवाना बुझाएर थुनामुक्त भएसँगै आइतबार साँझ अध्यागमन विभाग बुझाइएका थिए। उनीहरुलाई अध्यागमन ऐन अनुसार कारबाहीका लागि भन्दै काठमाडौं प्रहरी परिसरले हतार–हतार अध्यागमन विभाग बुझाइएको थियो। त्यो चाँजोपाँजो नेपालस्थित चिनियाँ दूतावासले मिलाएको हो।

पक्राउ परेकाहरुले नेपालमा बसेर चीनमा आर्थिक एवं साइबर अपराध गर्दै आएको सुराक चिनियाँ प्रहरीको विशेष टोलीले दिएको थियो। त्यही आधारमा चिनियाँ प्रहरी र नेपाल प्रहरीले चलाएको संयुक्त अपरेशनमा १२२ चिनियाँ पक्राउ परेका थिए। तर, चीनको प्रहरीले दिएको झण्डै ८ सय जनाको सूचीमा यी मात्रै पक्राउ परेका हुन्। बाँकी फरार भएका छन्।

सुरुमा साइबर अपराधमा संलग्न भएको भनेको नेपाल प्रहरीले उनीहरुले नेपालमा कसैलाई हानी नोक्सानी नगरेको भन्दै थप मुद्दा नचलाएको बताएको छ। तर, केही दिन पहिले चिनियाँ राजदूत प्रचण्डको निवास खुमलटार पुग्नु, यही बेला गृहमन्त्री रामबहादुर थापा चीन भ्रमणमा निस्किनु र पर्यटन भिसामा नेपाल आएर संगठित अपराधमा संलग्न भएकाहरुको जरिवाना दूतावासले तिरिदिनु तथा यही बेला उपराष्ट्रपति नन्दबहादुर पुन र उर्जामन्त्री वर्षमान पुन लगायतका व्यक्तिको चिनियाँ अपराधीहरुसँग कनेक्सन रहेको रहस्योद्घाटन हुनु निकै शंकास्पद छ।

पक्राउ परेका चिनियाँलाई फिर्ता ट्राभल डकुमेन्ट तयार पार्ने काम पनि दुतावासले गरेको हो। दूतावासले ट्राभल डकुमेन्ट सोमबारै अध्यागमन विभागलाई उपलब्ध गराएको थियो। नियमानुसार यसरी विनाअनुमति एवं गैर कानूनी रुपमा बसेका नागरिकलाई ‘डिपोर्ट गर्दा’ सम्बन्धित देशले नै खर्च गर्ने गरेको थियो। तर, यो पल्ट भने दूतावासले नै तिरेको छ। पक्राउ परेका चिनियाँलाई फिर्ता पठाउन ट्राभल डकुमेन्ट तयार पार्ने काम पनि दुतावासले गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ