arrow

सामान्य प्रशासन मन्त्रालयमा हृदयेश आतंक, उच्च कर्मचारीहरूले सरुवा मागे

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७६ पुष २४ बिहिबार
tripati.jpg

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी र त्यहाँका उच्च कर्मचारीको सम्बन्ध निकै चिसिएको छ। त्रिपाठीले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी लिएको केही दिनमै मन्त्रीसँग कर्मचारीको सम्बन्ध विग्रेको हो। सामान्य प्रशासन मन्त्रालयमा ५ जना सहसचिवको दरबन्दी छ। त्यहाँ हाल ४ जना सहसचिव कार्यरत छन्।

४ जना सहसचिवमध्ये ३ जना सहसचिवले त्यहाँबाट सरुवा मागेका छन्। मन्त्रालयका प्रवक्ता भुपाल बरालले प्रवक्ताको जिम्मेवारी छाड्न चाहेको जानकारी संघीय मामिला तथा सामान्य प्रशासमन्त्री हृदयेश त्रिपाठीलाई पुर्‍याएका छन्। बराल निकट स्रोतले भन्यो, ‘बरालले एक हप्ता अघि नै मन्त्रालयका सचिव यादव कोइरालालाई भेटी ‘मैले प्रवक्ताको जिम्मेवारी लिन सक्दिन। तपाईहरुले अर्को कसैलाई खोज्नुहोस’ भनी जिम्मेवारीबाट पन्छिन खोजेका थिए। उनले मन्त्रालयबाट अर्को ठाउँमा सरुवा खोजेका छन्। सिन्धुली घर भएका बराल नेपाली कांग्रेससँग निकट मानिन्छन्। कर्मचारी प्रशासनको जिम्मेवारी समेत बोकेका अर्का सहसचिव बाबुराम अधिकारी पूर्व एमाले निकट हुन्।

अहिले मन्त्री त्रिपाठी र अधिकारीवीच पनि सम्बन्ध निकै चिसिएको छ। त्रिपाठी निकट स्रोतले भन्यो, त्रिपाठीले अधिकारीलाई निकै अविश्वास गर्छन। केही दिन अघि भएको मन्त्रालयका उच्च कर्मचारीहरूसँगको छलफलमा त्रिपाठीले अधिकारीलाई अपमानपूर्वक निर्देशन गरेका थिए। त्रिपाठीको गाली खाए पछि अधिकारीले पनि त्यहाँबाट सरुवा मागेका छन्। कर्मचारी दरबन्दी संरचनाको विषयमा अध्ययन गर्न भनी केही दिन अघि अधिकारी अमेरिका पुगेका थिए। यही विषयमा त्रिपाठीले उनलाई गाली गरेका थिए।

संघीयका अर्का सहसचिव केदार पनेरु पनि पूर्व एमालेसँग निकट मानिन्छन। स्रोतल भन्यो, अहिले पनेरुले पनि त्यहाँबाट सरुवा मागेका छन्। त्यसैले उनले सकेसम्म त्रिपाठीलाई भेट्न चाहन्नन्–स्रोतले भन्यो। जुम्लाका जयनारायण आचार्य भने मन्त्रालयका सोझा सहसचिव मानिन्छन्। उनले भने सरुवा नमागेको स्रोतले भन्यो।

संघीयमा हाल १९ जना उपसचिव कार्यरत छन्। ती मध्ये एक चौथाइ उपसचिव पनि त्यहाँबाट अन्य ठाउँमा जान चाहेका छन्–स्रोतको दावी छ। मन्त्रालयका सरुवा मागेका एक सहसचिव भन्छन, ‘मन्त्रालयको एउटा दृष्टिकोण हुन्छ तर मन्त्रीज्यू ठयाम्मै उल्टो बोल्नुहुन्छ। यतीसम्म कि, मन्त्रालयको आन्तरिक बैठकमा मन्त्रीज्यले समायोजनमा गएका सबै कर्मचारीलाई फिर्ता बोलाउछु भन्नुभयो। जुन सम्भव छैन।’

मन्त्रालयले अहिलेसम्म तयार गरेको योजना र कार्यक्रममा समेत त्रिपाठीले असहमति जनाउँने गरेको ती सहसचिवको भनाइ छ। ती सहसचिव भन्छन, 'मन्त्रीज्युले यतीसम्म गर्नु भयो कि, मन्त्रालयले तयार गरेका ऐन नियमका मस्यौदालाई समेत मन्त्रीज्युले यो हुँदैन। यसलाई नयाँ बनाउनुहोस भन्नुहुन्छ।’ अर्का एक कर्मचारी भन्छन, ‘आन्तरिक बैठकमा मन्त्रीज्युले जहिले पनि ‘म दुई तिहाइको सरकारको मन्त्री हुँ भन्ने गर्नुहुन्छ। कहिले उहाँले ‘म बाबुरामको क्याविनेटको मन्त्री हुँ भन्दै हामीलाई धम्क्याउने गर्नुहुन्छ।’

मन्त्रालय स्रोतका अनुसार सामान्य प्रशासन मन्त्राललयले अहिलेसम्म नगरेको र कर्मचारी समायोजन ऐनमा नभएको व्यवस्थामा समेत मन्त्रीले दबाब दिने गरेको स्रोतले बतायो। स्रोतले भन्यो, ‘मन्त्रीज्युले इञ्जिनियरलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर विभिन्न स्थानीय तहमा नियुक्त दिन दबाब दिन थाल्नु भएको छ।’

कर्मचारी समायोजन ऐनमा प्रमुख प्रशासकीय अधिकृत प्रशासन सेवाको हुनुपर्ने व्यवस्था छ। यस्तो व्यवस्थाबाट प्राविधिक कर्मचारी अपमानित भए भन्दै त्रिपाठीले प्राविधिक कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा नियुक्त दिन दबाब दिन थालेका हुन। मन्त्रीको यस्तो रवैयाबाट मन्त्रालयका उच्च कर्मचारीहरु मन्त्रीसँग निकै चिढिएका छन्–स्रोतले भन्यो।

त्रिपाठीले सूर्य चिन्ह लिइ प्रतिनिधिसभाको चुनावमा भाग लिएका थिए र चुनाव जिते पनि। कानुनी रुपमा उनी अहिले पनि नेकपाका सांसद हुन तर उनले अहिले पनि आफूलाई स्वतन्त्र भन्ने गर्छन। मन्त्री हुनुभन्दा केही दिन अघि उनले काठमाडौमा आफू निकट केही नेताहरुको भेला गरी छुट्टै  पार्टी खोल्ने घोषणा गरेका थिए। त्यती मात्र नभइ उनले सिहंदरबार नजिकै सम्पर्क कार्यालय समेत खोलेका थिए। यहाँ सम्म कि त्रिपाठीकोलागि सिंहदरबारमा छुट्टै कोठा दिइएको छ। उनको कोठा नेकपाको संसदीय दलको कार्यालय नजिकै रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ