arrow

'प्रधानमन्त्री ओली फ्रान्सका लुईस १४ को बाटोमा'

logo
प्रकाशित २०७६ पुष २५ शुक्रबार
pm-kp-oli1.jpg

काठमाडौं। वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली फ्रान्सका लुईस १४जस्तै ‘आई एम द स्टेट’ को बाटोमा अघि बढ्न खोजेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले आरोप लगाएका छन् ।   शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बस्नेतले सरकारले सूचना प्रविधि विद्येयकलाई लिएर प्रधानमन्त्री ओलीलाई फ्रान्सका लुईस १४ सँग तुलना गरेका हुन् ।

आफ्नो ठूला–ठूला भ्रष्टाचार काण्ड जनताले थाहा नपाउन भन्नको लागि विद्येयक ल्याउन लागेको आरोप लगाए ।  उनले वर्तमान सरकारका कारण लोकतान्त्रिक व्यवस्था नै संकटमा परेको पनि टिप्पणी गरे ।  सूचना प्रविधि विद्येयक हुबहु पास भए नेपालका सबै पार्टी कार्यालयमा ताल्चा लगाउनुपर्ने अवस्था आउनेपनि खतरा औंल्याए ।  तर, अहिलेका शासकहरुले जतिसुकै ठूला कुरा गरेपनि वा लोकतान्त्रिक विरोधी गतिविधि गर्न खोजेपनि जनताले तिनीहरुलाई तह लगाई छाड्नेपनि उनले विश्वास दिलाए ।

तर, त्यस्ता शासकहरुसँग सचेत हुनुपर्नेतर्फ पनि उनले ध्यानाकार्षण गराए । उनले भने,‘हामी त्यस्ता शासकहरुसँग सचेत र सजग हुनुपर्छ ।’ उनले सूचना प्रविधि विद्येयकको सवालमा नेपाल पत्रकार महासंघ किन बोलिरहेको छैन् ? भन्दै प्रश्नसमेत गरे । उनले भने,‘पत्रकार महासंघ किन गम्भिर भएको छैन् ?’ विद्येयकका प्रावधानमा उल्लेख गरिएका विषयहरुमा उनले आपत्ति जनाए । उनले आपत्ति जनाएका प्रावधानमा धारा ९४, धारा ११५ लगायत रहेका छन् ।

बस्नेतले विद्येयकको विरुद्धमा आफ्नो पार्टी सडकमा आउने पनि घोषणा गरे । उनले भने,‘यो विद्येयकले कल्पना गरेको अदालत शाही आयोगभन्दा कम छैन् । त्यसैले यो विद्येयकका प्रावधानहरु संशोधन वा परिमार्जनमात्रै होईन यो विद्येयक नै खारेजी गर्नुपर्छ ।’ उनले यो देशमा प्रेस स्वतन्त्रताको लागि आफ्नो पार्टी धेरै लडेको पार्टी भएको पनि सुनाए । उनले भने,‘कांग्रेसका चार तारे झण्डमा एउटा तारा प्रेस स्वतन्त्रता पनि हो ।’ उनले यो देशमा कांग्रेसको नेतृत्वमा मात्रै ठूला ठूला परिवर्तन भएको जिकिर गरे ।

उनले वर्तमान सरकार आएपछि मुलुकमा धेरै ठूला ठूला काण्ड मच्चिएको पनि आरोप लगाए । उनकाअनुसार ओली सरकार आएपछि सुन काण्ड, वाईडबडी काण्ड, बालुवाटार जग्गा प्रकरण, सार्वजनिक खरिद ऐनलगायतका धेरै विवादित काम वर्तमान सरकारले गरेको छ । उनले भने,‘नेकपाकै सांसदहरु बहुमत रहेको सार्वजनिक लेखा समितिले त वाईडबडीमा चार अर्बभन्दा बढि भ्रष्टाचार भएको छ भनेर रिपोर्ट नै बाहिर ल्याए । तर, प्रधानमन्त्री भएकै छैन भनेर बोल्नुहुन्छ ।’

प्रधानमन्त्रीले खुल्लमखुल्ला बुद्धिजिवीहरुलाई थला पार्ने कुरा गरेको पनि आरोप लगाए । त्यतिमात्रै नभएर उनले सेक्युरिटी प्रिन्टिङको नामा नेपालको अरबौं अरब रुपैयाँ विदेश जान लागेको पनि चिन्ता व्यक्त गरे । उनले भने,‘यो देशमा राख्न जरुरी थियो । यसको लागि म मन्त्री भएको बेलामा मकवानपुरमा २ सय ५० रोपनी जग्गा अकुपाई गरिएको छ । मेरै पालामा यो कार्यान्वयनको चरणमा पुगेको थियो । तर, अहिले फ्रान्सेली कम्पनीसँग जिटुजी भएको छ । म ठोकेर भन्छु यसमा ७ अर्ब आर्थिक घोटाला वा भ्रष्टाचार गर्ने नियत छ ।’

सरकारले यतिलाई किन ब्रम्हलुट गर्न दिएको भन्दै उनले प्रश्न गरे । उनले भने,‘देशका सबै सम्पत्ति यतिलाई दिनुपर्ने कारण के हो ?’ उनले फोरजीमा पनि घोटाला भएको आशंका व्यक्त गरे ।

सूचना प्रविधि विद्येयक ल्याएर सरकारले बोल्न, लेख्न ननिदको लागि र प्रेसको घाँटी रेट्नको लागि ल्याउन लागेको पनि उनले आरोप लगाए । उनले पूर्वराजा ज्ञानेन्द्र शाहले पनि नेपालको मिडियालाई बन्देज लगाउन धेरै कोशिस गरेको स्मरण गराउँदै आज ज्ञानेन्द्र कहाँ पुगे ? भन्दै त्यो कुरा हेक्का राख्न वर्तमान सरकारलाई चेतावनी दिए । उनले भने,‘ज्ञानेन्द्रकै जस्तो दशा आजको शासकलाई पनि सर्ने हो ।’ सरकारले यो विद्येयक फिर्ता लिने दिन आउनेपनि उनले ठोकुवा गरे । उनले भने,‘सडकमा जनता उत्रिएपछि यो सरकारले विद्येयक फिर्ता लिनुपर्ने दिन आयो भने त्यही दिनबाट यो सरकारको दिनगन्ती सुरु हुन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ