arrow

वैशाखसम्ममा पुरानै शैलीको रानीपोखरी

logo
शर्मिला पाठक, रासस,
प्रकाशित २०७६ पुष २६ शनिबार
ranipokhari.JPG

काठमाडौं। आगामी वैशाखसम्ममा सक्नेगरी ऐतिहासिक रानीपोखरीको पुनःनिर्माणको कामले तीव्ररुपमा अघि बढेको छ। अहिले पोखरीमा कालोमाटो लगाउने, पर्खाल र मन्दिरमा जाने पुल निर्माण र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम निकै अघि बढिसकेको छ।

पोखरीको ४६ प्रतिशत काम सकिएको छ। पोखरीको सौन्दर्यकरणको काम २२ प्रतिशत सकिएको पुनःनिर्माण प्राधिकरणले जानकारी दिएको छ। पोखरीमा अहिले गोकर्णबाट ल्याइएको माटो धमाधम लगाउने काम भइरहेको छ। त्यसपछि इँटा लगाउने तयारी छ । हाल ६० कामदारले काम गरिरहेका छन्।

गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्‍याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काममा तीन वर्ष ढिलाइ भएकोमा प्राधिकरणले जिम्मा पाएपछि कामले गति लिएको हो। निधारीत समयमै सक्नेगरी कामले गति लिएको प्राधिकरणको दाबी छ। माघ अन्तिम सातासम्ममा पर्खाल लगाउने र पोखरीमा कालोमाटो राख्ने कामले पूर्णता पाउने प्राधिकरणले जनाएको छ।

बालगोपालश्वर मन्दिरमा काठको काम भइरहेको छ। त्यस्तै पर्खालको काम पनि लगभग सकिएको छ। प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार आगामी वैशाखसम्ममा नागरिकले पुरानै शैलीको रानीपोखरी देख्ने पाउनेछन्।

उनले भने, “निर्माणअन्तर्गत धेरै काम सकिएको छ। बाँकी काम पनि नियमितरूपमा भइरहेकाले तोकिएको समयमा पुनःनिर्माण सम्पन्न हुनेमा कुनै शङ्का लिनु पर्दैन।” शुरुमा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म काम अघि बढ्न सकेन।

मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनःनिर्माण गर्नेगरी प्राधिकरणलाई जिम्मेवारी दिइएको थियो। मन्दिर पुरानै शैली (ग्रन्थकुट-शिखर) मा पुनःनिर्माण गर्न गत असार २४ गते प्राधिकरणले १० महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी तुलसी कन्स्ट्रक्शन जेभीसँग सम्झौता गरेको हो।

भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पु¥याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गरेका थिए। रानीपोखरी पुनःनिर्माणका लागि प्राधिकरणले उपभोक्ता समितिमार्फत रु नौ करोड ९७ लाख बजेट विनियोजन गरेको छ। पोखरी र मन्दिर निर्माणका लागि प्राधिकरणले रु २५ करोड बजेट विनियोजन गरेको छ। चन्द्रशम्शेरको पालामा पुनःनिर्माण गर्दा गुम्बज शैलीमा निर्माण गरिएको मन्दिर भत्काएर पुरानै शैलीमा निर्माण गरिनेछ। मन्दिरको उचाइ ५३ फिटको हुनेछ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ। पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो। पोखरीको निर्माणकार्य करीब पाँच वर्षभित्र अर्थात् नेसं ७८९ (विसं १७२५) मा सम्पन्न भएको थियो।

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन्। प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ। जसमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तरपूर्व कुनामा भैरवको मन्दिर, दक्षिणपूर्व कुनामा देवीको मन्दिर र दक्षिणपश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ