arrow

प्रचण्डका कारण चितवनमा नौं दिनसम्म एसपी खाली

logo
प्रकाशित २०७६ पुष २७ आइतबार
sps.jpg

काठमाडौं । सरुवा भएको १३ दिनसम्म अटेर गरेर एसपी दानबहादुर मल्लले रमाना लिएपछि पनि चितवनमा नयाँ प्रहरी प्रमुख बनाएर कसैलाई पनि पठाइएको छैन । 

पुस ४ मा २४ एसपीको सरुवा गर्दा मल्लको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याइएका थिए । तर एसपी मल्लले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आफूलाई १ बर्षसम्म काम गर्न दिनुपर्ने अनुरोध गरेर उनी रमाना नलिई बसे । 

मल्लले रमाना नलिएपछि चितवन सरुवा भएकी एसपी गंगा पन्त पनि जान पाइनन् । मल्लले रमाना नलिएपछि ३ नम्बर प्रदेश प्रहरीले उनलाई पुस १७ गते १२ घन्टाभित्र पत्र लिएर जान निर्देशन दियो । चेन अफ कमाण्ड नै नमानेको आरोप लागेपछि उनी पुस १८ मा रमाना  बुझ्न बाध्य भएका थिए । तर मल्लले चितवन छाडेको ९ दिन बितिसक्दा पनि एसपी खटाइएको छैन । 

डीएसपी एकनारायण कोइरालाले नै निमित्त प्रहरी प्रमुखका रुपमा चितवनमा कामकाज गर्दैआएका छन् । मल्लले उनैलाई चार्ज बुझाएर चितवन छाडेका थिए ।  
प्रहरी प्रधान कार्यालयले पुस ४ मा सरुवा गरिएकी एसपी गंगा पन्तलाई पनि चितवनमा पठाउन सकेको छैन । 

चितवन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहजिल्ला हो । उनका पूर्वबडीगार्ड मल्ल दाहालको रोजाइमै चितवन गएका थिए । मल्ल असुलीमा विवादमा परेपछि एक बर्ष नपुगी तानिएका थिए । 

तर आइजीपी सर्वेन्द्र खनालले गृहजिल्ला तनहुँ निवासी पन्तलाई चितवनमा पठाए पनि नेकपा अध्यक्ष प्रचण्डले उनलाई स्वीकार नगरेकाले अर्कै एसपीको खोजी भइरहेको समाचार छ ।

संभवतः अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत एसपी कृष्ण पंगेनीलाई चितवनमा सरुवा गर्ने तयारी भइरहेको छ ।

चितवनको एसपीमा सरुवा भएकी पन्तले केही बर्षअघि नेकपा अध्यक्ष प्रचण्डलाई सामाजिक संजालमा लेखिएको बिषयका कारण पनि उनलाई नरुचाइरहेको अर्थ लगाइएको छ ।

नेकपा अध्यक्ष प्रचण्डको संकेत नपाएकै कारण चितवनमा एसपी पठाउन ढिलाइ भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ