अवैध उत्खनन् रोक्दा हत्या गरिएका महतोलाई अभियन्ता घोषणाको माग, चार पक्राउ
निरंजन कुमार साह,
प्रकाशित २०७६ पुष २७ आइतबार
750
Shares
जनकपुर। औरही खोलामा अवैध रुपमा गिटी उठाइ रहेकाहरुलाई रोक्न जाँदा हत्या गरिएका दिलिप महतोलाई वातावरण अभियन्ता घोषणा र हत्यारालाई हदैसम्म कार्वाहीको माग गर्दै धनुषाको ढल्केवरमा प्रदर्शन गरिएको छ ।
आइतबार ढल्केवर र श्रीपुरका समाजसेवी, अधिकारकर्मी, राजनीतिकर्मी र बिद्यार्थीहरुले विभिन्न नारा लेखिएका प्ले कार्ड तथा ब्यानर बोकेर ढल्केवर चौकको नगरपरिक्रमा गरी दिलिपको हत्यारालाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका छन ।
धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरका २४ बर्षिय ओमप्रकाश भन्ने दिलिप महतोलाई शुक्रबार बिहान क्रुरतापूर्वक हत्या गरिएको थियो । उनलाई सोही वडामा पर्ने औरही खोलाबाट अवैध गिटी बालुवा उत्खनन माफियाहरुले पहिला रडले घोचेर घाइते बनाई टिपरले किचेर हत्या गरेका थिए ।
दिलिप खोलाबाट भइरहेको अवैध उत्खनन् रोक्न घरदेखि पूर्वमा रहेको औरही खोला पुगेका थिए । उनी वातावरण संरक्षण अभियान सञ्चालन गरेर नदीहरुबाट हुने अवैध उत्खननलाई निरुत्साहित गर्न पटक–पटक रोकथाम गरेका थिए।
त्यस्तै हत्याको आरोपमा अनुसन्धानको क्रममा ४ जनालाई पक्राउ गरिएको छ । घटनामा संलग्नभएको आरोपमा प्रहरीले औरही खोला नजिकै सञ्चालित रहेका चुरियामाई बालुवा प्रशोधन केन्द्रका सञ्चालक स्थानीय २७ वर्षीय विपिनकुमार महतो, घटनामा प्रयोग भएको टिपरका चालक महोत्तरी, बर्दिबास नगरपालिका ९ बस्ने ३४ वर्षीय मुनिन्द्र महतो, सोही नगरपालिका वडा नम्बर २ बस्ने अनटेस्ट लोडरका चालक २४ वर्षीय जितेन्द्रकुमार महतो र स्थानीय २७ वर्षीय रोशनकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई शनिबारै राति करिब ९ बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।
घटना अनुसन्धानको क्रममा तत्काल टिपरको ठक्कर लागेर मृत्यु भएको भनिएका दिलिपलाई नियन्त्रणमा लिएर फलामको लिभरले दाहिने कोखामा घोचेर घाइते बनाइएको र त्यसपछि खोलामा सुताएर उक्त टिपरले किचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेशकुमार बस्नेतले बताए ।