arrow

अवैध उत्खनन् रोक्दा हत्या गरिएका महतोलाई अभियन्ता घोषणाको माग, चार पक्राउ

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ पुष २७ आइतबार
mahato-hatyara.jpg

जनकपुर। औरही खोलामा अवैध रुपमा गिटी उठाइ रहेकाहरुलाई रोक्न जाँदा हत्या गरिएका दिलिप महतोलाई  वातावरण अभियन्ता घोषणा र हत्यारालाई हदैसम्म कार्वाहीको माग गर्दै धनुषाको ढल्केवरमा प्रदर्शन गरिएको छ ।

आइतबार ढल्केवर र श्रीपुरका समाजसेवी, अधिकारकर्मी, राजनीतिकर्मी र बिद्यार्थीहरुले विभिन्न नारा लेखिएका प्ले कार्ड तथा ब्यानर बोकेर ढल्केवर चौकको नगरपरिक्रमा गरी दिलिपको हत्यारालाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका छन ।

धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरका २४ बर्षिय ओमप्रकाश भन्ने दिलिप महतोलाई शुक्रबार बिहान क्रुरतापूर्वक हत्या गरिएको थियो । उनलाई सोही वडामा पर्ने औरही खोलाबाट अवैध गिटी बालुवा उत्खनन माफियाहरुले पहिला रडले घोचेर घाइते बनाई टिपरले किचेर हत्या गरेका थिए ।

दिलिप खोलाबाट भइरहेको अवैध उत्खनन् रोक्न घरदेखि पूर्वमा रहेको औरही खोला पुगेका थिए । उनी वातावरण संरक्षण अभियान सञ्चालन गरेर नदीहरुबाट हुने अवैध उत्खननलाई निरुत्साहित गर्न पटक–पटक रोकथाम गरेका थिए।

त्यस्तै हत्याको आरोपमा अनुसन्धानको क्रममा ४ जनालाई पक्राउ गरिएको छ । घटनामा संलग्नभएको आरोपमा प्रहरीले औरही खोला नजिकै सञ्चालित रहेका चुरियामाई बालुवा प्रशोधन केन्द्रका सञ्चालक स्थानीय २७ वर्षीय विपिनकुमार महतो, घटनामा प्रयोग भएको टिपरका चालक महोत्तरी, बर्दिबास नगरपालिका ९ बस्ने ३४ वर्षीय मुनिन्द्र महतो, सोही नगरपालिका वडा नम्बर २ बस्ने अनटेस्ट लोडरका चालक २४ वर्षीय जितेन्द्रकुमार महतो र स्थानीय २७ वर्षीय रोशनकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई शनिबारै राति करिब ९ बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।

घटना अनुसन्धानको क्रममा तत्काल टिपरको ठक्कर लागेर मृत्यु भएको भनिएका दिलिपलाई नियन्त्रणमा लिएर फलामको लिभरले दाहिने कोखामा घोचेर घाइते बनाइएको र त्यसपछि खोलामा सुताएर उक्त टिपरले किचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेशकुमार बस्नेतले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ