arrow

किन चट्टान बन्दैछिन् उपसभामुख तुम्बाहाम्फे ? 

ओली–प्रचण्ड निरीह

logo
प्रकाशित २०७६ पुष २८ सोमबार
Dr._Shiva_Maya_Tumbahamphe_.jpg

काठमाडौं । उपसभामुख डा शिवमाया तुम्बाहाम्फे यतिबेला बडेमाको चट्टानको रुपमा प्रस्तुत भएकी छिन् । उनको त्यो कुर्सी ढलाउन ठूलो ठूलो शक्ति र उन्माद लिएर नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अगाडि बढिरहेका छन् । 

ओली र प्रचण्डले कहिले तुम्बाहाम्फेलाई फकाउँछन् त कहिले धम्काउँछन् । हुनत तुम्बाहाम्फे पूर्व एमालेकी नेतृ हुन् । उनलाई राजीनामा गर्न नेकपाको सचिवालयले आग्रह गरेको थियो । 

बहुदलीय प्रणालीमा दल ठूलो हुन्छ । दलले निर्देशन दिएपछि कार्यकर्ता अगाडि बढ्ने र पछाडि हट्ने हुन्छ । त्यसैले पनि ओली र प्रचण्डले राजीनामा दिन दवाव दिइरहेका छन् । तर तुम्बाहाम्फे राजीनामा दिन तयार छैनिन् । 

राजीनामाका लागि पार्टी हाइकमाण्ड सचिवालय बैठकले गरेको आग्रह नमानेपछि आइतबार ओली र प्रचण्डले तुम्बाहाम्फेलाई बालुवाटारमै बोलाएर राजिनामा गर्न भनेका थिए ।

तर तुम्बाहाम्फेले सभामुखमा आफूलाई उम्मेदवार बनाउने निर्णय नगर्दासम्म राजीनामा नदिने अडान राखेको उनीनिकट स्रोतले जनाएको छ । राजिनामा नदिने भन्दै बालुवाटारबाट निस्केकी उनले के गर्न उपयुक्त हुन्छ त्यही गर्नु भनेको स्रोतको दावी छ ।

तुम्बाहाम्फेले भने नेकपाका अध्यक्षद्धयले संसदको बैठक सार्न आग्रह गरेको बताउँदै आग्रह अनुसार प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससंग पनि परामर्श लिएर बैठक माघ ६ गतेसम्मका लागि सारेको बताइन् । 

किन घुर्की दिएकी छिन् तुम्बाहाम्फेले ? 
उनको स्पष्ट भनाई छ कि आफू सभामुख बन्ने । भएका सभामुख बलात्कार आरोपमा जेलमा छन् । कृष्णबहादुर महराले असोज १४ गते बलात्कार आरोपपछि राजीनामा दिएका थिए । तुम्बाहाम्फेले आफू बलात्कारी पनि नभएको र कुनै पनि आरोप आफूसंग नभएकाले एउटाको गल्तीको सजाय आफूले किन पाउने ? भन्नेमा छिन् । 

हुन पनि सभामुखले गल्ती गर्ने अनि त्यसको आगोको भुङ्ग्रोमा उपसभामुख किन पर्ने ? त्यो अर्थमा उनी राजीनामा नदिने पक्षमा छिन् । आफूलाई नै सभामुख बनाउने भए आफूले राजीनामा दिने पनि उनले बताएकी छिन् । 

सभामुख र उपसभामुख एउटै पार्टीको हुन नमिल्ने प्रावधान भएकाले तुम्बाहाम्फेलाई राजीनामा गराएर नेकपाले सुवास नेम्वाङ वा अग्नी सापकोटालाई सभामुखको जिम्मेवारी दिन खोजिरहेको छ । 

तर तुम्बाहाम्फे आफू किन बलि चढ्ने भनिरहेकी छिन् । उनलाई यसअघि पनि ओलीले राजीनामा दिन भनेका थिए । उपसभामुखबाट राजीनामा दिएर मन्त्री पद खान आग्रह गरेको पनि बताइन्छ । 

मन्त्री बन्न गरेको आग्रह गलत भएको उपसभामुखले बताएकी छिन् । भागबण्डाको शिकार उनी हुनु परिरहेको भन्दै उनले कुनै पनि हालतमा राजीनामा नदिने बताएकी छिन् । 

उपसभामुखले राजीनामा नदिएसम्म नेकपाले सभामुखको उम्मेदवार बनाउन सक्दैन । 

महाभियोग लगाउन चुनौती 
उपसभामुख तुम्बाहाम्फेले आफूलाई महाभियोग लगाएर निकाल्न चुनौती पनि दिएकी छिन् । त्यो चुनौती उनले विपक्षी दललाई हैन नेकपालाई दिएकी छिन् । 

आफूृले भनेको नमान्नेलाई महाभियोगको घुर्की सरकारले लगाउँदै आएको पाइन्छ । तर तुम्बाहाम्फे आफ्नै हुन् अब कसरी घुर्की लगाउने ? 

फेरि उनले गल्ती नै पनि केही गरेकी छैनिन् । यदि महाभियोग लगाउन खोजियो भने पनि यो अन्तर्राष्ट्रिय मुद्दा बन्न सक्छ । 

किन बन्न सक्दिनन् उनी सभामुख ? 
उनलाई सभामुख बन्न नदिने अरु कोही नभई नेकपा नै हो । ओली सुवास नेम्वाङलाई सभामखु बनाउन चाहन्छन् । प्रचण्ड अग्नी सापकोटालाई । 

नेकपा एकीकरणको भागबण्डामा सभामुख माओवादीलाई र उपसभामुख एमालेलाई परेको थियो । तर अहिले आएर सभामुख आफ्नै हुनुपर्नेमा प्रचण्ड छन् । 

यही कारणले पनि प्रचण्ड छाड्न तयार छैनन् । उनलाई पूर्व माओवादीबाट दवाव पनि छ । 

त्यतिमात्र होइन ओली आफ्नो संसदमा पकड बलियो बनाउन नेम्वाङलाई नै सभामुख बनाउने पक्षमा छन् । 

तुम्बाहाम्फेलाई कसको आशीर्वाद ? 
तुम्बाहाम्फेलाई सभामुख बनाउनु पर्ने पक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी लागेकी छिन् । उनी पूर्व एमालेकी उपाध्यक्ष हुन् । राष्ट्रपति गौरवको पद भए पनि त्यसलाई दुरुपयोग गर्दै उनले तुम्बाहाम्फेलाई सभामुख बनाउन ओली र प्रचण्डलाई दवाव दिइरहेकी छिन् । 

आफू निकटका नेकपा नेताहरुलाई राष्ट्रपति निवासमै उनले बोलाएर यो दवाव दिएकी थिइन् । 

उच्च स्रोतका अनुसार क्रिष्टियन धर्म अँगालेकी तुम्बाहाम्फेलाई युरोपियन युनियनको ठूलो समर्थन छ । त्यो समर्थनले नै ओलीलाई समेत समय समयमा दवाव दिने गरेको बताइएको छ । 

यदि यस्तै हो भने नेपालको संसदमा प्रत्यक्ष रुपले विदेशी हस्तक्षेप बढ्दैछ । 

अर्कातर्फ ओलीले पनि माओवादीलाई दिनुभन्दा अन्तिममा तुम्बाहाम्फे पनि सही भन्दै बसिरहेको बताइन्छ । 

के होला त ? 
अब माघ ६ गते संसद बैठक छ । तुम्बाहाम्फेलाई मनाउन नसक्ने हो भने संसद बैठक फेरि लम्बिने छ । संविधानले उपसभामुखलाई बलियो बनाएको छ । उनले सपथ खाँदा पनि कुनै दल विशेषको दवावमा परेर निर्णय नगर्ने उल्लेख छ । 

कुनै सामाजिक विषयका निर्णय गर्ने बेलामा प्रयोग गर्नुपर्ने स्वविकेक उनले आफ्नो कुर्सी बचाउनलाई प्रयोग गर्दैछिन् । 

यसैले पनि उनले आफूलाई सभामुख बनाउने निर्णय नगरे चुनावी प्रक्रिया थाल्ने चेतावनी नै दिएकी छिन् । 

यहाँनेर उपसभामुख तुम्बाहाम्फेको अडानले नेकपा अनिर्णयको बन्दी जस्तो देखिएको छ । अनावश्यक निर्णय गरिरहने ओली सरकार अहिले विपक्षीले गर्दा नभइ आफ्नै कारण बन्धनमा परेको छ । 

विकल्प नेकपाकै पोल्टामा छ । उनको माग बमोजिम सभामुख स्वीकार्ने, सभामुख नै अर्को पार्टीलाई छाड्ने र निर्णय अवज्ञाको कार्वाहीका लागि कुनै बहानामा उनीमाथि संसदमा महाभियोग लैजाने । 

नेकपाले यी तीनवटै प्रक्रिया अंगाल्न खोजिरहेको छैन । अनि के संसदलाई अनिर्णयको बन्दी बनाइरहने ? तुम्बाहाम्फेको यो चट्टाने निर्णयले ओली र प्रचण्डलाई ऐठन पर्नु स्वभाविकै हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ