arrow

निर्मला प्रकरण : कञ्चनपुरमा शान्तिपुर्ण प्रदर्शनकारीमाथि प्रहरीको धरपकड, अधिकारकर्मी चन्द घाइते

कांग्रेस नेतृ संग्रौलाले गरिन् धरपकडको भर्त्सना

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ पुष २८ सोमबार
chand.jpg

पुनर्वास । १८ महिना अघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको न्याय एवं  न्यायिक आन्दोलनका घाइतेहरुको उपचार खर्चको माग गर्दै धर्ना बसेकाहरु माथि सोमबार प्रहरीले धरपकड गर्दा महिला अधिकारकर्मी शारदा चन्द गम्भिर घाइते भएकी छिन् ।

सोमबार प्रहरीले गरेको धरपकडमा घाईते भएकी अधिकारकर्मी शारदा चन्दको महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको छ । चन्दको टाउको र पेटमा चोट लागेकोले सिटी स्क्यान गर्नुपर्ने भएकोले धनगढी रेफर गरीएको महेन्द्रनगरस्थित महाकाली अस्पतालले जनाएको छ ।

सोमवार जिल्ला अदालत कञ्चनपुरको प्रवेशद्वारमा निर्मलाको न्यायको माग गर्दै धर्नामा बसेका अधिकारकर्मी र न्यायिक आन्दोलनका घाइतेहरुमाथि प्रहरीले धरपकड गर्दा महिला अधिकारकर्मी चन्द घाइते भएकी थिइन् ।

अदालतको प्रवेशद्वारमा धर्नामा बसेका महिला अधिकारकर्मी तथा घाइतेहरुमाथि बल प्रयोग गरी हटाउन खोजेको महिला अधिकारकर्मीहरुले बताएका छन् ।  ‘हामी शान्तीपूर्ण धर्नामा थियौँ । पूर्व–निर्धारित कार्यक्रम अनुसार ३ घण्टा जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वारमा धर्ना सकेर एक घण्टा अदालतको प्रवेशद्वारमा धर्ना कार्यक्रम थियो । त्यहाँ धर्नामा बसेका थियौँ । धर्ना सकिन १५ मिनेट अगाडि निर्मलाको न्यायिक आन्दोलनलाई तुहाउनका लागि प्रहरीले बल प्रयोग गरी हामीलाई त्यहाँबाट हटाउन थाल्यो ।’ महिला अधिकारकर्मी लक्ष्मी मल्लले  भनिन्, ‘महिला प्रहरीको प्रयोग नगरी अभद्र शैलिमा पुरुष प्रहरी प्रयोग गर्दै हामीमाथि हस्तक्षेप भयो ।’

निर्मलाको न्याय तथा न्यायिक आन्दोलनका घाइतेहरुको उपचार खर्चको माग गर्दै घाइते तथा महिला अधिकारकर्मीहरु दुई साता अघिदेखि जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वारमा धर्नामा बस्दै आएका छन् ।

उता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेन्द्र चन्द धर्नामा कुनै धरपकड नभएको दाबी गरे । अधिकारकर्मी घाइते भएको कुनै जानकारीमा नआएको उनले बताए ।

यता नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डिला संग्रौलाले घटनाको भर्त्सना गरेकी छन् । उनले भनिन् 'आज महिलाहरुले कंचनपुर जिल्ला अदालत अगाडि निर्मला पन्तको न्यायलागि गरेको प्रतीकात्मक मौन धर्नामा प्रहरीले कुटपिट र लछारपछार गर्ने जस्तो घृणित कार्यको घोर भत्सर्ना गर्दछु । प्रमाणका आधारमा न्याय निरुपण गर्नुपर्ने, प्रहरी र सरकारी वकिलको मनगढन्ते कथाकहानीका आधारमा अभियोग चलाउन नहुने र यसमा अदालत सचेत रहनुपर्ने धर्नाकारीहरुको मागप्रति समर्थन जनाउछु ।'

संग्रौलाले अगाडि भनिन्,'प्रहरीले बल प्रयोग गरेर महेन्द्रनगरलाई आन्दोलित गर्न सहयोग गरेको छ । महिला  अधिकारकर्मी शारदा चन्द लगायत अन्य महिलाहरु घाइते भएका छन ,सबैको स्वास्थ्यलाभको कामना गर्दै सरकार को ध्यानाकर्षण गराउन चाहन्छु । न्याय माग्न गयका महिला माथी बर्बरता अपनाउनु सरकार निरङकुश शैली हो। यो तुरुन्त बन्द गरिनु पर्छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ