arrow

चुरे दोहन र वन विनाश रोक्नुको साटो सभा सम्मेलनमा समय खर्चिनु दुर्भाग्यपूर्ण : मुख्यमन्त्री राउत

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ पुष २९ मंगलबार
mukhyamantri.JPG

जनकपुरधाम । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले सभा गोष्ठी गरेर जलवायु परिवर्तन रोकिन नसक्ने बताएका छन्।   मंगलबार जनकपुरमा निति अनुसन्धान प्रतिष्ठान , परराष्ट्र मन्त्रालय  र परराष्ट्र मामिला अध्यन प्रतिष्ठानद्वारा संयुक्त रुपमा आयोजित जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य विषयक सगरमाथा सम्बाद कार्यक्रममा बोल्दै  मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन् ।

जलवायु परिवर्तनलाई रोक्न फिल्डमै काम गर्नु पर्ने बताउदै मुख्यमन्त्री राउतले आफ्नो समस्या पहिल्याउनुको साटो विदेशीको समस्यालाई सभागो्ष्ठीमा केलाउने प्रवृति अन्त गर्नुपर्ने बताए।

चुरेको दोहन र वन विनाशले नेपालमा प्राकृतिक विपद् निम्त्याएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले चुरे दहन र बन विनास रोक्नुको साटो जलवायु परिवर्तन रोक्न सभा सम्मेलनमा समय खर्चिनु दुर्भाग्यपूर्ण रहेको बताए ।

मुख्यमन्त्री राउतले भने,‘ दिन दहाडै बालुवा क्रसर उद्योगले चुरे दोहन गर्दैछन्, दिनहु वन विनास हुँदैछ , रोक्ने प्रयास गर्नेहरुको दिन दहाडै हत्या हुँदैछ हामी मूकदर्शक भएका छौ । प्रहरी हाम्रो मातहतमा छैनन् , संघीय सरकार मातहतको प्रहरी प्रशासनले रोक्न सकेको छैन यो भन्दा ठुलो दुर्भाग्यको कुरा अरु के होला ।’

तलदेखि माथिसम्मको सेटिङ्गमा जलवायु परिवर्तनको दुष्प्रभाव निम्त्याउने खेल भई रहेको आरोप समेत  मुख्यमन्त्री राउतले लगाए।

विकासको नाममा चुरे र वनजंगल विनास गर्ने काम भइ रहेको तर्फ सचेत गराउदै मुख्यमन्त्री राउतले भने ‘अहिले विभिन्न नेताहरुले चुरे विनास गरेर धमाधम सडकहरु निर्माण गर्दैछन् । त्यसको दुष्प्रभाव तराई मधेशमाथि पर्ने निश्चित हो  । यसलाई रोक्न पर्यावरण विदहरुलाई कलम चलाई दिनु पर्दछ । तीनै तहका सरकारको आँखा खोलि दिने काम गरि दिनु पर्दछ ।'

राउतले प्रकृतिमाथि भईरहेको अतिक्रमणकै कारण प्रकृतिले मानव जातिलाई दण्डित गरिरहेको बताए । उनले प्रकृतिमाथिको अतिक्रमण अविलम्ब नरोकिए ठुलो समस्या निम्तने चेतावनी समेत दिए।
 
निति अनुसन्धान प्रतिस्ठान सदस्य  डा सुरेन्द्र लाभको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा प्रदेश निति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा , राष्ट्रिय योजना आयोगका सदस्य उषा झा, प्रदेश सभाका सदस्यहरु, सुरक्षा निकायका प्रमुखहरु, उद्योग, वन तथा पर्यटन मन्त्रालयका प्रतिनिधिहरु सहितको उपस्थिति रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ