arrow

इलामको माइबेनी मेला भर्न भारतबाट पर्यटकको ओइरो

logo
प्रकाशित २०७६ माघ १ बुधबार
maibeni.jpg

इलाम । इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माइजोगमाइको सीमामा लागको माइबेनी मेलामा दर्शनार्थीहरुको भीड लागेको छ ।

माई र जोगमाई खोलाको सङ्गमस्थल माइबेनीमा बुधबार बिहानैदेखि मकर नुहाउने र शिव मन्दिरमा दर्शनार्थीहरुको भीड लागेको हो । परम्परागतरूपमा लाग्दै आएको मेलामा नेपालका विभिन्न ठाउँसहित भारतका विभिन्न क्षेत्रहरुबाट समेत उल्लेख्य दर्शनार्थीहरुको उपस्थिति रहेको छ । माइखोलामा नुहाएर माई मन्दिरमा दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ ।
 
मेलामा विभिन्न व्यावसायिक स्टलहरुका साथै स्थानीयस्तरमा उत्पादन भएका वस्तुहरु बिक्रीका लागि राखिएको छ । साथै दर्शनार्थीलाई स्वास्थ्य समस्या हुन्छ भनेर स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको छ । मेलालाई मध्यनजर गर्दै विद्युत् र खानेपानीको ब्यवस्थासमेत गरिएको छ । उक्त स्थानमा अस्थायी शौचालय निर्माण गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष तथा माइजोगमाई गाउँपालिका–४ का अध्यक्ष गणेशकुमार राईले जानकारी दिए ।

जोगमाई र माइखोलको दोभानमा रहेको माइबेनी इलामका तीन स्थानीय तह इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाको सङ्गमस्थल हो । माइबेनी इलाम जिल्लाकै महत्वपूर्ण धार्मिकस्थलका रुपमा लिइन्छ । हरेक वर्षको माघेसङ्क्रान्तिमा यस ठाउँमा मेला लाग्ने गरेको छ । मेलालाई मर्यादित, सुरक्षित र झै–झगडामुक्त बनाउन माइबेनी मेला प्रवेश गर्ने सबै प्रवेशद्वारहरुमा सुरक्षाकर्मीको समेत बाक्लो परिचालन गरिएको छ ।

मेलामा विशेष गरेर उखु, विभिन्न जातका तरुल, तरकारीलगायत बस्तुहरु बिक्रीका लागि राखिएको छ । त्यस्तै विभिन्न क्षेत्रबाट व्यवसायीहरुले मेलामा होटलसमेत सञ्चालन गरेका छन् ।  प्लाष्टिक, स्टिल, झर्केका सामानसमेत मेलामा राखिएको छ । यस क्षेत्रका स्थानीयवासीले माघे सङ्क्रान्तीलाई विशेष पर्वकै रुपमा लिने गर्दछन् । गएको २८ गतेदेखि लागेको मेला माघ २ गतेसम्म सञ्चालन हुनेछ ।
 
मेलाका लागि भन्दै केही दिन अगाडि नै माइजोगमाई गाउँपालिकाले बुधबार बिदा दिएको थियो । यसै क्रममा प्रदेश सरकारले समेत बिदा दिएको छ । बिदा भएका कारण पनि स्थानीयवासीका साथै कर्मचारी, विद्यार्थी तथा श्रद्धालुको भीड लागेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ