arrow

'सभामुख अर्कै पार्टीलाई दिउँ, म उपसभामुख छोड्दिन भन्नुपर्यो'

logo
प्रकाशित २०७६ माघ २ बिहिबार
Dr._Shiva_Maya_Tumbahamphe_.jpg

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले संसदमा अहिले देखिएको गत्यावरोधको प्रमुख कारक र बाधक नै उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे नै रहेको टिप्पणी गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अहिलेको गत्यावरोध हटाउनको लागि पनि उपभामुख डा. तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने स्पष्ट पारे । उनले भने,‘उहाँले मार्गप्रशस्त गर्नुपर्छ । भोलि उहाँ नै सभामुख बन्ने हो पनि उहाँले राजीनामा नदिईकन सभामुखमा उम्मेद्धवारी घोषणा गर्न मिल्दैन् ।’

साक्षात्कारमा बोल्दै नेता गजुरेलले नेकपामा सभामुखको दाबेदारमा धेरै नेताहरु रहेको सुनाए । उनले भने,‘हाम्रो पार्टीमा सभामुख बन्न सक्षम धेरै नेताहरु हुनुहुन्छ । जो पनि हुन सक्ने कुरा हो । जे सहज प्रक्रिया हो, जनताले जे कुरा बुझेको हो हामीले त्यही गर्नुपर्छ । जनता, कार्यकर्तालाई असहज लाग्ने काम हामीले गर्नुहुन्न । त्यसकारण कसले दाबी गर्ने भन्ने कुरै होईन, हिजो स्वभाविक प्रक्रियामा जे थियो त्यसलाई अगाडि बढाउनुपर्छ ।’

उनले सभामुखमा नेकपाको दाबी भएपछि को हुने ? भन्नेबारे बहस चल्नु त स्वभाविक प्रक्रिया भएको स्पष्ट पारे । उनले भने,‘पार्टीमा सभामुख को हुने ? भन्नेबारे बहस त चलिनै हाल्छ । यो स्वभाविक प्रक्रिया हो । धेरै नेता तथा कार्यकर्ता भएपछि चल्ने नै भयो । त्यसलाई हामीले अस्वभाविक रुपमा लिनुहुँदैन् । अहिले बहसपनि छ । निर्णय नहुञ्जेलसम्म बहस त भईनैरहन्छ । निर्णयमा पुग्नको लागि पनि बहस भैरहेको हो । के गर्दा राम्रो हुन्छ ? भन्ने कुरामा अहिले विभिन्न पक्षबाट आ–आफ्ना तर्कहरु राख्ने काम भैरहेको छ । मलाई लाग्छ उपसभामुखले राजीनामा नदिएसम्म सभामुखको विषयमा हामीले बहस गर्नुको कुनै अर्थ छैन् । बहस गर्यो भने फेरि नेकपाले सभामुखपनि आफैं राख्न खोज्यो, उपसभामुख त आफ्नो छँदैछ भन्ने आरोप आउन सक्छ । यो कुरा तपाईहरुले पनि बुझेको हुनुपर्छ ।’

उपभामुख डा. तुम्बाहाम्फेले राजीनामा नदिए तपाईहरु के गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने,‘उहाँले राजीनामा दिनुहुन्छ । उहाँ पार्टीको नेता पनि हो । एउटा कार्यकर्ता पनि हो । उपसभामुखजस्तो गरिमामय पदमा उहाँ आसन गरिसक्नुभएको छ । संसदलाई बन्धक त उहाँले बनाईराख्नुहुन्न । कि त उहाँले भन्नुपर्यो सभामुख त अर्कै पार्टीलाई दिउँ, म उपसभामुख छोड्दिन भन्नुपर्यो । होईन भने उहाँले मार्गप्रशस्त गर्नुपर्यो । उहाँ नै भोलि हुने हो भनेपनि मार्गप्रशस्त गर्नुपर्यो ।’

उपसभामुख तुम्बाहाम्फेले लिएको अडान आफूहरुलाई सहज नलागेको पनि उनले टिप्पणी गरे । उनले भने,‘उहाँले राजीनामा नदिएसम्म नेकपाले सभामुखमा उम्मेद्धवारी दिन नै पाउँदैन् । उपसभामुखजस्तो पदमा बसेर उहाँले देश र जनतालाई निकास नदिने हो भने उहाँमाथि भोलि आरोप पनि त आउने भयो नि ।’ उनले आफूहरुले उपसभामुखलाई असक्षम भनेर नभनेको पनि जिकिर गरे ।

उपसभामुखले राजीनामा नदिए के गर्नुहुन्छ ? तपाईहरु महाअभियोग लगाएर हटाउनुहुन्छ त ? भनेर सोधेको अर्को प्रश्नमा उनले भने,‘उहाँले राजीनामा नदिने हो भने पार्टीले गम्भिर छलफल गर्छ । अहिले हामीले त्यस्तो सोचाई नराखौं । उपसभामुखले राजीनामा नदिने भनेर लिएको अडानका पछाडि केही कारण होलान । तर उहाँले मार्गप्रशस्त गर्नैपर्छ । पार्टीका दुवै अध्यक्षले बसेर उहाँलाई राजीनामा दिन आग्रह गर्नुभएको छ । अध्यक्षद्धयले तपाईको लागि हामी अर्कै कुनै विकल्प पनि दिन्छौं भनिसकेपछि अब कसलाई आरोप लगाउने ?’

यद्धपी उनले अहिलेको गत्यावरोधको अवस्था नौलो कुरा नभएको स्पष्ट पारे । तत्कालिन नेकपा र नेकपा माओवादी केन्द्रबीचको एकतापनि असहज स्थितिमा भएको उनको भनाई थियो । उनले भने,‘संविधान कार्यान्वयन र स्थिर सरकारको आवश्यकत्ता महशुस गरेर हामीले एकता गरेका हौं । पार्टीमा दुई जना अध्यक्ष हुनु पनि सहज कुरा होईन् ।’ उनले पार्टीको आगामी महाधिवेशनसम्म नेकपाभित्र ‘पावर–सेयरिङ’ जारी रहने पनि विश्वास दिलाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ