arrow

'को मान्छेले धम्की दियो, कति नम्बरबाट फोन आयो ?'

नेकपा र नेपाली कांग्रेस भाइभाइ

logo
प्रकाशित २०७६ माघ २ बिहिबार
Bhim-rawal.gif.gif

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीमबहादुर रावलविरुद्ध आएको भनिएको ज्यान मार्ने धम्कीमा कुनै सत्यता नभएको र उनीमाथि कुनै सुरक्षा खतरा नभएको टिप्पणी गरेका छन् ।

 सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले  “विचार व्यक्त गरेको, कुनै विषयमा सहमति वा असहमति जनाएकै आधारमा कसैमाथि ज्यान मार्ने धम्की दिन मिल्दैन”, उनले भने, “यदि साँच्चै उहाँमाथि धम्की आएकै हो भने प्रष्ट बताइदिनुपर्छ, को मान्छेले धम्की दियो, कति नम्बरबाट फोन आयो भनेर भन्नुपर्छ ।”

“रावल नेकपाकै नेता हुनुहुन्छ, उहाँको सुरक्षा व्यवस्था सरकारले नै मिलाइरहेको छ । पछुवा पनि छ, साथमा पनि सुरक्षाकर्मी छन्”, उनले भने, “उहाँको ज्यानमाथि सुरक्षा खतरा छ भन्ने मलाई लाग्दैन, बालुवाटार धम्की आयो भनेर सोच्नु राम्रो पनि नहुने र सत्य पनि होइन ।”

मुलुक निर्माणमा नेकपा र नेका भाइभाइ
प्रवक्ता बाँस्कोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी)अन्तर्गतको आर्थिक सहायता स्वीकार गर्ने प्रक्रिया झण्डै एक दशक अघिदेखि अगाडि बढेको जानकारी गराए। एमसिसी सहायतामा कुनै राजनीतिक विषय नजोड्न आग्रह गर्दै उनले निकै लामो प्रक्रिया पार गरेर मात्रै अमेरिकाले नेपाललाई सहायता दिन लागेको बताए ।

“सो सहायता स्वीकार गर्ने सम्बन्धमा विभिन्न कालखण्डमा विभिन्न नेताले त्यसको नेतृत्व सम्हाल्नु भएको छ”, प्रवक्ता बाँस्कोटाले भने, “सबैले यो अनुदान स्वीकार गर्न हुँदो रहेछ भन्ने ठानेर नै सम्झौता भएको होला भन्ने मलाई लागेको छ ।”

प्रवक्ता बाँस्कोटाले मुलुकको समृद्धिको अभियानमा नेकपा र नेपाली काँग्रेस भाइभाइ नै भएको टिप्पणी गरे । “काँग्रेसमात्र होइन अन्य दल पनि त्यसमा पर्छन् । हामीले चाहेको यही हो”, उनले भने, “देश निर्माणमा सँगसँगै काम गर्नुपर्छ । विचारको प्रसङ्गमा आमनेसामने भइरहन्छ । त्यसैले त सत्ता पक्ष र प्रतिपक्ष हुन्छ । सत्ता पक्ष र प्रतिपक्ष कहिले आमनेसामने हुन्छन् त कहिले सँगसँगै काम गर्छन् ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ